सरकारी विद्यार्थी संगठनलाई बालुवाटार बोलाएर गरिएको उधारो सहमति नमान्ने अखिल अध्यक्ष बडालको घोषणा
काठमाडौं । सरकारी विद्यार्थी संगठनलाई बालुवाटार बोलाएर गरिएको उधारो सहमति नमान्ने अनेरास्ववियुका अध्यक्ष समिक बडालले घोषणा गरेका छन् । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा गरेको शुल्क वृद्धिबारे बालुवाटारमा गरिएकाे उधाराे सहमति मान्य नहुने उनले बताए ।
‘शुल्क वृद्धि फिर्ता नभएसम्म आन्दोलन सरकारवादी संगठनलाई अनसनको नाटक मञ्चन गराएर बालुवाटारमा गरिएको उधारो सहमति अनेरास्ववियुलाई मान्य हुँदैन । जबसम्म आईओईले शुल्क फिर्ताको निर्णय गर्दैन भोलिबाट त्रिवि पदाधिकारीहरुलाई कार्यकक्षमा निषेध गरिनेछ । आन्दोलन जारी छ’, अध्यक्ष बडालले बताए ।
यसअघि आजै सत्ता गठबन्धन आवद्ध विद्यार्थी संघहरुसँग सहमति भएको थियो । उनीहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा र शिक्षाध्यक्ष शिवलाल भुसालसँग पाँचबुँदे सहमति गरेका हुन् ।