हरुवा बसेकालाई गरीखान हजुरबुवाले दिएको जग्गामा नाति पुस्ताको लोभ
तीन पुस्तादेखि बसेका केउली र सुदन थारुको परिवारको सडकको बास
रुपन्देही । तीन पुस्तादेखि हरुवा बसेर पाएको सम्पत्ति कानूनीरूपमा आफ्नो बनाउन नसक्दा रुपन्देहीको मोतीपुर मनोहरापुरका दुई परिवार अहिले बिचल्लीमा परेका छन् । तीन दशकअघि साहूले कमाइ खान दिएको जग्गामा छाप्रो बनाएर बसेका ती परिवार नाती पुस्ताले भत्काएर लखेटेपछि खोजेपछि अहिले सडकमा आएका छन् ।
उनीहरु सँगै काम गरेर बसेका व्यक्तिले चलाखी गरेर पूर्जा आफ्नो नाममा लिएपनि साहुले वचनमा दिएको जग्गा कसैले केही नगर्ने विश्वासमा परेको दुई थारु परिवार अहिले साहुको नाति पुस्तामा लोभ पलाएपछि विचल्लीमा परेको हो ।
बुटवल उपमहानगरपालिका वडा नम्बर–१९ मनोहरापुरामा तीन पुस्तांदेखि ‘हरुवा चरुवा’को रुपमा साहुको घरमा काम गरेर बसेका ६६ वर्षीय केउली थारु र ६५ वर्षीय सुधन थारुको परिवार उनीहरुका बाबुले साहुबाट पाएको जग्गामा बनाएको छाप्रो घरमा बसेर जीवन निर्वाह गरिरहेका थिए ।
सो वडाका वडाअध्यक्ष तथा ०२४ सालदेखि सोही क्षेत्रका बसोबास गरेका चन्द्रसिंह थापा मगरका अनुसार बुटवल–१९ मनोहरापुरका पुराना जमिनदार हुन् स्व. अमरदेव मल्ल । उनले आफ्नोमा बसेकालाई मात्र होइन अरु पीडितहरुलाई पनि धेरै सहयोग गरेका थिए । स्थानीय विद्यालयलाई जग्गा दिएर अहिले उनकै नाममा अमर मावि संचालनमा छ ।
उनै दिलदार अमरदेवले ती थारु परिवारलाई गरीखान त्यो जग्गा दिएका हुन् । उनको पालादेखि नै केउली तथा सुधन थारुको ससुरा र बुवा हरुवाचरुवाको रुपमा बसेका हुन् । तर अमरदेवले आफ्ना छोराहरु नभएका कारण छोरी अगमबेली र ज्वाई भरतसिंहलाई आफ्नो सम्पत्ति पास दिएका थिए । पुस्तौंदेखि कमैया बस्दै आएको केउलीको परिवार पनि अमरदेवको पालापछि पनि उनै भरतसिंहको घरमा काम गर्ने जग्गा जमिनको रेखदेख गर्ने गरी बस्दै आएको वडाध्यक्ष चन्द्रसिंह बताउँछन् ।
केउलीका श्रीमान तथा उनका बाजे बराजुदेखि नै कमैयाका रुपमा बस्दै आएका उनीहरुलाई भरतसिंहले पनि बास बस्नका लागि जग्गा दिने बाचा गरेका थिए । सोही बाचा अनुसार मोहियानी हक लाग्नेभन्दै भरतसिंहले नै हाल बस्दै आएको घरघडेरीमा नापजाँच गरेर राख्ने काम समेत भएको बताउँछिन वडा सदस्य तथा स्थानीय लक्ष्मी थारु । सोही बाचा अनुसार भरतसिंहको घरमा हरुवाचरुवाको रुपमा काम गर्दागर्दै केउलीका श्रीमान पुर्णवासी थारुको मृत्यु भएको थियो ।
जनप्रतिनिधि लक्ष्मीका अनुसार जमिनदार भरतसिंहको मृत्युपछि उनका छोरीज्वाईले जग्गाको विषयलाई लिएर विवाद गर्न थालेका हुन् । उनीहरुले जग्गा आफ्नो नाममा भएको भन्दै केउलीको परिवारलाई उठिबास लगाउनेगरी उनीहरु बस्दै आएको घरमै डोजर चलाएपछि यस्तो अवस्था आएको हो ।
अहिले उनीहरुलाई जग्गा दिएका साहुको पनि मृत्यु भएको छ भने जग्गा पाएका आफ्ना अभिभावकको पनि मृत्यु भएको छ । सामान्य विषय पनि राम्रोसँग बोल्न नजान्ने उनीहरुमध्ये अहिले पनि एकजना ती साहुकै परिवारमा निःशुल्क काम गरेर बसिरहेका छन् ।
गाउँछिमेकमा उनीहरुको तीन पुस्ता ती साहुको घरमै बसेर काम गरेको र जग्गाधनीले उनीहरुलाई बास दिने कुरा गरेको बताउने धेरै व्यक्तिहरु भेटिन्छन् तर केही समयअघि ती थारु परिवारलाई सडकमै पुराउने गरी ती साहुको परिवारले उनीहरुको घर भत्काइदिएका छन् भने आफ्नो व्यवस्था गर्न निर्देशन गरेका छन् ।
आफ्नो कतै जाने ठाउँ नभएको र आफूहरुलाई साहुले नै त्यो जग्गामा बस्न दिएको भन्दै थारु परिवार जग्गा छेउकै घरमा ओत लागेर बसेका छन् । तर साहु परिवारले पटक पटक प्रहरीसहित पुगेर जग्गा खाली नगरे आगो लगाइदिने बताएपछि केउली र सुदनको परिवारले गुहार मागेका हुन् ।
केउली र सुदनको परिवारमाथि अन्याय भएको विषयमा सो वडाका सबै जनप्रतिनिधि, स्थानीय टोलसमिति, छिमेकी एक छन् तर साहुको परिवार आएर उनीहरुमाथि जाइलाग्दा भने अगाडि सरेर बोल्ने हिम्मत गर्दैनन् । प्रहरीसँग आउनेहरुसँग स्थानीय त्रसित बनेको बताउँछन् ।
थारु परिवार न्याय खोज्दै टोल, वडा हुँदै बुटवल उपमहानगरको न्यायिक समितिमा पुगेपनि कानुनी रुपमा सहयोग पाउन नसकेको र आफरुहरुलाई बासको विकल्प खोजिदिन सबैलाई आग्रह गरेको बताउँछन् ।
केउली परिवार अन्यायमा परेको कुरा छिमेकका स्थानीयहरुले समेत जान्दाजान्दै प्रयाप्त प्रमाण नपुगेको भन्दै बुटवल उपमहानगरको न्यायिक समितिले उनीहरुलाई फिर्ता पठाएपछि स्थानीयले आपत्ति जनाएका छन् । पीडिकको पक्षमा फिल्मै नआइ कसको कुरा सुनेर न्यायिक समितिले व्यवास्था गरेको हो भनेर स्थानीय सीता राना थारु बताउँछिन् ।
‘स्थानीय टोल विकास संस्था, वडा अध्यक्ष तथा त्यहाँका अन्य जनप्रतिनिधिहरु सबैलाई यिनीहरु अन्यायमा परेको कुरा थाहा छ, म ५५ वर्षदेखि यहीँ गाउँमा छु, सबैलाई उनीहरुको वास्तविकता बताएकी छु, तर उनलाई न्यायको लडाईमा न त वडा कार्यालयले बलियो गरी साथ दिन सक्यो न त उपमहानगरको न्यायिक समितिले नै ।’
सीताले भनिन्–‘मैले त अस्ती ती साहुका छोरीहरु प्रहरी लिएर आएको बेला भनेकी हुँ तपाइहरुले यिनीहरुको व्यवस्था नहुन्जेछ यहाँ केही गर्न पाउनुहुन्छ, उनीहरुको एक टुक्रा जमिन कतै छैन, तपाईहरुको विगौं जग्गा छ, हजुरबुवाले वचनमा दिएको जग्गामा लोभ गरेर बेघरबार बनाउन पाउनुहुन्छ ?, उनीहरु बोल्न जान्दैनन् तर तपाईहरुकोमा तीनपुस्तादेखि हरुवा बसेर काम गरेको प्रमाण त हामीलाई थाहा छ नि भनेर प्रष्टसँग भनेको छु, तर प्रहरी लिएर आएका उनीहरु धम्काएर छिटो खाली गर्नु भनेर गए, हेरौं कसरी यहाँ आउँदो रहेछन्, सबै गाउँले उठेर घेरेपछि । ’
पुस्तौंदेखि हरुवाचरुवाको रुपमा बस्दै आएका केउलीको परिवार साहुले घरमा डोजर चलाएपछि छेउँमै रहेको बन्द घरको चिसो पिँढीमा आश्रय लिन बाध्य भएको र यो निकै अन्याय भएको स्थानीय ६८ वर्षका तिलक थारु बताउँछन् ।
‘म जन्मेको यहीँ हो, यी दुई परिवार सबै मल्ल परिवारको हरुवा बसेर पाएको जग्गा हो, तर अहिले साहुका नातीपुस्तालाई किन लोभ जागेको होला, केही नभएकालाई बस्ने बास जसरी पनि दिनुपर्छ भन्ने हाम्रो भनाइ हो, कानुनी रुपमा साहुहरु बलियो भएर बसे, यिनीहरु सोझा भएर पास गर्न पनि नगरी विश्वासमा बसे, अहिले यसरी बिचल्ली भयो’– तिलकले भने ।
केउलीसँगै सुधन थारुको परिवार पनि बेघर हुने अवस्थामा छ । बुटवलका स्व. भरत सिंहको जग्गामा ०३८ सालदेखि जोतभोग गर्दै आएका दुई परिवार अहिले सडकमा आइपुगेका छन् । ससुरा रामचरण र केउलीका श्रीमान पूर्णवासी थारुले समेत सोही जग्गामा जोतभोग गर्दै आएका थिए । “मेरा ससुराको पालादेखि हामी यहीँ बस्दै आएका छौँ, हाम्रो नाममा एक टुक्रा जमिन छैन, कहाँ जाउँ”, ६४ वर्षीया केउली भन्छिन् ।
कुनै समय सो क्षेत्रमा जमिनदार मात्र होइन सामाजिक व्यक्तिको रुपमा नाम कमाएका अमरदीपको सन्तानबाटै यतिसम्मको अन्यायपूर्ण व्यवभार हुनु दुःखको कुरा भएको बताउँछन् एक स्थानीय । उनै अमरदेवको योगदानलाई कदर गर्दै गाउँमा उनैको नाममा अमरदेव विद्यालय समेत छ । तर, अमरेवकी नातिनी (आगमदेवीकी छोरी) अंगिला सिंह लगायतले पछिल्लो समय देखाएको गतिविधिले अमरदेवकै इतिहासमा दाग लाग्ने काम गर्न लागेकोमा स्थानीयले चिन्ता गरेका छन् ।
थारू परिवारले ४१ वर्ष अघिदेखि अधिया र मोहियानीको सर्तमा जग्गा कमाउँदै आए । उनीहरुले करिब १० विघाभन्दा बढी जमिन मोहीबापत जोतेका छन् । मोहीबापतको जमिन जोत्दा जमिनदारकोमा गएर उनीहरुले बिनाज्यालामा काम गरे । केउलीका ससुरा रामचरण र केउलीका श्रीमान पूर्णवासी थारुले समेत सोही जग्गामा जोतभोग गर्दै आएका स्थानीय तिलकबहादुर थारुले बताए ।
‘म जान्ने हुँदा केउलीको ससुराको पालादेखि उनीहरु यहीँ बस्दै आएका छन्, उनीहरुको नाममा एक अन्त कतै एक टुक्रा जमिन छैन’ तिलकबहादुर थारुले भने–‘केउलीको ससुरा जस्तै काम गर्ने सुवास गनी मुसलमानलाई जमिन्दारले १० धुर जग्गा दिएका थिए, उसले घर पनि बनाएर बेचेर गयो, तर यिनीहरु आफ्नो हक अधिकारबारे कुरा राख्न नसक्ने ज्यादै सोझा भएकाले जग्गा नपाएका हुन् ।’
‘कानुन र मानवीयताको हिसाबले पनि यतिका वर्ष जोतभोग काम गरेर बसेको जग्गामा कमसेकम बास बस्ने जग्गा दिनुपर्ने हो तर निमुखा देखेर थारु परिवारमाथि अंगिलाहरुले ज्यादती गरेका छन् ।’–स्थानीय सीता रानाले भनिन्, ‘आफू नजिकका प्रहरीलाई ल्याएर ठाउँ छाड्न दवाव दिएका छन् यस्तो गैरकानुनी कामको छानवीन हुनुपर्छ, केउली र सुधनको परिवारले न्याय पाउनुपर्छ ।’
लामो समय जग्गाको जोतभोग र रेखदेख गर्दै आएका थारु परिवारलाई जमिन्दारका छोरी ज्वाई भरतसिंहले बस्ने बासका लागि जग्गा नामसारी गरेर दिने बचन दिँदै आएका थिए । केउलीका चार जनाको परिवार पनि बस्ने बास नखोसिनेमा ढुक्क थिए । तर, दुईवर्षअघि भरत सिंहको निधन भएपछि परिवारले बोली फेरे । भरतकी श्रीमती अगमदेवीले छोरी अंगीला र ज्वाइँलाई लगाएर आफूहरुको बास भत्काइदिएको उनीहरुको गुनासो छ ।
अहिले मजदुरी गरेर गुजारा गर्दै आएकी केउलीका दुई छोरा र एक छोरी छन् । बस्ने बास भत्किएपछि केउलीलाई उमेर पुगेकी छोरी संगिताको निकै चिन्ता छ । जग्गाधनीले जहाँ भएपनि झुपडी बनाउन मिल्ने जमिन दिनुपर्ने केउली र सुधनको परिवारको माग छ । टोल विकास संस्थाका शिबकुमार थारुले केउली र सुधनको परिवारलाई स्थायी बसोबासको व्यवस्था नमिलाई घर भत्काउनु अन्याय भएको बताउँछन् ।
सुधनका भाइ ४६ वर्षीय मणिराम २७ वर्षदेखि जग्गाधनीकै घरमा काम गर्दै आएका छन् । घरमा भांडा माझ्ने, सफाइ गर्ने लगायतका काम गर्दै आएपनि सुधनको परिवारले पारिश्रमिक लिएको छैन । शिक्षाको अभावमा राम्रोसँग बोल्न नसक्ने भएकाले सोझोपनको फाइदा उठाएर अगमदेवीको परिवारले थारु परिवारलाई जग्गा दिन नखोजेको स्थानीय बताउँछन् ।
छिमेकी राजकुमारी मल्लका अनुसार नेपालको संविधानले प्रत्येक नागरिकलाई गास, बास र कपासको ग्यारेन्टी गरेको छ तर, बेघर भएर हिंडेका यी थारु परिवारको विषयमा आवाज उठाउने कोही नहुनु बिडम्बना भएको बताउँछिन ।अगमदेवीको विघौ विघा जग्गा जोतभोग गर्ने, गाईभैसी हेर्ने र घरमा समेत कामका लागि थारु परिवारले सघाउँदै आएको मल्लको भनाइ छ ।
“पहिला उहाँहरुको जग्गा धेरै थियो, कतिले त जग्गा लिएर बेचबिखन गरेर यो ठाउँबाट हिँडिसके तर, यी दुई थारु परिवारलाई साहुले दिन्छु भनेको समयमा जग्गा नामसारी नदिंदा अहिले बिचल्ली पर्ने अवस्था आयो”, मल्लले भनिन् ।
केउलीकी छोरी संगिताले वडाबाट न्याय नपाएपछि नगरको न्यायिक समितिमा पुगेको तर त्यहाँबाट पनि कुनै आधार नमिलेको भन्दै मानवअधिकारको क्षेत्रमा काम गर्नेलाई आग्रह गरेकी छन् । बुटवल उपमहानगरपालिकाका कानुन अधिकृत ध्रुव भट्टराई न्यायिक समितिमा थारु परिवारको निवेदन परे पनि प्रमाण अभावले केही गर्न नसकिएको बताउँछन् । भट्टराईले भने–‘हाम्रो कार्यक्षेत्रभन्दा बाहिरको पनि पर्यो, आवश्यक पर्ने कागजात केही पनि नभएका कारण हामीले केही गर्न मिलेन ।’
यता थारु परिवारलाई जबरजस्ती हटाउन भूमिका खेलेकी अंगिला मल्लले थारुपरिवारको व्यवस्था गर्ने आफूहरुको कुनैपनि जिम्मेवारी नभएको जवाफ दिइन् । उनले भनिन्– ‘पहिले उनीहरु हाम्रोमा काम गर्न बसेका हुन्, अहिले काम गर्न छाडे । अब उनीहरुले त्यो ठाउँ छाड्नुपर्छ, अहिलेको अवस्थामा कसैले मागेर जग्गा पाउँदैन, त्यो हाम्रो जिम्मेवारीमा पर्दैन ।’
थारु परिवार यसरी कहिलेदेखि बस्दै आएको हो भन्ने बारेमा भन्ने आफूलाई थाहा नभएको बताउँदै अंगिलाले उनीहरु आफ्नो नाममा लालपूर्जा भएको जग्गामा बस्दै आएको र जसरी पनि हटाएर छाड्ने बताइन् ।
नेपालको संविधान २०७२ को भाग ३ धारा १६ ले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्रत्याभूत गरेको छ । तर आफ्नो हक खोज्न नसक्ने केउली र सुधन थारुजस्ता मोहीलाई उक्त हकबाट वञ्चित गरियो । यी दुई थारु परिवारको बस्ने बासको हकको पक्षमा यतिका धेरै राजनीतिक दलहरु कसैलाई मतलब नभएको स्थानीयको गुनासो छ ।
नेपालको संविधान २०७२ को भाग ९३० धारा १६ ले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्रत्याभूत गरेको छ । सोही भागको धारा २५ ले प्रत्येक नागरिकलाई कानुनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्नसक्ने अधिकारहरू दिएको छ ।
बस्न पाउने मौलिक अधिकार नै भएको र दोहोरो स्वामित्व अन्त्य गर्ने कार्यक्रमले मोहीको स्वामित्वमा जमिन दिन नसकेको अधिवक्ता इन्दिरा आचार्य बताउँछिन् । ‘स्थानीयको सर्जमिन र तथ्य प्रमाणका आधारमा कसैलाई अधिकारबाट बञ्चित गर्न प्राकृतिक न्यायको सिद्धान्त र नेपालको संविधानको मौलिक हकको प्रावधानले मिल्दैन, हरुवाचरुवामा बसेका, अधिया र मोहियानी सर्तमा कमाउँदै आएको जग्गामा उनीहरुले पहिलो अधिकार हुन्छ, टोल समिति, जनप्रतिनिधि नै बसेर उनीहरुलाई कानुनी रुपमा न्याय दिलाउन अब ढिलाई गर्नुहुँदैन’, उनले भनिन् ।