बाँचे पो जिन्दगी ! – Nepal Press

बाँचे पो जिन्दगी !

तपाईंलाई कहिल्यै ‘मलाई बाँच्न पुग्यो’ भन्ने सोच आउँछ ? नितान्त व्यक्तिगत अनुभूति जहाँ जिन्दगीका सबै बाटाहरु बन्द भए जस्ता लाग्छन् । अनि लाग्छ जीवन समाप्त गरिदिउँ ।

बेलायतको मानसिक स्वास्थ्यसम्बन्धी काम गर्ने संस्था ‘माइण्ड’का अनुसार हरेक ४ मानिसमध्ये १ जनामा यस्तै आत्महत्याको सोच आउँछ । मानसिक स्वास्थ्य समस्या सबैभन्दा ठूलो आत्महत्याको कारण मानिने गरिन्छ ।

क्षणिक संवेग जसप्रति नियन्त्रण गुमाएपछि जिन्दगीकै दुर्घटना पर्ने गरेको देखिन्छ । पोखराकी सञ्चारकर्मी रोशनी क्षेत्रीले आफूसँगै गर्भमा हुर्किंदै गरेको अर्को मानिसलाई सुन्दर संसार देखाउनबाट वञ्चित गरिन् । खै, कहाँबाट आफूले आफैंलाई जलाउने आत्मबल आयो ?

उनलाई अस्पतालमा उपचार हुँदै मृत्युशय्यामा पुगेपछि आफूले गरेको गल्तीको महसुस भएको थियो । आफन्त साथीहरुसँग सरी पनि भनिन् । तर, आफ्नै लागि गरेको गल्ती कोसँग माफी मागेर सुध्रिएला ?

अफसोच ! मृत्युशय्याबाट उनी फर्किइनन्, अब फर्किने पनि छैनन् ।

नेपाल प्रहरीले सार्वजनिक गरेको अघिल्लो वर्षको तथ्यांकअनुसार नेपालमा ६ हजार ७९२ जनाले आफ्नो ज्यान आफैं फालेका छन् । अर्को वर्ष प्रहरीले राख्ने तथ्यांकमा रोशनीको पनि संख्या थपिनेछ । उनी संख्यामा गनिनेमात्रै हुन् । उनलाई जिन्दगीले बिर्सिसक्यो, हामी पनि बिर्सिंदै जानेछौं ।

बुटवलका औषधि व्यवसायी गंगा ढकाल ५ दिनदेखि बेपत्ता छन् । आफूलाई नखोज्नु भन्ने खबर छोडेर हराएका उनी आइतबार साँझ नारायणीमाथि देखिनु र सोही साँझ नारायणी पुलबाट एक व्यक्तिले हामफालेर आत्महत्या गरेको खबर चितवन प्रहरीसँग छ ।

मनोसामाजिक परामर्शदाता डा. अर्चना पोखरेलका अनुसार समाजका विभिन्न संस्थाहरुका कारण मानिसमा जीवनप्रति निराशा आउँछ । जीवनप्रति वितृष्णा ल्याउने पहिलो थलो परिवार हो । बालबालिकालाई हुर्काइको क्रमदेखि नै अभिभावकले देखाउने व्यवहार यसका कारक हुन सक्छन् ।

ती व्यक्ति गंगा ढकाल हुन् होइनन्, पहिचान भएको छैन । तर, त्यही साँझ एक व्यक्तिले जीवन भने फालेका छन् । केही दिनअघि चितवनका केही अभियन्ताले नारायणी नदीलाई बारेर मान्छे हामफाल्न नसक्ने बनाउन भरतपुर महानगरसँग अनुरोध गरे । सार्वजनिक स्थललाई सुरक्षित बनाउनु त राज्यका निकायको दायित्व हो नै । तर, मान्छेमा जीवनप्रति बढ्दै गएको निराशा हटाउने कसको दायित्व हो ?

अनुसन्धानहरुले भन्छ, एकैछिनको निराशा नियन्त्रण गराउन सकियो भने मानिसको जीवन जोगिन्छ । मनोसामाजिक परामर्शदाता डा. अर्चना पोखरेलका अनुसार समाजका विभिन्न संस्थाहरुका कारण मानिसमा जीवनप्रति निराशा आउँछ । जीवनप्रति वितृष्णा ल्याउने पहिलो थलो परिवार हो । बालबालिकालाई हुर्काइको क्रमदेखि नै अभिभावकले देखाउने व्यवहार यसका कारक हुन सक्छन् ।

उनी भन्छिन्, ‘परिवार, विद्यालय, सामाजिक विभेद मानिसलाई जीवनप्रति निराशा जगाउने कारण हुन् ।’

उनले पछिल्लो दिनमा न्यू मिडियाका रुपमा विकसित हुँदै आएका डिजिटल सामग्री र त्यसमा बढेको कुलत पनि जीवनप्रतिको नकारात्मक भाव आउने कारण भएको बताइन् ।

चितवनको नारायणी पुलबाट साउनयता मात्रै ७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । चितवन गौरीगञ्जकी एसईईको परीक्षा दिएकी १६ वर्षीया सुनिता सापकोटा १३ दिनदेखि बेपत्ता छिन् । प्रहरीले खोज्दा सार्वजनिक सीसी क्यामरा फुटेजमा नारायणीतर्फ नै गएको तर, त्यहाँबाट पार नगरेको देखाएको छ । तर, उनी कहाँ गइन् ? खुलेको छैन । अनुसन्धानको प्रारम्भिक जानकारीले उनी फर्किने सम्भावना न्यून रहेको देखाउँछ ।

घटनाहरु प्रतिनिधिमात्रै हुन् । बाल्यदेखि प्रौढ अवस्थासम्मका मानिसहरु जीवनप्रति किन निराश हुन्छन् ? अनुसन्धानहरुले जुनसुकै उमेर र समूहका मानिसमा पनि आत्महत्याको सोच आउनसक्ने पाइएको देखाएका छन् ।

सामान्यतया आफैंले ज्यान लिएको घटनामा प्रहरीले मुद्दा चलाउने व्यक्ति पाउँदैन र दुरुत्साहनको उजुरीबाहेकको घटनामा अनुसन्धान अघि बढ्दैन । नेपालमा मुलुकी फौजदारी ऐनले आत्महत्या दुरुत्साहनमा कारबाही गर्न सक्ने व्यवस्था गरेको छ ।

‘मेडिकल न्यूज टुडे’ले हालै प्रकाशन गरेको एउटा अनुसन्धानात्मक आलेखअनुसार सरकारले नै गरेको अनुसन्धानमा सन् २०२० मा अमेरिकाका १२.२ मिलियन मानिसले मर्छु नै भन्ने सोच आउने बताएका थिए । तीमध्ये १० प्रतिशतले त आत्महत्या प्रयास नै गरे । तत्कालको सोचाइमा परिवर्तन गर्न सहयोग गर्ने अवस्था भयो भने उनीहरुमा बाँच्ने आशा जाग्ने पनि उक्त आलेखमा उल्लेख गरिएको छ ।

तथ्यहरुले जीवनको वितृष्णा बढ्दै गएको देखाउन थालेपछि मानिसलाई जीवनप्रतिको आशा जगाउनुपर्ने आवश्यकता भने बढ्दै गएको देखिन्छ । ‘मेडिकल न्यूज टुडे’ले हालै प्रकाशन गरेको एउटा अनुसन्धानात्मक आलेखअनुसार सरकारले नै गरेको अनुसन्धानमा सन् २०२० मा अमेरिकाका १२.२ मिलियन मानिसले मर्छु नै भन्ने सोच आउने बताएका थिए । तीमध्ये १० प्रतिशतले त आत्महत्या प्रयास नै गरे । तत्कालको सोचाइमा परिवर्तन गर्न सहयोग गर्ने अवस्था भयो भने उनीहरुमा बाँच्ने आशा जाग्ने पनि उक्त आलेखमा उल्लेख गरिएको छ ।

नेपालको तथ्याङ्क हेर्दा पनि पाँच वर्षयता आत्महत्या गर्ने मानिसको संख्या बढ्दै गएको छ । प्रहरीको पञ्चवर्षीय तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/२०८० मा केही घटे पनि अघिल्ला वर्षहरुमा निरन्तर बढ्दै गएको छ । २०७६/०७७ मा ६ हजार २४१ र २०७७/२०७८ मा ७ हजार ११७ जनाले आफ्नो ज्यान आफैं फालेका थिए ।

मानिसको ज्यान आफैं फाल्ने दर भयावह हुँदै जाँदा उनीहरुमा जीवनप्रतिको आशा जगाउन प्रहरीले पनि आत्महत्याविरुद्ध सचेतना अभियान चलाउन थालेको छ । नागरिक प्रहरी साझेदारीअन्तर्गत हरेक वर्ष आत्महत्याविरुद्ध सचेतना जगाउँदै आएको छ ।

सचेतना आफैंभित्र जगाउन आवश्यक छ । पूरा जीवन बाँच्न स्वयं तयार हुने हो । प्रकाश सपूतले गीतका शब्दमा भने जस्तै मनन गरी हेरौं त:

आज र बाँचे नौलाख तारा आकाशमा देखिन्छ
मरीमा गए हाम्रो नाउँ भन कुन ढुंगा लेखिन्छ ?
ए साथी बाँचे पो जिन्दगी, बाँचे पो जिन्दगी !


प्रतिक्रिया

One thought on “बाँचे पो जिन्दगी !

  1. अत्यन्तै राम्रो लेख । सबैले अध्ययन गर्नु पर्ने कुरा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *