श्रम गन्तव्य देशका नेपाली राजदूतलाई किन एकैपटक बोलाउँदैछ सरकार ? – Nepal Press

श्रम गन्तव्य देशका नेपाली राजदूतलाई किन एकैपटक बोलाउँदैछ सरकार ?

काठमाडौं । सरकारले विभिन्न श्रम गन्तव्य मूलुकमा रहेका नेपाली राजदूत तथा श्रम सहचारीलाई एकैपटक काठमाडौंमा बोलाउने भएको छ । उनीहरुसँग अवैध रुपमा नेपाली कामदार विदेशिने क्रम रोक्न र अवैध रुपमा विदेशिएका नेपालीलाई बैध बनाउने विषयमा वृहत छलफल गर्न गर्ने सरकारको तयारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान एवम रक्षामन्त्री पुर्णबहादुर खड्का, उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीसहित बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । उक्त बैठकमा मुख्यसचिव डा.बैकुण्ठ अर्याल, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी तथा सरोकारवाला मन्त्रालयका सहसचिवसमेत सहभागि थिए ।

परराष्ट्रमन्त्री एनपी साउँदले बोलाउने गन्तव्य मुलुकका राजदूत र श्रम सहचारीको सहभागिता रहने गरी काठमाडौंमा छलफल आयोजना गर्न लागिएको बताए ।

उनले नेपाल प्रेससँग भने, ‘अबैध बाटो भएर तथा विभिन्न तरिकाले नेपाली बिदेशिने क्रम रोकिएन । लामो समयदेखि अबैध रुपमा विदेशिएका नेपाली पनि समस्यामा पर्न थाले । यसको समाधानका लागि के गर्न सकिन्छ भनेर श्रम गन्तव्य मूलुकका राजदूत तथा श्रम सहकारीको सहभागिता रहनेगरी काठमाडौंमा छलफल आयोजना गर्ने बैठकले निर्णय गरेको छ ।’

परराष्ट्रमन्त्री साउदका अनुसार समय भने ठ्याक्कै तोकिसकिएको छैन । जतिसक्दो चाडैँ तोकिने उनले बताए ।

शुक्रबार समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले पनि यस्तो निर्णय भएको जानकारी गराएका थिए ।

उनले भने, ‘संसारभरका नेपाली राजदूतलाई काठमाडौंमा बोलाएर श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय तथा प्रधानमन्त्री कार्यालयको सहभागितामा वृहत छलफल गर्ने निर्णय भएको छ । उक्त छलफलले अबैध रुपमा विदेशिने नेपालीलाई कसरी रोक्ने र अवैध रुपमा विदेशिएका नेपालीलाई कसरी बैध बनाउने भन्ने विषयमा वृहत छलफल हुनेछ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर