गौ हत्याबारे ओलीको आग्रह- समाजलाई द्वन्द्वमा फँसाउने षड्यन्त्र भइरहेको छ, यसलाई धेरै सेन्सेटिभ बनाउन हुँदैन (भिडिओ)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरानमा गोरु काटेर खाएको विषयलाई धेरै सेन्सेटिभ बनाउन नहुने बताएका छन् ।
नेपाली समाजलाई विभिन्न तवरले भाँड्न खोजिएको भन्दै उनले यस्ता विषयमा सजग बन्नुपर्ने बताए ।
संसद भवनबाहिर सञ्चारकर्मीहरुले धरानकाे घटनाबारे साेधेकाे जिज्ञासाको जवाफ दिँदै ओलीले भने, ‘यसलाई धेरै सेन्सेटिभ बनाउनु हुँदैन । यो राम्रो कुरा होइन । अनेक ढंगले नेपाली समाजलाई भाँड्ने, भड्काउने, द्वन्द्वमा फँसाउने षड्यन्त्र भइरहेको छ । यस्ता कुराहरुबाट नेपाली समाज सजग हुनुपर्दछ ।’
धरानमा गोरु काटेर मासु खाएको भिडिओ सामाजिक सञ्जालमा राखेको विषय संसदमा सांसदहरुले उठाइरहेका छन् । जसमा सरकारले एक्सन नलिएको भनेर आलोचना भइरहेको छ ।