भैरहवाबाट नेपाल एयरलाइन्सको हङकङ र दिल्ली उडान, पहिलो खेप रित्तै भएपछि व्यवसायी असन्तुष्ट – Nepal Press

भैरहवाबाट नेपाल एयरलाइन्सको हङकङ र दिल्ली उडान, पहिलो खेप रित्तै भएपछि व्यवसायी असन्तुष्ट

रुपन्देही । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि पहिलो पटक हङकङ र दिल्ली उडान भए पनि समयमै टिकट बिक्री नखुल्दा कुनै यात्रु जान पाएनन् ।

चौतर्फी दबाबमा नेपाल एयरलाइन्सले यहाँबाट ट्रान्जिट उडान सुरु गरे पनि समयमै टिकट बिक्री सिस्टममा नराख्दा आज दुवै देशमा जाने यात्रु नभएको पर्यटन व्यवसायीले गुनासो गरेका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि काठमाडौँ ट्रान्जिट भएर हरेक मङ्गलवार दिल्ली र हङकङ नियमित उडान सुरु गर्ने नेपाल एयरलाइन्सले सूचना भदौ १० गते सार्वजनिक गरे पनि आन्तरिक प्रणालीमा त्यसलाई नराखिएको र व्यवसायीलाई टिक बिक्रीका लागि सूचना नै नदिएको हो ।

रुपन्देहीमा पर्यटन व्यवसाय सञ्चालन गरेकी नाट्टा लुम्बिनीका अध्यक्ष रचना पन्तले नेपाल एयरलाइन्सले यहाँको कमजोरी देखाएर निरन्तर सेवा नदिन यसो गरेको आशंका गरेकी छन् ।

‘यस्तो पनि गर्नहुन्छ, नेपाल एयरलाइन्सले यहाँबाट उडान भर्ने निर्णय गरेपछि सिस्टममा राख्नुपर्दैन, अनलाइन सिस्टममा नभएपछि काउन्टरमा गएर कसैले टिकट लिएर जाने हुन्छ पहिलो पटकमै, हामीलाई टिकट बिक्री गर्ने समय र सूचना नै दिइएन, यो यहाँबाट यात्रु भएनन् भनेर नउडाउने डिजाइनजस्तो लाग्छ’ पन्तले भनिन्, ‘खाली भयो, घाटा भयो भनेर बहानाबाजी गराउन यसो गरिएको हो भन्ने देखिन्छ, चौतर्फी दबाबमा यहाँबाट उडान थालनी गर्न बाध्य भएको हो, अब अर्को मङ्गलवारका लागि कस्तो व्यवहार हुन्छ, हामी सबै व्यवसायी सचेत बन्छौँ र खबरदारी गर्छौँ’ पन्तको भनाइ छ ।

नेपाल एयरलाइन्सका गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख माधव लोहनीले आज ट्रान्जिट भएर जाने यात्रु नआएको बताए । ‘टिकट बुकिङ त खुल्यो, तर यात्रुहरू आउनुभएन । आज ट्रान्जिट निल नै भयो, सायद प्रचार प्रसारको कमीले पनि होला। अर्को हप्ताबाट यात्रुहरू आउनुहुन्छ भन्ने आशा छ’ उनले भने ।

नेपाल एयरलाइन्सले ट्रान्जिट उडानको लागि सोमबारबाट मात्र बुकिङ खुल्ला गरेको थियो । हङकङको उडानको बुकिङको लागि सिष्टमले देखाए पनि दिल्लीको लागि अनलाइन बुकिङ गर्न भाडा दर देखाएको थिएन ।

भैरहवाका व्यवसायी ठाकुरकुमार श्रेष्ठले आफ्नो परिवारका ५ जना सदस्यसहित करिब ३५ जना यो क्षेत्रका व्यक्तिहरू मलेसियाबाट यो विमानस्थलमा आउन पाएको बताए । तर एयरलाइन्सले समयमै टिकट बिक्री नखोलेका कारण र यसको प्रचार प्रसार तथा अनलाइन सिस्टममा नराखेका कारण यहाँबाट जाने यात्रु नपाएको बताए ।

‘अनलाइनमा टिकट बिक्री नराखेपछि कसरी यात्रुलाई थाहा हुन्छ र । यहाँबाट उडान भरेपछि धेरै सहज भयो नि, मेरै परिवारको ५ जना मलेसियाबाट यहाँ आउनुभयो, काठमाडाैंबाट पुनः यहाँ आउने समस्या त भएन नि । यहाँबाट दिल्ली जानेलाई काठमाडाैंमा धेरै बस्नु नपर्ने भएकाले र टिकट पनि धेरै फरक नपर्ने भएकाले कुनै असहज हुँदैन तर अब यो सँगै सिधा उडानका लागि पनि पहल गर्नुपर्छ’ श्रेष्ठले भने ।

भैरहवाबाट अर्को ट्रान्जिट उडान सेप्टेम्बर ५ अर्थात् भदौ १९ गते हुने छ। काठमाडौँबाट हङकङ र दिल्लीको लागि जति भाडादर तोकिएको छ। त्यसमा २ हजार बढी भैरहवाबाट उडान हुँदा लाग्ने नेपाल एयरलाइन्सका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख माधव लोहोनीले बताए।

सो दिनको लागि आजको मितिमा टिकट बुकिङ गर्दा काठमाडौँबाट हङकङको लागि इकोनमी तर्फको भाडादर ५१ हजार ५५१ तोकिएको छ। त्यसमा २ हजार थप गर्दा ५३ हजार ५५१ भैरहवा—हङकङको भाडादर हुन आउँछ। विजनेस क्लास टिकटको १ लाख १ हजार १४ रुपैयाँ छ। भैरहवाबाट उडान गर्दा यसमा पनि २ हजार थप भएर ३ लाख १ हजार १४ रुपैयाँ हुने छ।

सेप्टेम्बर ५ कै लागि काठमाडौँबाट दिल्ली उडान गर्दा इकोनमी क्लासको भाडादर ११ हजार २२७ रहेको छ। भैरहवाबाट काठमाडौँ ट्रान्जिट भएर उडान गर्दा १३ हजार २२७ रुपैयाँ लाग्ने छ।

हरेक मङ्गलवार बिहान नेपाल एयरलाइन्सको जहाज मलेशियाको क्वालालाम्पुरबाट भैरहवा आएर काठमाडौँ जाने गर्दछ। भैरहवामा यात्रु झरेपछिको खाली सिटमा दिल्ली र हङकङ जाने यात्रु राखिने नेपाल एयरलाइन्सले जनाएको छ।

०७९ जेठ २ मा उद्घाटन भएको यो विमानस्थलमा पहिलो उडान गरेको जजिराले पनि सेवालाई निरन्तरता नदिएपछि अर्र्बौ लगानीको योजना घाटामा जाने र निजी क्षेत्र पनि उसै गरी संकटमा जाने चिन्तामा छन् ।

४० अर्ब लगानीमा बनेको यो विमानस्थल आसपासमा निजी क्षेत्रले त्यो भन्दा धेरै लगानीमा आफ्ना सेवा सुरु गरे पनि विमानस्थल सुचारु नहुँदा आक्रोशित छन् । सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रले लगातार खबरदारी गरे पनि ध्यान नदिइएको बताएका छन् ।

काठमाडाैंको विमानस्थलमा समस्या आउँदा वैकल्पिक रूपमा लुम्बिनी र गौतमबुद्धको जन्मस्थलसँग जोडिएकाले यहाँ आउने पर्यटकको सहजता र खाडी क्षेत्रमा जाने पश्चिम क्षेत्रका श्रमिकहरूका लागि पनि यो विमानस्थल महत्त्वपूर्ण मानिएको छ । तर भारतले हवाई रुटको सहजता नदिएका कारण अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले यहाँबाट उडानमा चासो कम दिएका छन् भने कूटनीतिक हिसाबले नेपालले यो विषय टुंगाउन सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर