नेपाली बलरमाथि बर्बर हमला गर्दा बाबर-इफ्तिकारले बनाए यस्ता रेकर्ड
काठमाडौं । विश्व नम्बर १ एक दिवसीय टीमको हैकम देखाउँदै पाकिस्तानले नेपालविरुद्ध विशाल स्कोर खडा गरेको छ । ३३ ओभरसम्म प्रतिस्पर्धात्मक रहेको इनिङ त्यसपछिको १७ ओभरमा एकपक्षीय बन्यो ।
नेपालले पाकिस्तानका दुवै ओपनरलाई सस्तैमा पेभिलियन फर्काएर आशाको झिल्को देखाएको थियो । त्यसपछि पनि नेपाली बलरहरुले पाकिस्तानी ब्याट्सम्यानलाई निरन्तर दबामा राखिरहेका थिए । तर, खेलको उत्तरार्द्धमा नेपालले लय गुमायो । पाकिस्तानी कप्तान बाबर आजम र इफ्तिकार अहमदले पछिल्ला ओभरहरुमा निर्दयी आक्रमण गरे । उनीहरुले अन्तिम १० ओभरमा १२९ रन जोड्न सफल भए ।
बाबर र इफ्तिकारबीच दोहोरो शतकीय साझेदारी भएको छ । पाकिस्तानले १३८ रनमा चौंथो विकेट गुमाएपछि इफ्तिकार बाबरलाई साथ दिन क्रिजमा आएका थिए । उनले सुरुबाटै आक्रामक अन्दाजमा खेले ।
बाबर र इफ्तिकार दुवैले व्यक्तिगत शतक पनि बनाए । बाबरले बनाएको १५१ रन उनको करिअरकै दोस्रो ठूलो व्यक्तिगत स्कोर हो । एसिया कपको पनि दोस्रो सर्वाधिक हो । एसिया कपमा सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान विराट कोहलीको नाममा छ । उनले पाकिस्तानविरुद्ध १८३ रन बनाएका थिए ।
होमग्राउन्डमा सर्वाधिक ठूलो स्कोर बनाउने पाकिस्तानी ब्याट्सम्यानको रेकर्ड पनि बाबरले आफ्नो नाममा बनाएका छन् । साथै पाकिस्तानमा भएका एक दिवसीयमा सर्वाधिक रन बनाउने दोस्रो ब्याट्सम्यान पनि भएका छन् उनी । यसअघि वेस्ट इन्डिजका भिभियन रिचार्डसले सन् १९८७ को विश्वकपमा श्रीलंकाविरुद्ध १८१ रन बनाएका थिए ।
इफ्तिकारले भने एक दिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक हानेका छन् । बाबरको भन्दा इफ्तिकारको इनिङ नेपालका लागि घातक थियो । उनले केवल ७१ बलमा १०९ रन बनाए ।
एसिया कपमा कम बलमा शतक हान्ने ब्याट्सम्यानको सूचीमा इफ्तिकार पाँचौं बनेका छन् । उनले ६७ बलमा शतक पूरा गरेका थिए । सर्वाधिक छिटो शतकको कीर्तिमान शाहिद अफ्रिदीको नाममा छ । उनले सन् २०१० मा बंगलादेशविरुद्ध ५३ बलमा शतक पूरा गरेका थिए ।
बाबर र इफ्तिकारबीच भएको दोहोरो शतकको साझेदारी पाकिस्तानमा कुनै पनि एक दिवसीयमा भएको सर्वाधिक ठूलो साझेदारी हो । पाकिस्तानले पाँचौं विकेटका लागि गरेको सबैभन्दा लामो साझेदारी पनि हो ।