गगन थापाको आग्रह- भ्रष्टाचारीको सन्दर्भमा ‘न नेता, न नाता’ केही नहेरियोस्
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जुनसुकै पार्टीका भए पनि भ्रष्टाचारको जालो तोड्न एकजुट भएर लाग्न आह्वान गरेका छन् । भ्रष्टाचारको नेक्सस र भ्रष्टाचारी जोगाउन भइरहेका मिलीभगत तोड्न यसको विपक्षमा रहेका सबै एकजुट हुनुपर्नेमा उनले जोड दिएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन काण्डपछि टीकापुर जग्गा घोटालालगायत एकपछि अर्को ठूला भ्रष्टाचारका काण्डहरू बाहिर निस्किरहँदा बितेका वर्षहरूमा अख्तियारको दुरुपयोग गरेर कसरी शासन सत्ता, शक्ति र पहुँच, नाता र सम्बन्धका आधारमा भ्रष्टाचारको नेक्सस बनिरहेको रहेछ भन्ने कुरा छर्लङ्ग भएको छ ।’
उनले शीर्ष नेताहरुको बैठकलाई लक्षित गर्दै घटना सामसुम पार्न मिल्नेहरु यस्ता घटनामा छानबिन गर्न गराउन किन नमिल्ने भन्दै प्रश्न गरे ।
उनको भनाइ जस्ताको तस्तैः
फेरि अर्को काण्डको विवरण सार्वजनिक भएको छ । ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन काण्डपछि टीकापुर जग्गा घोटालालगायत एकपछि अर्को ठूला भ्रष्टाचारका काण्डहरू बाहिर निस्किरहँदा बितेका वर्षहरूमा अख्तियारको दुरुपयोग गरेर कसरी शासन सत्ता, शक्ति र पहुँच, नाता र सम्बन्धका आधारमा ‘भ्रष्टाचारको नेक्सस’ बनिरहेको रहेछ भन्ने कुरा छर्लङ्ग भएको छ । पुराना घटनाहरूलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन, भ्रष्टाचार नियन्त्रणका लागि बनेका हाम्रा कानूनी र संरचनागत संयन्त्रहरूलाई बलियो बनाउँदै यसमा देखिएका लुपहोलहरुमा काम गर्न यी घटनाहरूले हामीलाई झकझकाइरहेका छन् ।
तर, यस्ता काण्डहरूमा सार्वजनिक रूपमा ठूलाहरूले चर्को बोल्ने, एक अर्कालाई तर्साउने, तर बिस्तारै बन्द कोठामा बसेर सामसुम पार्ने अनि अनुकूलतामा सत्ता बार्गेनिङको टुल बनाउने सम्भावना एकदमै देखिन्छ ।
अतः
१) यस्ता घटना सामसुम पार्न उनीहरू मिल्छन् भने यस्ता घटनामा छानबिन गर्न गराउन हामी किन नमिल्ने ? विगतमा जस्तै एउटै पार्टीभित्र समान धारणा भएको एक ठाउँमा आउँ । यस्तै धारणा भएको अन्य पार्टीका साथीसँग समान धारणा बनाउँ, अनि पार्टी बाहिरको नागरिक आन्दोलनसँग एकाकार होऔं ।
२) हामीले प्रयास ग¥यौं भने यी विषयलगायत भ्रष्टाचारको जालो तोड्ने र सुशासन कायम गर्ने बलियो कानूनी, संरचनागत र संस्थागत सुधार वातावरण अहिले बन्दैछ । यसका निम्ति संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचारसम्बन्धी दुई वटा ऐन संशोधन विधेयक विचाराधीन छन् । हामीले छुट्टाछुट्टै दर्जनौं संशोधन हालेका छौं, यसमा राम्रोसँग काम गरौं । अख्तिपार दुरुपयोग अनुसन्धान आयोगलगायतको संस्थामा हुने नियुक्तिदेखि क्षेत्राधिकारसम्म, क्षमतादेखि संरचनासम्म बलियो बनाऔं । नीतिगत भ्रष्टाचारलाई परिभाषित गर्ने छुट्टै कानून नै बनाऔं, के नीतिगत हो, के होइन प्रस्ट गरौं । संसदबाट स्वार्थको द्वन्द्वसम्बन्धी कानून अविलम्ब पारित गरौं । अनुसन्धान गर्ने निकायलाई सबल बनाउन र निष्पक्ष रूपमा कामका लागि के के कानूनी व्यवस्था बदल्नुपर्छ, त्यसमा काम गरौं । योसँगै अभियोजन गर्ने सरकारी वकिल र न्यायालयलाई निष्पक्ष र क्षमतावान बनाउन अहिले भएको व्यवस्थामा के के बदल्नैपर्छ, यसमा पनि काम थालौं ।
३) यो अभियानमा हाम्रो मन्त्र हुनुपर्छ, ‘निर्दोष कोही नपरुन्, दोषी कोही नछुटून् ।’ भ्रष्टाचारीको सन्दर्भमा ‘न नेता, न नाता’ केही नहेरियोस् । त्यसैगरी कुनै व्यक्ति नेता वा नाता भएकै कारण पूर्वाग्रहको विषय पनि नबनोस्।
यी सबै कुरामा मेरो पहलकदमी रहनेछ, जुनसुकै पार्टीमा, जहाँ भए पनि भ्रष्टाचारको जालो तोड्न सँगै लागौं ।