विद्यार्थीहरु उच्च शिक्षाकै लागि किन विदेशिइरहेका छन् ? – Nepal Press

विद्यार्थीहरु उच्च शिक्षाकै लागि किन विदेशिइरहेका छन् ?

शिक्षा मन्त्रालयको हालै प्रकाशित तथ्याङ्क हेर्ने हो पछिल्लो वर्षमात्रै १ लाख २२ हजार बढीले विदेशमा उच्च शिक्षा अध्ययन गर्न अध्ययन अनुमतिपत्र (एनओसी) प्राप्त गरेका छन् । अनुमतिपत्र नलिई भारत पढ्न जानेको त लेखाजोखा नै छैन । जुन दशौं हजारको संख्यामा छ । आखिर किन चाहँदैनन् त विद्यार्थीले नेपालमै उच्च शिक्षा लिन ? आज यो प्रश्नले आम नागरिकमात्रै नभएर सरकारको पनि ध्यान तानिरहेको छ । सरकार कारणहरूको खोजी गर्दैन, बरू अनुमतिपत्र जारी गर्न कडाइ गर्छ र आफूलाई विवादमा तान्छ । केही समय अगाडि त विद्यार्थीहरू अनुमतिपत्र चाहियो भनेर सडक आन्दोलनमै उत्रिए ।

यहाँ विद्यार्थीहरूले नेपालमै उच्च शिक्षा लिन नचाहने केही कारणबारे चर्चा गरिएको छ ।

कमजोर शैक्षिक गुणस्तर

विद्यार्थी विदेशिनुको प्रमुख कारण हो, नेपाली शिक्षाको कमजोर गुणस्तर । स्नातकोत्तर सकेको औसत विद्यार्थी जसले थेसिस बुझाएको हुन्छ, उसलाई अनुसन्धानात्मक कार्यमा लगायो भने गर्न नसक्ने स्थिति छ । यसको एकमात्र कारण हो, थेसिस कतैबाट सारेर बुझाउनु वा जाँचकीले पनि राम्रोसँग नहेर्नु । यसरी विद्यार्थी उत्पादन गरेपछि उनीहरूको पढाइको गुणस्तर कस्तो होला ?

देशकै सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालयको अवस्था हेर्‍यो भने नाजुक छ । हालैमात्र भएका केही घटना नियाल्ने हो भने हाम्रो शैक्षिक गुणस्तर कस्तो छ भन्ने प्रस्ट हुन्छ । बीबीएस चौथो वर्षको रिसर्च मेथोडोलोजी विषयको परीक्षा भएको १ वर्षपछि पनि त्रिविले परीक्षाफल प्रकाशित गरेन । उल्टै उत्तरपुस्तिका हरायो भनेर विद्यार्थीहरूलाई पुनः परीक्षाको सूचना पठायो । यस्तो अवस्थामा भर्खरै १२ कक्षा उत्तीर्ण विद्यार्थीहरू कुन आधारले यही शिक्षा लिन प्रोत्साहित हुने ? यो प्रश्न गम्भीर छ ।

शैक्षिक क्यालेन्डरको अभाव

अधिकांश नेपाली विश्वविद्यालयले शैक्षिक क्यालेन्डर नै बनाउँदैनन् । बनाइहाले पनि त्यसको कार्यान्वयन शून्य बराबर छ । कुनै विषयको ४ वर्षे स्नातक कार्यक्रम सकिन ५ वर्ष लाग्छ, २ वर्षे स्नातकोत्तर सकिन ३ वर्षभन्दा बढी लाग्छ । क्यालेन्डर अभावको कारणले नै होला त्रिविले भर्खरै १२ कक्षाको परीक्षाफल प्रकाशित नहुँदै स्नातक तहको भर्ना खुलाएको थियो । कुनै पनि परीक्षा दिएको विद्यार्थीले आफूले दिएको परीक्षाको परिणाम प्राप्त गर्न कम्तीमा ५ देखि ७ महिना कुर्नपर्छ । यस्तो अवस्थामा एकातर्फ विद्यार्थीको समय बर्बाद भइरहेको हुन्छ भने अर्कोतर्फ विद्यार्थीहरूको विश्वविद्यालयप्रतिको विश्वास कमजोर भइरहेको हुन्छ । आफूसँगै १२ पढेको साथी विदेश गएर चार वर्षमा स्नातक सकेर कमाउन थालिसक्दा आफू भने स्नातक चौथो वर्षमा अध्ययन गरिरहेको अवस्थाले विद्यार्थीको वैदेशिक यात्राप्रतिको मोहलाई मलजल गरिरहेको छ । त्यसैले अविलम्ब शैक्षिक क्यालेन्डरलाई कडाइका साथ लागू गरेर ढिलासुस्ती अन्त्य नगरे विद्यार्थी विदेशिने क्रम अझै व्यापक रूपमा बढ्ने खतरा छ ।

आफूसँगै १२ पढेको साथी विदेश गएर चार वर्षमा स्नातक सकेर कमाउन थालिसक्दा आफू भने स्नातक चौथो वर्षमा अध्ययन गरिरहेको अवस्थाले विद्यार्थीको वैदेशिक यात्राप्रतिको मोहलाई मलजल गरिरहेको छ । त्यसैले अविलम्ब शैक्षिक क्यालेन्डरलाई कडाइका साथ लागू गरेर ढिलासुस्ती अन्त्य नगरे विद्यार्थी विदेशिने क्रम अझै व्यापक रूपमा बढ्ने खतरा छ ।

अभिभावकको बाध्यता

एउटा सामान्य परिवारको अभिभावकले देखेको सपना भनेकै आफ्ना छोराछोरीले राम्रो पढून् र राम्रो आयआर्जन गरून् भन्ने हो । ताकि बुढेसकालमा सुखको जीवन बाँच्न पाइयोस् । नेपालको शिक्षामा भएका बेथिति र जागिरे व्यक्तिको आयआर्जनको राम्रो हेक्का भएका अभिभावक नेपालमा राम्रो कमाइको सम्भावना नदेखेपछि आफ्नो छोराछोरी पनि विदेश गएर पढून् भन्ने सपना देख्न थाल्छन् । आफूले जीवनभर दुःख गरेर कमाएको घरजग्गा बिक्री गरेरै भए पनि छोराछोरीलाई विदेश पढ्न पठाउँछन् । त्यतिमात्र नभएर सामाजिक सञ्जालको कारणले छरछिमेकमा वा आफन्तमा कसैका छोराछोरी विदेश पढ्न गएको र केही समयमा अभिभावकलाई पनि घुम्न बोलाएको र घुमेको तस्बिर देखिन्छ । आफ्ना छोराछोरी पनि त्यसैगरी विदेश पढ्न गए भने त म पनि घुम्ने थिएँ भन्ने मनोभाव विकास भएर त्यसको फलस्वरूप अभिभावक आफ्ना छोराछोरीलाई विदेश पठाउँछन् ।

नेपाली औसत जीवनस्तर

एउटा सामान्य नेपालीले आफू चढ्ने मोटरसाइकलको कर तिर्न र दर्ता नवीकरण गर्न पर्‍यो भने बिचौलियाविना समयमै गर्न सक्दैन । आफ्नो घरजग्गा बेच्न पनि बिचौलिया नलगाइ काम हुँदैन । सरकारलाई कर तिर्न पनि बिचौलियाको साथ लिनुपरेपछि कुन देशका नागरिक खुशी होलान् ? एउटा घटनालाई आधार मानौं, एक सेवाग्राहीले नवीकरण दस्तुर र जरिवानावापत १ हजारको ठाउँमा यातायात कार्यालय एकान्तकुनाले ५ हजारभन्दा बढी जरिवाना लगायो । यो कुराको बारेमा कार्यालयका कर्मचारीसँग कुरा बुझ्दा कानूनले दिएको अधिकार भनियो । तर, त्यो कानूनमा थिएन र आजसम्म पनि छैन । कानूनविपरीतको कार्य भइरहँदा कार्यालय प्रमुखले समाधान गर्नुको साटो चाँडै यस समस्याको समाधान दिने भनेर झारो टार्ने काम गरे ।

विदेशमा बसेको साथीले यहाँ त यस्तो समस्या केही छैन भनेपछि सो समस्या झेलेको व्यक्ति कति दिन नेपालमा बस्ला ? त्यस्तै केही समयअघि जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पासपोर्टको अनलाइन फर्म डाउनलोड गरेर भरेर गएका सेवाग्राहीलाई यसले हुँदैन बाहिर साइबरमा भराएर ल्याउनु भनेर पठाइयो । देखादेखि भ्रष्टाचार भइरहेको छ भनेर जानकारी गराउँदा पनि कुनै सुनुवाइ हुँदैन । यस्तो बेथिति हरेक ठाउँमा छ । जसले नेपाली विद्यार्थीहरू वर्षेनि बाहिरिने क्रम बढ्दो छ ।

एउटा सामान्य परिवारको अभिभावकले देखेको सपना भनेकै आफ्ना छोराछोरीले राम्रो पढून् र राम्रो आयआर्जन गरून् भन्ने हो । ताकि बुढेसकालमा सुखको जीवन बाँच्न पाइयोस् । नेपालको शिक्षामा भएका बेथिति र जागिरे व्यक्तिको आयआर्जनको राम्रो हेक्का भएका अभिभावक नेपालमा राम्रो कमाइको सम्भावना नदेखेपछि आफ्नो छोराछोरी पनि विदेश गएर पढून् भन्ने सपना देख्न थाल्छन् ।

नेपाली जीवनस्तर औसतको रहेको छ । यहाँ एउटा गतिलो गाडी चढेर हिँड्न राम्रो कमाइ गर्नैपर्छ । तर, विदेशको जीवनस्तर औसतभन्दा माथिको रहेको पाइन्छ । साधारण विद्यार्थीले पनि नेपालबाट त्यहाँ गएको केही महिनामै राम्रो गाडी चढेर हिँड्न थाल्छ । त्यसले नेपालमा रहेका उसका साथी र आफन्तलाई त्यहाँ जान प्रेरित गर्छ । विकसित देशहरूका चिल्ला सडक, सफा शहर, अन्य झन्झटरहित सेवा सुविधाहरूका कारणले पनि नेपाली विद्यार्थीहरू विदेश जान लालायित हुने गर्छन् ।

पार्टटाइम काम गर्ने सुविधा

पहिलो त नेपालमा जागिर पाउनै मुस्किल छ । पाइहाल्यो भने पनि पढ्दै गरेका विद्यार्थीका लागि पार्टटाइम काम त बिरलै पाइन्छ । कतिसम्म भने स्नातक सकेर स्नातकोत्तर पढ्दै गरेका विद्यार्थीहरूले पनि पार्टटाइम गतिलो काम पाउँदैनन् । तर, बाहिर भने परिस्थिति फरक छ । एउटा विद्यार्थीले कानूनी रूपमै प्रतिहप्ता २० देखि २५ घण्टा काम गर्न पाउँछ । त्यसरी पार्टटाइम काम गर्छु भन्नेहरूका लागि काम पनि सजिलै पाइन्छ । १२ कक्षा सकेको कलिलो उमेरको विद्यार्थीका लागि पकेट मनीको रूपमा कमाइ हुने भएपछि आकर्षित गर्ने नै भयो । अझ स्नातक सकेको विद्यार्थीले त राम्रै कमाइ गर्ने काम पाउँछन्, जसले धेरै नेपाली विद्यार्थीहरूलाई विदेश जान प्रेरित गरेको छ ।

साथीभाइको दबाब

एउटा कलिलो विद्यार्थीलाई आफ्नो बुबाआमाले भन्दा छिटो र सरल तरिकाले प्रभावमा पार्ने भनेकै साथीले हो । म नेपालमै स्नातक तहको कार्यक्रममा भर्ना हुन्छु भनेर भर्ना गरेर कक्षामा उपस्थित भएको विद्यार्थी केही महिनापछि विदेश जान्छु भनेर कन्सल्टेन्सी धाउन थाल्छन् र पहिलो वर्षको परीक्षा दिनुअगावै ऊ विदेश पुगिसक्छ । उसले कारण एउटै दिन्छ मसँग मिल्ने सबै साथी विदेश गए, त्यही भएर म पनि जान्छु । नेपालबाट विदेशिने १२ कक्षा उत्तीर्ण धेरै विद्यार्थीको विदेश जानुको कारण नै यही हुने गर्छ । १२ कक्षा पढ्दापढ्दै कक्षामा सबैले विदेश जाने कुरा गर्न थालेपछि उसको मानसपटलमा पनि राम्रो शिक्षा लिन र राम्रो जीवन जिउन त विदेश पो जान पर्ने रहेछ भन्ने कुराले स्थान पाउँछ र क्रमशः ऊ पनि विदेशको बाटोतिर लाग्छ । त्यो बाटोमा फूल बिछ्याएर कन्सल्टेन्सीहरूले स्वागत गरेपछि त ऊ जसरी पनि विदेश जाने निष्कर्षमा पुग्छ ।

यी त नेपाली विद्यार्थीहरू उच्च शिक्षाका लागि विदेश रोज्नुका केही कारणहरू हुन् । यस्ता कैयौं कारण छन्, जुन यहाँ उल्लेख गरिएको छैन । सरकारले अनुमतिपत्रमा कडाइ गर्नुको सट्टा उल्लेखित कारणहरूलाई कसरी सुधार गर्ने त्यसतर्फ ध्यान दिन जरूरी छ ।


प्रतिक्रिया

2 thoughts on “विद्यार्थीहरु उच्च शिक्षाकै लागि किन विदेशिइरहेका छन् ?

  1. तल देखि माथिल्ला तहका लेवलसम्म भ्रष्टाचारीहरुको सेटिङ छ हाम्रो नेपालमा ।रोजगारीका कुनै अवसरहरु छैनन् बरु नातावाद र कृपावादको विगविगी छ ।यस्तो हालतमा हामी अभिभावकले पनि विदेश पठाउन बाध्य छौँ ।नेपाल सरकार त पञ्चायत कालिन सरकारसँग पनि तुलना गर्न लायक छैन ।

  2. माथि उल्लेखित कारणले गर्दा हालैका नाममात्रको विना कामको सरकारसँग वाक्क दिक्क लागेर पनि विदेश पढ्न पठाउन वाध्यछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *