एक महिनादेखि तीन सरकारी निकाय नेतृत्वविहीन – Nepal Press

एक महिनादेखि तीन सरकारी निकाय नेतृत्वविहीन

काठमाडौं । तीन वटा सरकारी निकाय विभागीय प्रमुखविहीन भएका छन् । तीन मन्त्रालयअन्तर्गतका विभाग र निकाय विभागीय प्रमुखविहीन भएपछि नीतिगत काम प्रभावित भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय किताबखाना (निजामती) एक महिनादेखि महानिर्देशकविहीन रहेको छ ।

तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सहसचिव डा.टोकराज पाण्डेलाई गत फागुनमा राष्ट्रिय किताबखानाको महानिर्देशकको जिम्मेवारी दिएका थिए । तर, उनको पाँच महिना नपुग्दै उक्त विभागबाट अर्थ मन्त्रालयमा सरुवा भएको थियो । पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् ।

विभागमा उपमहानिर्देशकको जिम्मेवारीमा सहसचिव सुशीला अर्याल भए पनि उनलाई न निमित्त दिइएको छ न त महानिर्देशक नै । विभागको महानिर्देशकको जिम्मेवारी सहसचिवले गर्ने भएकाले अर्याल पनि महानिर्देशकका लागि योग्य कर्मचारी हुन् ।

विभागमा महानिर्देशक नभएका कारण नीतिगत तहको काम गर्न असहज भइरहेको उपमहानिर्देशक अर्यालले नेपाल प्रेससँग बताइन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालको जिम्मेवारीमा जनमत पार्टीका अनिता देवी आएकी छन् । उनले मन्त्रालयका सचिव सरुवा गरे पनि एक महिनादेखि रिक्त रहेको राष्ट्रिय किताबखानामा महानिर्देशक पठाएकी छैनन् ।

मन्त्रालयमा सहसचिव फाजिल र अतिरिक्तमा रहे पनि विभाग भने महानिर्देशकविहीन रहेको छ । तत्कालीन मन्त्री मोदीले महानिर्देशक पठाउने तयारी गरेका थिए । उनी मन्त्रीबाट हटेपछि विभागले प्रमुख पाउन ढिलाइ भएको छ ।

यस्तै यातायात व्यवस्था विभाग पनि एक महिनादेखि महानिर्देशकविहीन छ । तत्कालीन महानिर्देशक नारायणप्रसाद भट्टराई गृह मन्त्रालयमा सरुवा भएपछि विभाग नेतृत्वविहीन भएको हो ।

अहिले विभागको प्राविधिकतर्फका निर्देशक एवं उपसचिव रामचन्द्र पौडेल निमित्त महानिर्देशक छन् । नेतृत्व नहुँदा प्रशासनिक काम भए पनि नीतिगत कार्य गर्नै समस्या भएको विभागले जनाएको छ ।

विभागमा नेतृत्व नहुँदा एक वर्षदेखि सवारी चालक अनुमतिपत्रका लागि ट्रायल परीक्षा उत्तीर्ण भएका र सवारी चालक अनुमतिपत्र नवीकरणका लागि आवेदन दिएका करिब आठ लाखलाई लाइसेन्स वितरण गर्न समस्या भएको छ ।

खारेज भएको महिला विभाग निमित्तको भरमा

चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत खारेजीमा गएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको महिला तथा बालबालिका विभाग पनि एक महिनादेखि निमित्तको भरमा चलिरहेको छ । विभागमा कार्यरत उपसचिव नीरा अधिकारीले एक महिनादेखि निमित्त महानिर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी छन् ।

विभागका तत्कालीन महानिर्देशक एवं सहसचिव कृष्णप्रसाद पराजुली गत बैशाखमा अनिवार्य अवकाशमा गएपछि अधिकारीले निमित्त महानिर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी हुन् । जेठको पहिलो साता मन्त्रालयले सहसचिव कृष्णप्रसाद धिताललाई महानिर्देशकको जिम्मेवारीमा पठाएको थियो ।

धितालले सरुवा चित्त नबुझेको कारण देखाउँदै निमित्त महानिर्देशकको जिम्मेवारीमा रहेकी अधिकारीसँग आर्थिक अधिकार लिएका छैनन् । धिताल महानिर्देशक जिम्मेवारीमै रहेका बेला सरकारले बजेट वक्तव्यमार्फत विभाग खारेजको प्रस्ताव अघि बढाएको थियो । त्यसपछि अनिवार्य अवकाशको नजिकै पुगेका धितालले राजीनामा दिए ।

विभाग नै खारेज भइसकेकाले अहिले विभागमा खासै काम नभएको निमित्त महानिर्देशक अधिकारीले नेपाल प्रेससँग बताइन् । उनले भनिन्, ‘अहिले हामी विभागमा रहेका कागजपत्र तथा प्रमाण संकलन र व्यवस्थापन गरिरहेका छौं । विगत १० दिनदेखि निरन्तर यसै काममा व्यस्त छौं । यो काम सकेर मन्त्रालयमा बुझाएपछि यो निकायबाट सायद बिदा हुन्छौं होला ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *