पाकिस्तानसँग फराकिलो हार- रणनीतिमा चुकेको नेपाल
काठमाडौं । एसिया कपको उदघटन म्याचमा विश्व नम्बर १ वरीयताको साख राख्दै आयोजक पाकिस्तानले १५ औं नम्बरको नेपालमाथि २३८ रनको दवदवापूर्ण जित हासिल गर्यो । म्याचको नतिजा अनपेक्षित होइन, तर नेपाली समर्थकले आफ्नो टीमबाट योभन्दा राम्रो प्रदर्शनको चाहना राखेका थिए ।
पहिलोपटक एसिया कप खेलिरहेको नेपालले सुरूवात भने आशालाग्दो गरेको थियो । १० ओभरको पावरप्ले सकिँदा ६.१ ओभरमा २५ रन मात्रै दिएर पाकिस्तानका दुवै ओपनरलाई पेभिलियन फर्काउनु चानचुने कुरा थिए । पाकिस्तानका ओपनरद्वय इमाम उल हक र फकार जमान अहिले विश्व एकदिवसीय वरियताको टप ५ मा छन् । फकारलाई करण केसीले क्याचआउट गराएका थिए भने एकपटक जीवनदान पाएका इमाम रोहित शर्माको सटिक थ्रोमा रनआउट भए ।
दुवै ओपनर गुमाएपछि पाकिस्तान केही दबाबमा आयो । कप्तान बाबर आजम र मोहम्मद रिजवानको जोडीले नेपाली बलरहरूलाई सम्मान दिएर खेले । रिजवानले केही आक्रमक सटहरू प्रहार गरे । उनीहरूबीचको साझेदारी मजबुत बन्दै थियो, तर रिजवानलालाई पनि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट रनआउट गरेपछि पाकिस्तान फेरि ब्याकफुटमा आयो ।
पाचौं नम्बरमा आएका सलमान आघालाई सन्दीप लामिछानेले हन्ट गरे । पाकिस्तानले २७.५ ओभरमा चौंथो विकेट गुमाउन पुग्यो, जतिबेला स्कोर बोर्डमा १२४ रन मात्र चढेको थियो । त्यसबेलाको स्थिति हेर्दा पाकिस्तानले ३०० को स्कोर छुन सक्ला जस्तो देखिएको थिएन । तर, नेपालको खराब फिल्डिङ र बलिङ परिवर्तनमा भएका गल्तिहरूको फाइदा उठाउँदै पाकिस्तानले पछिल्ला ओभरहरूमा नेपालमाथ कडा हमला गर्यो ।
उत्कृष्ट थ्रोमा दुई रनआउटको सफलताबाहेक नेपालको फिल्डिङ हिजो बिर्सनलायक भयो । खासगरी बाउन्ड्री नजिक धेरैवटा रोक्न सकिने बलहरू फिल्डरले छुटाउन पुगे । तर, योभन्दा धेरै महत्वपूर्ण चाहीँ कप्तान बाबर आजमलाई दिइएको जीवनदान थियो ।
७४ बलमा ५५ रन बनाएर खेलिरहेका बाबरलाई करण केसीले आफ्नै बलमा क्याचआउट गर्ने मौका पाएका थिए । उनले स्टम्पलाई ताकेर फ्याकेको फुल लेन्थ बललाई बाबरले ड्राइभ गर्ने क्रममा सीधै करणको हातमा पुगेको थियो बल । तर, करणले क्याच गर्न सकेनन् । उनको औलाको टुप्पामा छोएर बल भूईंमा खस्यो । क्याट सहज अवश्य थिएन, तर असम्भव पनि होइन । यो क्याच करणले यदि लिएको भए म्याच फरक दिशामा मोडिन पनि सक्थ्यो । यसर्थ म्याचको सबैभन्दा ठूलो टर्निङ प्वाइन्ट सायद यही नै थियो ।
३३ ओभरसम्म प्रतिस्पर्धात्मकरूपमा चलिरहेको खेल त्यसपछि भने एकपक्षीय बन्यो । जीवनदान पाएका बाबरले पछिल्ला ओभरहरूमा नेपाली बलरहरूको धुलाइ गरे । अर्को इन्डबाट पनि नेपाललाई कुनै राहत थिएन । इफ्तिकार अहमदले झनै विष्फोटक इनिङ खेल्दै ६७ बलमै सतक पूरा गरे ।
बाबर र इफ्तिकारको आक्रमणमा परेपछि नेपाली कप्तान ‘क्लु लेस’ देखिए । उनले बलरहरूको सही परिचालन पनि गर्न सकेनन् । डेथ ओभरमा रन रोक्न नसक्ने कमजोरी नेपालले पछिल्ला धेरै खेलहरूमा देखाइरहेको छ । खासगरि फास्ट बलरहरू करण र सोमपालले सुरूवात राम्रो गरेपछि उत्तरार्धमा एकदमै धेरै रन खाने गरेका छन् । हिजो पनि यही भयो । सोमपाल नराम्ररी चुटिए । अन्तिम ओभरमा बाबरको सहित दुई विकेट लिए पनि त्यसबेलासम्म नेपालको हातबाट खेल फुस्किसकेको थियो ।
दोस्रो इनिङमा ब्याटिङ गर्न आउँदा नेपाल रणनीतिकरूपमा चुक्यो । नेपालले सकारात्मक सुरूवात गर्न खोजेको थियो । त्यो ठीक पनि हो । तर, १.४ ओभरमा तीन विकेट गुम्यो, त्यसपछि नेपालले आफ्नो रणनीति बदल्नुपर्थ्यो । ५० ओभर पुरा खेल्ने नेपालको लक्ष्य हुनुपर्थ्यो । यसले दुईवटा फाइदा हुने थियो नेपाललाई । पहिलो, नेपालका ब्याट्सम्यानले पाकिस्तानी बलरहरूको बल धेरै फेस गर्न पाउने थिए । दोस्रो, हारको अन्तर कम हुन सक्थ्यो ।
मुल्तानको पीच ब्याटिङमैत्री हो । हिजो पनि पिचले ब्याट्सम्यानलाई कुनै असहयोग गरेको थिएन । सोमपाल कामी र आरिफ शेखले सहजरूपमा नै पाकिस्तानी बलरहरूको सामना गरिरहेका थिए । उनीहरूबीच ५ भन्दा माथिको रनरेटमा ५९ रनको साझेदारी हुनुले पनि प्रष्ट हुन्छ कि धैर्यतापूर्वक खेलेको भए नेपालले २५० को आँकडा छुन सक्ने थियो । यसले नेपालको आत्मविश्वासमा निकै ठूलो मद्दत गथ्र्यो । तर, नेपालका ब्याट्सम्यानले क्रिजमा टिक्नेभन्दा सटहरू खेल्नेमा बढी रुचि देखाए । जसले गर्दा नेपाल न्यून स्कोरमा समेटिन पुग्यो ।
दीपेन्द्रसिंह ऐरी र कुशल मल्लजस्ता ब्याट्सम्यानलाई ७-८ नम्बरमा खेलाउनु अर्को ठूलो रणनीतिक त्रुटि हो । उनीहरू दुवै नेपालका म्याच विनर हुन् । तर, हिजो उनीहरू क्रिजमा आउँदासम्म खेल नेपालको हातबाट फुत्किसकेको थियो । ९० रनमा ६ विकेट गुमाइसकेपछि बल्ल कुशल मल्ल क्रिजमा आएका थिए । त्यस्तोमा उनले गर्न के नै सक्थे । एउटा छक्का हाने । अर्को हान्ने चक्करमा आउट भए ।
ब्याटिङमा सही स्थान नपाइरहेका दीपेन्द्रलाई बलिङमा पनि कप्तानले ‘अन्डर युज’ गरे । उनलाई ६ ओभर मात्रै बलिङ गराइयो । पछिल्ला खेलहरूमा कप्तान पौडेलले दीपेन्द्रलाई पर्याप्त बलिङ गर्न दिइरहेका छैनन् ।
पाकिस्तानसितको खेल नेपालका लागि प्रतिष्ठाको विषय थिएन । तर, एउटा सुनौलो अवसर थियो, विश्व क्रिकेट जगतको ध्यान आफूतर्फ आकर्षित गर्ने । यदि नेपालले पाकिस्तानलाई कडा टक्कर दिएको भए वा कुनै खेलाडीले व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गरेको भए त्यसले समग्र देशको हौसला र इज्जत बढ्ने थियो । त्यो अवसर गुमेको छ । यद्यपि, भारतसँगको म्याच बाँकी नै छ ।