सवाल एमाले प्रदेश नेतृत्वको, आवश्यकता ‘कोर्स करेक्सन’को – Nepal Press

सवाल एमाले प्रदेश नेतृत्वको, आवश्यकता ‘कोर्स करेक्सन’को

नेकपा एमालेले सबै प्रदेश अधिवेशन आगामी असोज मसान्तसम्म सम्पन्न गर्ने गरी मिति निर्धारण गरिसकेको छ । नेकपा एमालेको ऐतिहासिक दशौं राष्ट्रिय महाधिवेशनले पारित गरेका नीति र कार्यक्रमलाई जनस्तरमा लैजान प्रदेश अधिवेशको प्रमुख जिम्मेवारी हुनेछ । जसका लागि संगठन र नेतृत्वको प्रश्न निरुपण गर्नु नै अधिवेशनको प्रमुख जिम्मेवारी रहनेछ । एमाले जति वेला बलियो बन्छ, त्यति वेला फुट्ने गरेको छ । जति वेला पार्टी जनताका बीचमा लोकप्रिय बन्छ, त्यति वेला पार्टीको संगठनात्मक जीवनमा गम्भीर समस्या सिर्जना हुने र त्यसलाई विभाजनको तहमा पुर्‍याउने काम हुँदै आएको छ ।

विगतका यी अनुभवबाट सिकेका पाठलाई आधार बनाएर पार्टीलाई कसरी सवल, सुदृढ र अझ सशक्त बनाउन सकिन्छ भनेर अधिवेशनमा छलफलको मुख्य एजेण्डा बनाएर आज एमाले कहाँ छ भन्ने प्रश्नको आँखीझ्यालबाट यतिबेला नेता कार्यकर्ताले एमालेका समस्याको मसिनो गरी पहिचान गर्न जरुरी छ । हिजोभन्दा पार्टीमा नेता कार्यकर्ता बढेका छन्, सदस्य संख्या र मतदाता पनि बढेका छन् अर्थात समग्रमा आज एमाले ठूलो बनेको छ । तर, अर्को अँध्यारो पाटो पनि छ । एमालेभित्र समस्या पनि बढेका छन् । हिजोको आदर्श र बलिदानी भावनामा स्खलन आएको छ, नेता कार्यकर्ताका स्वार्थ र आकांक्षा बढेका छन् । यही धरातलीय यथार्थमा उभिएर जबजको मार्गदर्शनमा पछिल्ला अनुभव समेतका आधारमा पार्टीको संगठनात्मक जीवनलाई पुनः व्यवस्थित गर्नु आवश्यक छ । जुन पार्टी महासचिवको नेतृत्वमा तीव्र गतिका साथ अगाडि बढिरहेको पनि छ ।

हिजोको राणा शासन, राजतन्त्रलाई बिदा गरी हामीले रोजेको र खोजेको व्यवस्था ल्याइसक्यौं । तर, अवस्थामा गुणात्मक परिर्वतन भइरहेको छैन । नेपालको जनआन्दोलन २०४६ र २०६२/६३ को मुख्य मर्म भनेकै शासन सञ्चालनलाई विधिसम्मत बनाउन भूमिका निर्वाह गर्नुपर्ने अहं जिम्मेवारी थियो । तर, उपयुक्त नेतृत्वको अभावमा २०४६ मा जस्तै यसपटक पनि त्यो मौका गुमेको महसुस हुन थालेको छ । सत्ताको लागि जे पनि गर्ने, लेनदेनको र सौदाबाजीको राजनीतिका कारणले नयाँ र क्षेत्रीय पार्टीहरु उठ्न खोजिरहेका छन् ।

पार्टीलाई नयाँ उचाइमा लैजान पार्टीलाई नयाँ भावद्वारबाट बगाउन आवश्यक छ । जसका लागि नयाँ कार्यशैली, नयाँ ढंगबाट जनतासँग जोड्ने योजना, अब भनेर होइन गरेर देखाउने मौलिक नैतिक शक्ति भएको नेतृत्व चाहिएको छ ।

यस्तो वेलामा अब पार्टीलाई नयाँ उचाइमा लैजान पार्टीलाई नयाँ भावद्वारबाट बगाउन आवश्यक छ । जसका लागि नयाँ कार्यशैली, नयाँ ढंगबाट जनतासँग जोड्ने योजना, अब भनेर होइन गरेर देखाउने मौलिक नैतिक शक्ति भएको नेतृत्व चाहिएको छ । नेतृत्वलाई जनतासँग जोडिन लायक बनाउन, जनतासँग संवाद गर्न सक्ने, देशको राजनीतिमा के भइरहेको छ, त्यो थाहा पाउन सक्ने, सरकार, मतदाता र संगठनसँग जोड्ने वैकल्पिक योजना, नयाँ संकल्प, नयाँ जोस, नयाँ परिकल्पना गर्न सक्ने नेतृत्व हुनुपर्छ अर्थात युगअनुसारको नेतृत्व चाहिएको छ ।

अब जनताको जनजीविका र जीवनयापनलाई सम्मानित बनाउन सक्ने, सामाजिक र आर्थिक व्यवस्थापनसहित सुशासन ल्याउन सक्ने, युवा र आर्थिक एजेण्डासँग काम गर्नसक्ने नेतृत्व आवश्यक छ । अन्यथा सामाजिक स्थिरता, लोकतन्त्र र राष्ट्रकै अस्तित्व खतरामा पर्नसक्ने गम्भीर अवस्था छ । नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको संख्या कुल जनसंख्याको ३८.८५ प्रतिशत रहेको छ । गुणात्मक र संख्यात्मक दुवै दृष्टिले युवाहरु राष्ट्रको मेरुदण्ड भएकाले उनीहरूको क्षमतामा राष्ट्रले खासै ध्यान दिन सकेको छैन । अहिलेसम्म राज्यले आर्थिक समृद्धि र सुशासन स्थापनामा खासै ध्यान दिन सकेको छैन । जसका कारण आर्थिक समृद्धि र सुशासन गफ गर्ने विषयमात्रै बनेका छन् ।

हरेकजसो सरकारले सुशासन, विकास र समृद्धि कायम गर्न दत्तचित्त भएको भन्दै अनावश्यक गफ हाँक्ने गर्छन् । तर, व्यवहारमा कहिल्यै पनि सोअनुसारको कार्य गरेको देखिँदैन । आज देशमा भ्रष्टाचारको रुप गाउँदेखि सिंहदरबार पुगेको छ । देशको राष्ट्रिय संस्कृति भ्रष्टाचार भएको छ । सरकारी संयन्त्रहरुले प्रभावकारी रुपमा काम गरिरहेका छैनन् । प्रशासनिक संयन्त्र अत्यन्तै सुस्त छ । जनजीविकाका सवालहरु ओझेलमा परिरहेका छन् । जबसम्म जनजीविकाका सवालहरु ओझेलमा पर्छन् तबसम्म जनताले राज्यप्रति अपनत्व महसुस गर्न सक्दैनन् । जनताले राज्यप्रति अपनत्व महसुस गर्न नसक्ने अवस्था लामो समयसम्म रहेमा त्यसले शासकीय व्यवस्थालाई नै गम्भीर संकटतर्फ लैजाने खतरा रहनसक्छ । अहिले जनताले राज्यको अपनत्व खोजिरहेका छन् ।

जबसम्म जनजीविकाका सवालहरु ओझेलमा पर्छन् तबसम्म जनताले राज्यप्रति अपनत्व महसुस गर्न सक्दैनन् । जनताले राज्यप्रति अपनत्व महसुस गर्न नसक्ने अवस्था लामो समयसम्म रहेमा त्यसले शासकीय व्यवस्थालाई नै गम्भीर संकटतर्फ लैजाने खतरा रहनसक्छ ।

मानिसका आधारभूत आवश्यकतामा गाँस, बास, कपासमात्रै होइन, अब त्यससँगै स्वास्थ्य, शिक्षा, सुरक्षा र प्रविधिको सहज प्रयोग गर्न खोजिरहेका छन् । जनता अहिले सबैभन्दा बढी प्रताडित र पीडित हुनुपरेको शिक्षा र स्वास्थ्यभित्रका बेथितिका कारण हो । स्वास्थ्य र शिक्षामा व्याप्त बेथिति र विसंगतिका कारण आमजनतामा निराशा बढ्दो छ । आज जनताका आधारभूत आवश्यकता परिपूर्ति नगरीकन एकैचोटी समाजलाई बदल्ने दिशामा जान खोज्दा खराब प्रवृत्तिका मानिसको एक किसिमको गठबन्धन छ । त्यो गठबन्धनले समाजलाई खराब र भ्रष्ट बनाउन उद्यत भइरहेको छ । त्यो समूहले जुनसुकै हर्कत र अपराध गरेर भए पनि अत्यधिक आर्थिक लाभ लिइरहेको छ ।

आर्थिककै कारण त्यो समूह हाबी छ । इमानदारहरुको समूह खराब समूहको अगाडि निरीह जस्तै देखिने गरेको छ । अहिलेको राजनीतिमा सबैभन्दा ठूलो समस्या के हो भने उनीहरु लगानीकर्तामा परिणत भए उनीहरु नै अस्पताल, विद्यालय, उद्योग, हाइड्रोपावर, बैंक, होटल चलाइरहेका छन् । आफ्नो पेशालाई बढी लाभ दिनेगरी नीति नियम बनाउन तल्लीन छन् । त्यतिमात्र होइन उनीहरुलाई नै नेतृत्वमा ल्याउने होड सबै दलमा प्रवेश गरेको छ । जसले गर्दा राजनीतिलाई दूषित बनाइँदैछ ।

राणा शासनको अन्त्यका वेला होस् वा प्रजातन्त्रको पुनःस्थापनापछिका लोकतन्त्र, गणतन्त्र प्राप्तिका आन्दोलनताका नेतृत्व गर्नेहरु परिर्वतनको सुरुवातमा त वडो क्रान्तिकारी देखिए । तर, समय बित्दै जाँदा अधिकांश नेतृत्वमा नैतिकता र क्षमता लोप हुँदै गएको छ । यत्रो युगान्तकारी परिर्वतन गरेर आएको राजनीतिक नेतृत्वले सामाजिक परिर्वतनलाई बुझ्न सकेन । सबै कुराको निर्धारण राजनीतिले मात्र गर्छ भन्ने अहंकारले सामाजिकतालाई लथालिंग बनाइदिएको छ । अर्को कुरा नेतृत्वले सामाजिक मुद्दाका माग पनि गर्न सकेको छैन । हिजो आफूले सृजना गरेका समाजका विभिन्न मागहरुलाई आज सम्बोधन गर्न सकिरहेका छैनन् । नेतृत्व गर्नेले आफैंले बनाएको नियम कानूनमा बस्नुपर्छ, चाहे त्यो मुलुकको संविधान, कानून वा नीतिनियमहरु हुन् या पार्टीको विधान र विधि नै किन नहोस् । यो नियम त अरुलाई बनाएको हो, मलाई लाग्दैन भन्नु नेतृत्वको सबैभन्दा ठूलो कमजोरी हो ।

अहिलेको यो सारा परिर्वतन जनताले लडेर ल्याएको होइन, मैले दिलाएको हो भन्ने सामन्ती मान्यताबाट ग्रसित छ नेताहरु । लोकतन्त्रमा नेतृत्व सामूहिक हुन्छ भन्ने सोच लुप्त भएका कारण अहिले राजनीति बडो जाली र आडम्बरी बनेको छ ।

अहिलेको यो सारा परिर्वतन जनताले लडेर ल्याएको होइन, मैले दिलाएको हो भन्ने सामन्ती मान्यताबाट ग्रसित छ नेताहरु । लोकतन्त्रमा नेतृत्व सामूहिक हुन्छ भन्ने सोच लुप्त भएका कारण अहिले राजनीति बडो जाली र आडम्बरी बनेको छ । किनभने राजनीतिले भनेका कुराहरु गर्न छाडेको छ । सत्ता र शक्तिको दम्भले अरुका कुरा सुन्नै नसक्ने भएको छ । राजनीति गर्नु भनेको निकै ठूलो त्याग गर्नु हो । राजनीति रोज्नु भनेको व्यक्तिगत हितको साटो सार्वजनिक लाभका लागि काम गर्नु हो भन्ने मान्यता हराएको छ । अहिले राजनीति लाभ लिने र भ्रष्टाचार गर्ने अवसरका रुपमा विकास भइरहेको छ । सिद्धान्तभन्दा व्यक्ति केन्द्रित राजनीति मौलाएको छ । वर्ग संघर्षभन्दा धन थुपार्ने कर्मलाई प्राथमिकता दिने राजनीति अगाडि बढेको छ । राजनीतिको यो नकारात्मक कोर्ष परिर्वतन गर्न सक्ने सिद्धान्तनिष्ठ नेतृत्व अबको आवश्यकता हो ।

सामाजिक मुद्दाहरुको उठान गर्न सक्ने, सामाजिक परिवर्तनलाई आत्मसात गर्न सक्ने र वर्तमान अवस्थामा जनतालाई डेलिभरी दिन सक्ने नेतृत्व क्षमताको भरोसायोग्य व्यक्तित्व चाहिएको छ । जसको छनोट प्रदेश अधिवेशनका प्रतिनिधिहरूले गर्न सक्नेछन् । जनता जहिले पनि इतिहासको भारी बोकेर अगाडि बढ्दैनन्, यसलाई बिसाएर नयाँ इतिहास निर्माण गर्न अगाडि जान खोज्दैछन् । एउटाको विरुद्ध अर्कोलाई लडाउने नेतृत्व अब असफल भइसकेको छ । अब गुट-उपगुट, खण्ड, विखण्डन बन्द गर्नुपर्छ । सबैलाई समान देख्न सक्ने युवा दिमाग र ऊर्जा भएकाहरुको नेतृत्व सबै प्रदेशमा अगाडि आउन जरुरी छ ।

(लेखक गौतम नेकपा एमाले लुम्बिनी प्रदेश संगठन कमिटी सदस्य हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *