लगानीकर्ताको ‘दुहुनो गाई’ बनेका बहुराष्ट्रिय तथा विदेशी लगानीका यी कम्पनी – Nepal Press

लगानीकर्ताको ‘दुहुनो गाई’ बनेका बहुराष्ट्रिय तथा विदेशी लगानीका यी कम्पनी

जसको शेयर मूल्य नै छ आकर्षक

काठमाडौ । बहुराष्ट्रिय तथा विदेशी लगानीका कम्पनीले गत आर्थिक वर्ष (२०७९/८०) मा आकर्षक प्रगति गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत युनिलिभर नेपाल, बोटलर्स नेपाल (तराई ) र बोटलर्स नेपाल (बालाजु), स्टान्डर्ड चार्टर्ड र नेपाल एसबीआई बैंकको वित्तीय सूचक आकर्षक देखिएको छ ।

जगेडा कोष, आम्दानी, प्रतिशेयर आम्दानीलगायतका सूचकमा सुधार देखिन्छ । यि कम्पनीहरुले हरेक वर्ष लगानीकर्तालाई राम्रो प्रतिफल समेत बाढ्दै आएका छन् ।

बोटलर्स नेपाल (तराई) को २०७९/८० को चौथो त्रैमासमा प्रतिशेयर आम्दानी ४ सय ७४ रुपैयाँ रहेको छ । नेपालको कुल कोकाकोला उत्पादनको ७० प्रतिशत बजार हिस्सा लिएको बोटलर्स नेपाल (तराई) को रिजर्भमा ३ अर्ब ७९ करोड रहेको छ । बीएनटी संकेतबाट नेप्सेमा सूचीकृत यो कम्पनीको १२ लाख १० हजार कित्ता दोस्रो बजारमा सूचीकृत छ । यसको बजार पूँजीकरण नै १६ अर्ब ५० करोड रूपैयाँ छ । यसको एक कित्ता शेयरको मूल्य १३ हजार रूपैयाँमाथि छ ।

यता, बोटलर्स नेपाल (बालाजु) को आम्दानी ०.१८७ प्रतिशतले बढेको छ । यसको कुल सम्पत्ति पनि बढ्दै गएको छ । यसले गत वर्ष २५ प्रतिशत दायित्व घटाएको छ । बीएनएल संकेतमा यसको शेयर दोस्रो बजारमा कारोबार हुँदै आएको छ । यसको शेयर मूल्य २ हजार ४ सयमाथि छ । यसको १९ लाख ४८ हजार ८ सय ८७ कित्ता शेयर सूचीकृत छ । यसको बजार पूँजीकरण ४ अर्ब ६८ करोड रूपैयाँभन्दा बढी छ ।

बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडको गत आवको अन्त्यसम्म मुख्य आम्दानीमा वृद्धि हासिल गरेको छ । यसको आम्दानी १५.६४ प्रतिशतले बढेर ८ अर्ब ४८ करोड रूपैयाँ पुगेको छ । मुख्य सञ्चालन नाफा २३.२५ प्रतिशत ले बढेर ३ अर्ब ६५ करोड पुगेको छ । खुद नाफा भने १ अर्ब ८३ करोड रहेको छ । यूएनएल संकेतबाट दोस्रो बजारमा शेयर कारोबार भइरहेको यस कम्पनीको ९ लाख २० हजार ७ सय कित्ता सुचिकृत छ । यसको बजार पूँजीकरण झण्डै साढे ३३ अर्ब रहेको छ । युनिलिभरको शेयर मूल्य भने प्रतिकित्ता ३६ हजार रूपैयाँभन्दा माथि छ ।

विदेशी लगानीको संस्था नेपाल एसबीआई बैंक २५.९९ प्रतिशतले निक्षेप बढेको छ । तर, कर्जा लगानी भने यस बैंकको पनि सुस्त देखिएको छ । कर्जा लगानी १०.६४ प्रतिशतले बढेको छ । बैंकको नाफा ३६.८३ प्रतिशतले बढेको छ । तर, वितरणयोग्य नाफा भने ७.३० प्रतिशतले ले घटेको छ । एसबीआईको १० करोड १२ लाख ६ लाख २ सय ८८ कित्ता शेयर सुचिकृत छ । यसको बजार पूँजीकरण ३३ अर्ब ३९ करोड रुपैयाा भन्दा बढी छ । यसको शेयर मूल्य भने ३ सय ३० रुपैयाँ प्रतिकित्ता छ ।

विदेशी लगानीको अर्को कम्पनी स्ट्याण्डर्ड चार्टड बैंकले चौथो त्रैमाससम्म १ खर्ब १७ अर्ब रूपैयाँ निक्षेप संकलन गरेको छ । बैंकको सञ्चालन नाफा ५५.२८ प्रतिशतले बढेर ५ अर्ब ४ करोड र खुद नाफा ५५.३१ प्रतिशतले बढेर ३ अर्ब ५२ करोड पुगेको छ ।

बैंकको वितरणयोग्य नाफा २ अर्ब ७३ करोड र वितरणयोग्य प्रतिशेयर आम्दानी २८ रूपैयाँ ९९ पैसा रहेको छ । यसको ९ करोड ४२ लाख ९४ हजार ५ सय ३९ कित्ता शेयर नेप्सेमा सूचीकृत छ । यसको बजार पूँजीकरण ५२ अर्ब बढी छ । तर, यसको शेयर मूल्य भने ५ सय रूपैयाँमाथि छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *