बाँके स्वास्थ्यका निमित्त प्रमुखलाई मन्त्रालयले सोध्यो तीन दिने स्पष्टीकरण
रुपन्देही । स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेशबाबु श्रेष्ठलाई लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण मागेको छ । अधिकार क्षेत्रभन्दा बाहिर गएर कर्मचारीलाई सरुवा रमाना तथा बुझबुझारथको पत्र लेखेपछि उनी विवादमा तानिएका थिए ।
श्रेष्ठले आठौँ तह अधिकृत सुनिता पौडेललाई भदौ १० गते बरबुझारथ गर्ने सम्बन्धमा पत्र लेख्दै प्रदेश मन्त्रालयको निर्देशनालयमा सरुवा भएकाले रमाना लिने प्रयोजनमा जिम्मामा भएका जिन्सी तथा नगद तत्काल बुझाउन भनेर पत्र लेखेको विषय नेपाल प्रेसले सोमबार समाचार प्रकाशन गरेको थियो ।
समाचार प्रकाशन भएपछि स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण सोधेको हो । सुनिता त्यो कार्यालयको प्रमुख आठौँ तहको थिइन् । श्रेष्ठ सातौँ तहको हुन् ।
सुनिता पौडेलले आफ्नो सरुवा भदौ ४ मा भएकोमा कार्यालयका परिवार नियोजन सुपरभाइजर अधिकृत नरेशबाबु श्रेष्ठले आफू हाजिर भएकै दिन भदौ १० गते कार्यालयको मेल प्रयोग गरी कार्यालय प्रमुखलेजस्तो गरी गैरजिम्मेवारी तरिकाले पत्र लेखेको भन्दै कारबाही माग गदै स्वास्थ्य मन्त्रालयमा निवेदन दिएकी थिइन् ।
मन्त्रालयले सचिव स्तरको निर्णय गरी यो विषयमा श्रेष्ठलाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन गरेको छ ।
सुनिताको सरुवा दाङस्थित मन्त्रालयमा भएको थियो । यो ठाउँमा नरेन्द्र अंगत सरुवा भएका छन् । तर, अंगतलाई अख्तियारले निलम्बनमा राखेको छ । यही कारण नरेश आफू निमित्त भएर बसिरहनका लागि यस्तो खेल खेलेको त्यहाँका कर्मचारी बताउँछन् । सरकारी पहुँचको भरमा श्रेष्ठले यस्तो गरेको एक कर्मचारीले बताए ।
श्रेष्ठले नेपाल प्रेससँग कुरा गर्दै पत्रमा गल्ती भएको स्वीकारेका छन् ।
नरेश र अंगत कांग्रेसनिकट कर्मचारी हुन् भने पौडेल एमाले निकट हुन् । श्रेष्ठले स्वास्थ्य मन्त्री आफू निकट भएकैले नियम विपरीत यसरी अगाडि बढेको गुनासो कर्मचारीको छ ।
यसैबीच स्वास्थ्य मन्त्रालयले श्रेष्ठलाई नै बाँकेबाट काज सरुवा गरी मन्त्रालय तानेको छ । मन्त्रालयका शाखा अधिकृत अमरबहादुर वलीले सोमबार नै पत्र लेखेर उनलाई एक महिनाको लागि सोही कार्यालयबाट तलब बुझ्ने गरी दाङस्थित मन्त्रालयमा काजमा बोलाएका छन् ।