समाज भाँड्ने माध्यम नबनोस् ‘भाइरल मोह’ – Nepal Press

समाज भाँड्ने माध्यम नबनोस् ‘भाइरल मोह’

केही समयअघि चितवनका एक विद्यालयका प्रधानाध्यापकले आफ्नी श्रीमतीलाई खुट्टा ढोग्न लगाएर फेसबुकमा तस्वीर पोष्ट गरे । उनले भाइरल पोष्ट भन्दै तस्वीर राखेपछि धेरैले प्रश्न गरे । कतिले विद्यालयका प्रधानाध्यापकको यस्तो व्यवहार देखिन्छ भने उनका विद्यार्थीले के सिक्लान् भनेर सामाजिक सञ्जालमै चिन्ता व्यक्त गरे ।

त्यही कमेन्टमा उनको जवाफ थियो, अरु भाइरल हुन कस्ता कस्ता पोष्ट राख्छन्, मलाई पनि भाइरल हुने रहरले फोटो राखें । त्यसपछिका प्रतिक्रिया थेग्न नसकेपछि उनले त्यो पोष्ट नै हटाए ।

अहिले भाइरल मोहमा यी शिक्षकले झैं पोष्टहरु राख्ने र हटाउने प्रतिस्पर्धा जस्तै देखिन्छन् सामाजिक सञ्जालका भित्ताहरुमा ।

सरकारको सचिव पदबाट निवृत्त भीम उपाध्याय सामाजिक सञ्जालमा निकै सक्रिय छन् । यस्तो लाग्छ, निवृत्त जीवन सामाजिक सञ्जालमै रमेर बिताउँदैछन् । अझ भीम उपाध्याय मनमौजी नामको फेसबुक पेजका पोष्टहरु हेर्दा उनी विवादमा आउने खालका स्टाटस लेख्न रुचाउने स्वभावका देखिन्छन् ।

उनले धरानमा गोरुको मासु खाएको विषयमा चितवनकी पूर्णमाया गुरुङले कुनै भोजमा खाएको मासुको फोटो राखेर भने- गोरु खाने धराने ।

सामान्यतया सामाजिक सञ्जाल चलाउने मानिस डिजिटल साक्षर हुन्छन् नै । तर, साक्षरता पढ्न जानेरमात्रै नहुने रहेछ । जानेको कुरालाई जीवन र सामाजिक सम्बन्धसँग जोडेर उपयोग गर्न सकिन्छ अनि बल्ल त्यसको सिकाइमा साक्षर गनिने रहेछ ।

उता धरानमा गोरु काटेर खाएको विषयमा पक्ष र विपक्षमा प्रदर्शनहरु भइरहँदा यता चितवनमा भीम उपाध्यायविरुद्ध साइबर अपराधको जाहेरी दर्ता भएको छ । दिनदिनै गुरुङ परिषद्ले दबाबमूलक कार्यक्रम गरेर भीम उपाध्यायमाथि कारबाहीको माग गरिरहेका छन् ।

कानूनी प्रक्रियाअन्तर्गत प्रहरी अनुसन्धान अघि बढ्ने हो भने पूर्णमायाले दिएको जाहेरीका आधारमा भीम उपाध्याय पक्राउ पर्नेछन् । बढीमा २४ दिनसम्म उनलाई प्रहरीले हिरासतमा राख्नसक्छ । अदालत पेश गरेपछि कसुर प्रमाणित गर्ने कागजात बलियो भएमा पुर्पक्ष हुँदै साइबर अपराधमा कैद सजायसमेत सुनाउन सक्छ । के उनले पूर्णमायाको फोटो सार्वजनिक गर्ने बेला यति परसम्म सोचे होलान् ?

सामान्यतया सामाजिक सञ्जाल चलाउने मानिस डिजिटल साक्षर हुन्छन् नै । तर, साक्षरता पढ्न जानेरमात्रै नहुने रहेछ । जानेको कुरालाई जीवन र सामाजिक सम्बन्धसँग जोडेर उपयोग गर्न सकिन्छ अनि बल्ल त्यसको सिकाइमा साक्षर गनिने रहेछ ।

हुन त उपाध्यायले पटक पटक पूर्णमायाले अनुरोध गरेर आफू धराने नभएको र गोरु पनि नखाएको अनुरोध गर्दा नहटाएको पोष्ट जाहेरी परेपछि हटाएका छन् । तर, ती प्रधानाध्यापकको झैं उनले पोष्ट हटाए पनि उपाध्यायले माफी पाएका छैनन् । किनकि उपाध्यायको उट्पट्याङले सामाजिक सञ्जालमा आएका गाली थेग्न नसकेपछि पूर्णमाया प्रमाण बोकेर प्रहरीकहाँ पुग्ने अवस्था आयो । अब त उपाध्यायविरुद्धको उजुरी नै प्रहरीमा लिखित रेकर्ड बनिसकेको छ ।

धरानको गोरु काटेको कसुर हो वा होइन, हो भने कति गम्भीर हो र यसको कानूनी प्रक्रिया कसरी अघि बढ्नुपर्ने भन्ने विषयमा धेरै विश्लेषण भइरहेका छन् । यसतर्फ म जान चाहन्न । तर, धरानमा गोरुको मासु खाएको विषय सार्वजनिक र आलोचनाको सुरुवात हुने स्थल सामाजिक सञ्जाल नै हो ।

आजको प्रतिस्पर्धात्मक प्रविधियुक्त समाजमा हामी चाहेर पनि इन्टरनेटको जालोमा जोडिएको सामाजिक सञ्जालबाट टाढा हुन सक्दैनौं । हाम्रा दैनन्दिनका क्रियाकलाप, कतिपयको जीविकाको माध्यम नै इन्टरनेट, सामाजिक सञ्जालसँग जोडिएको छ ।

परिवर्तनशील सामाजिक विकासक्रमसँगै विकसित यस्ता प्रविधिलाई समाजका सामाजिक प्रतिष्ठा खललका माध्यम बनाउनबाट हामीले जोगाउन सक्छौं । तर, त्यसको लागि सामाजिक सञ्जाललाई सुरक्षित रुपमा कसरी चलाउने भनेर जान्न जरुरी छ ।

हामी विविधतायुक्त समाजमा छौं । धार्मिक आस्था फरक फरक बोकेर एउटै समाजमा बसिरहेका छौं । उत्पत्तिदेखि नै मानवको प्रजातीय हिसाबमा विविधता छ । हामी सांस्कृतिक पहिचानमा पनि फरक फरक चिनारीसहित छौं । समुदायअनुसार सञ्चारको माध्यम अर्थात् भाषामा पनि विविधता छ । यद्यपि हामीसँग विविधतामा पनि मिलेर बसेको समाज छ ।

हाम्रा सामाजिक सञ्जालमार्फत भएका असामाजिक कामले स्वयंको पहिचान शून्यमा झार्न सेकेण्डभर लाग्दैन । त्यसैले कम्तिमा पनि सामाजिक सञ्जालमा सक्रिय हामीले टिकटकमा पोष्ट हुन तयार भिडियो, फेसबुकमा लेखेर तयार भएको स्टाटस अनि अन्य सञ्जालतिरका कन्टेन्ट रिभ्यू गरिहेरौं त ! भाइरल सामग्री खोजिरहँदा जोखिममा आफैं त परिँदै छैन ?

तर, पछिल्ला दिनमा क्षणिक रुपमा भर्चुअल दुनियाँमा भ्यू बटुलेर भाइरल हुने होडबाजीले भीम उपाध्यायले झैं आफैंलाई कानूनको उल्लंघनकर्ताको लहरमा उभ्याउन किन उद्यत छौं ?

कहिले रमाइलो गर्ने नाममा त, कहिले भाइरल हुने नाममा सामाजिक सञ्जालको सही उपयोग हुन नसक्दा आपराधिक प्रवृत्तिहरु बढ्न थालेका छन् । त्यसैले होला टेकु साइबर व्युरोमा मात्रै दिन सकिने साइबर अपराधका जाहेरीहरु देशभरका प्रहरी कार्यालयमा दिन सकिने गरी सरकारले नयाँ व्यवस्था ल्याइसकेको छ ।

यही आर्थिक वर्षदेखि सुरु गरेको विद्युतीय अपराधमा उजुरीको सहजता भएपछि चितवन अदालतमा विद्युतीय अपराधको मुद्दा दर्ता भइसकेको छ । यसको मतलब हामी हातमा भएको मोबाइलबाट सामाजिक सञ्जालको जालोमा मनलाग्दी सामग्री राख्न तयार भएर बसेका छौं, जसले स्वयंलाई हानि गरिरहेको पत्तो छैन । अब हामीविरुद्ध नै न्याय माग्ने मानिसहरु न्यायिक निकायमा धाउन थालिसकेका छन् ।

विश्व स्वास्थ्य संगठनले भनेको छ, मानिस स्वस्थ हुन शारीरिक, मानसिक र सामाजिक सम्बन्धमा पनि स्वस्थ हुन जरुरी छ । हामी कतिको स्वस्थ छौं भन्न पनि हामीले निभाएका सामाजिक जिम्मेवारी पनि हेरिने रहेछ । एउटा स्वस्थ मानिस न समाज बिगार्न चाहन्छ न त स्वयंलाई कानूनको उलंघनकर्ता भनेर चिनाउन नै सहज ठान्छ । भाइरल मोहमा रमाउँदा हामीलाई क्षणभरमै सबैले ‘पपुलर’ अप्सनमा खोज्ने मान्छे त बनाउला । तर, हाम्रा सामाजिक सञ्जालमार्फत भएका असामाजिक कामले स्वयंको पहिचान शून्यमा झार्न सेकेण्डभर लाग्दैन ।

त्यसैले कम्तिमा पनि सामाजिक सञ्जालमा सक्रिय हामीले टिकटकमा पोष्ट हुन तयार भिडियो, फेसबुकमा लेखेर तयार भएको स्टाटस अनि अन्य सञ्जालतिरका कन्टेन्ट रिभ्यू गरिहेरौं त ! भाइरल सामग्री खोजिरहँदा जोखिममा आफैं त परिँदै छैन ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *