नेपालमा पहिलो पटक रेल आएकै ठाउँमा ‘रेल म्यूजियम’ बन्दै
काठमाडौं । नेपालमा पहिलो पटक रेल आएकै स्थानमा ‘रेल म्यूजियम’ बन्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले धनुषा जनकनन्दनी गाउँपालिकाको खजुरीमा १० कठ्ठा क्षेत्रफलमा बनाउन लागेको म्यूजियम एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
वि.सं. १९९४ मा तत्कालिन ब्रिटिश इन्डिया कम्पनीले पहिलो पटक जयनगरदेखि विजुलापुरासम्म कार्गाे रेल सञ्चालन गरेको थियो । नेपालमा पहिलो पटक रेल आएकै ठाउँमा म्यूजियम बनाउन लागिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए ।
‘जनकनन्दनीको खजुरीमा अहिलेपनि ब्रिटिस सरकारले छोडेका रेल इन्जिन छन् । ती रेलहरु राखेर म्यूजियम बनाउने तयारी छौ’ मन्त्री ज्वालाले भने ‘१० कठ्ठा क्षेत्रफलभित्र म्यूजियम बन्दैछ ।’
यसै बर्ष काम सक्नेगरी रेल म्यूजियम बनाइने भएको छ ।
रेल विभाग र रेल्वे कम्पनीसँग छलफल भइरहेको छ । छलफलपछि म्यूजियम बनाउने निर्णयमा पुगेको कम्पनीका जिएम निरन्जन झाले बताए । ब्रिटिश इन्डिया कम्पनीले ग्यारेज बनाउन र नेपालको काठ लैजान पहिलो पटक बिजुलापुरामा रेल ल्याएको थियो । फर्किँदा स्टिम इन्जिन र डिजेल इन्जिनका १० रेल छोडेको थियो । ती इन्जिनहरुको नेपाली नामकरण पनि गरिएको छ । गोरखनाथ, पशुपति, महावीर, चन्द्र, गुहेश्वरी नामकरण गरिएको छ ।
मन्त्रालयले एक प्राविधिक टोली पठाउने भएको छ । रेल्वेको जमिन छुट्याउन, पर्खाल निर्माण गर्न र अन्य सम्पतिको संरक्षण गर्न टोली पठाउन लागिएको मन्त्री ज्वालाले बताए ।