तीन वर्षपछि ‘नाडा अटो सो’ हुँदै, बजार चलायमान हुने विश्वास (भिडिओ) – Nepal Press

तीन वर्षपछि ‘नाडा अटो सो’ हुँदै, बजार चलायमान हुने विश्वास (भिडिओ)

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले भदौ २६ देखि ३१ गतेसम्म ‘नाडा अटो सो २०२३’ आयोजना गर्ने भएको छ ।

सोमबार नाडाले पत्रकार सम्मेलन गर्दै काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा भदौ २६ देखि ३१ गतेसम्म ‘नाडा अटो सो २०२३’ आयोजना गर्ने जानकारी दिएको हो । अटो प्रदर्शनीमा सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघसंस्थाको प्रदर्शनी हुने भएको छ । प्रदर्शनीको १५ औं संस्करणको टाटा मोटर्स जेनुइन आयलले गर्ने भएको छ । प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीहरूको उत्साहजनक सहभागिताले केही हदसम्म अर्थतन्त्र चलायमान बनाउने नाडाको अपेक्षा रहेको छ ।

नाडाका अध्यक्ष ध्रुव थापाले दुई वर्षको कोरोना महामारी र आयात प्रतिबन्धको कारण हुन नसकेको नाडा अटो सो यो वर्ष गर्न गइरहेको बताए । अहिले मुलुकको आर्थिक अवस्थाले नाडा अटो सो गर्ने अनकूल समय भने नभएको बताए ।

थापाले देशको वर्तमान आर्थिक परिस्थिति र राष्ट्र बैंकले लगायतका विभिन्न प्रतिबन्धका कारण अटो मोबाइल्स व्यवसायी अहिलेको अवस्थामा पुगेको बताए । करिब डेढ वर्षयता भन्सारमा हजारौं गाडीहरु थन्किएर बसेको उनले जानकारी दिए । दशैँ तिहारअगाडि करिब ४० प्रतिशत र ६० प्रतिशत सवारी बिक्री १० महिनामा हुने तथ्याङ्कलाई मध्यनजर गरेर यो वर्ष नाडाले अटो सो गर्न गइरहेको अध्यक्ष थापाले बताए ।

उनले भने,‘आर्थिक अवस्था नाजुक छ । सवारी साधनहरु बेच्न सक्ने अवस्था छैन । गाडीहरू अटो सोमा राखे पनि बिक्री नहुने अवस्था छ । यस्तो अवस्थामा नाडा अटो सो गर्नुपर्ला र भन्ने प्रश्नहरु आइरहेको छ । तर, अटो प्रदर्शनी नगर्नु भन्दा गर्दा एउटा राम्रो सन्देश जान्छ । लामो समयदेखि नाडा अटो सोमात्रै नभएर अन्य सोहरुलाई पनि असर परेको छ । देशको वर्तमान आर्थिक परिस्थिति र राष्ट्र बैंकले लगाएका विभिन्न प्रतिवन्धका कारण अटो मोबाइल्स व्यवसायी यो अवस्थामा पुगेको छौं । अटो सोमा बुकिङ कम हुने शंका थियो तर धेरै बुकिङहरु आयो । हामीले व्यवस्थापन गर्न सकेनौं । काठमाडौं उपत्यकामा व्यवस्थित प्रदर्शनी स्थल छैन । काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल जरुरी भएको छ । भृकुटीमण्डपमा नेपाली तथा आयातित वस्तुहरु प्रदर्शनी गर्न लायक स्थल छैन ।’

नाडाले आर्थिक सुस्तताले अटोमोबाइल व्यवसायीमा नकारात्मक प्रभाव पार्नुका साथै सवारी साधन खरिदकर्ताको वित्तीय योजनामा समेत असर गरेको बताएको छ । यस अवस्थामा नाडा अटो सोले बजार चलायमान बनाउन मद्दत पुग्ने आयोजकको ठहर छ ।

प्रदर्शनीमा ठूला तथा साना गरी करिव १२० स्टल र ब्लक रहनेछन् । प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवाप्रदायकको सहभागिता रहनेछ । प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङ्ग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहने छ ।

एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भीडभाड कम गर्न एवं आगन्तुकको भ्रमणलाई सहज बनाउन सोमवारदेखि नै खल्ती एपमार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । भदौ २५ सम्मको अग्रिम अनलाइन टिकट खरिदमा खल्तीले २० प्रतिशत क्यास ब्याक अफर दिएको छ । ६ दिन चल्ने नाडा अटो सोको लगभग ७५ हजार आगन्तुकले अवलोकन गर्ने विश्वास आयोजकको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *