स्वार्थ समूह हाबी हुँदा कानून बनाउन समस्या भयो : सञ्चारमन्त्री शर्मा (भिडिओ)
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार मन्त्रालयमा स्वार्थ समूहको हाबी हुँदा कानून बनाउन समस्या भएको बताएकी छन् ।
बिहीबार मिडिया एड्भोकेसी ग्रुपले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले साइबर ऐन तथा सूचनासम्बन्धी विधेयक बनाउन विभिन्न स्वार्थ समूहको कारण अहिलेसम्म टुङ्गो लाग्न नसकेको बताइन् ।
मन्त्रालयमा कुनै एउटा विषयमा कानून बनाउन छलफल सुरू हुनेबित्तिकै विधेयकको सानो अंक बाहिर झिकेर कानूनको अपव्याख्या सुरू गरेको शर्माको भनाइ थियो । कानूनको अपव्याख्या र खरो रूपमा प्रहार गर्ने गरिएको भन्दै मन्त्रालयमा बसेर कानून बनाउन नसक्ने भन्ने अवस्था बनाउने गरेको उनको दाबी छ ।
मन्त्री शर्माले भनिन्, ‘पहिला पनि सामान्य काम भएको हो । त्यहाँ यति धेरै इन्ट्रेस्ट ग्रुप हुने थिएन । त्यहाँ कानून बनाउँदा कर्मचारीको स्वार्थ हुने थियो । तर, सञ्चार मन्त्रालयमा यति धेरै प्रकारका स्वार्थ समूहहरू हुँदा रहेछन् । एउटा कानून बनाउन थाल्यो भने स्वच्छ मनले काम गर्न खोज्यो कहीँ कहीँ त्यो कानूनले कसैलाई छोइहाल्दो रहेछ । कसलाई छोयो भन्ने थाहा हुँदैन । त्यसको एउटा अंश झिकेर बनाउन लागेको कानूनलाई अपव्याख्या गरेर अर्कै ढङ्गले प्रहार हुन्छ । त्यो प्रहारले सञ्चार मन्त्रालयले कानून बनाउन सकिँदैन भन्ने जस्तो फिल हुन्छ । सूचनासम्बन्धी विधेयकमा सामाजिक सञ्जालसम्बन्धि ऐन समेटिएको रहेछ । त्यो कानूनको विषयमा मन्त्रालयले छलफल मात्रै के गरेको थियो । सबैको फोन ट्यापिङ भइसक्यो भन्ने ढङ्गले बाहिर छलफल भयो । त्यसलाई कानून बनाउन नकेर थन्काएका छौं ।’
उनले सामाजिक सञ्जाल नियमन ऐनका विषयमा एक पटक स्टेक होल्डरसँग बसेर छलफल गरेर मात्रै अगाडि बढ्ने प्रष्ट्याइन् ।
सामाजिक सञ्जाल प्रयोगलाई नियमनका लागि निर्देशिका तयार पार्न मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीको संयोजकत्वमा ११ सदस्यीस समिति गठन भइसकेको छ । उक्त समितिले सरोकारवाला निकायसँग छलफल जारी राखेको सुवेदीले जानकारी दिए ।