‘ह्यासट्याग माया’ का निर्देशकको बयान- नायिकाको सुझावमा ५ लाख खर्चेर तान्त्रिक पूजा गराएँ – Nepal Press

‘ह्यासट्याग माया’ का निर्देशकको बयान- नायिकाको सुझावमा ५ लाख खर्चेर तान्त्रिक पूजा गराएँ

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठलाई लक्षित गर्दै चलचित्र ‘ह्यासट्याग माया’ का निर्देशक राजीव गुरुङले स्पष्टीकरण दिएका छन । उनले फेसबुकमा लामो स्टाटस लेख्दै नायिकाको सुझावमा ५ लाख खर्चेर तान्त्रिक पूजा गरेको बताएका छन् । ‘ह्यासट्याग माया’ आफ्नो र आमाको समेत ड्रिम प्रोजेक्ट रहेकोले केही विशेष रहेको गुरुङले लेखेका छन् ।

उनले लेखेका छन, ‘सन् २००६ मा सिटि युनिभर्सिटी अफ न्युयोर्कबाट फिल्म डाइरेक्सनमा मास्टर्स गरेर नेपाल फर्किएँ । नेपाली चलचित्रको गुणस्तर उकास्न एउटा मौलिक चलचित्र बनाउने सपना थियो त्यसै अनुरुप ‘ह्यासट्याग माया’ को परिकल्पना भयो र यो चलचित्रसँग मेरो आमाको पनि सपना जोडिएको थियो ’

चलचित्र उत्कृष्ट बनाउन विगत ३ वर्षदेखि आफूले हरसम्भव प्रयास गरेको र आफ्नो सपनालाई कमजोरी ठानेको उनको भनाइ छ ।

‘३ वर्षदेखि यो चलचित्र निर्माणका दौरान मैले मुख्य कलाकारले राखेका हरेक डिमाण्ड पूरा गरे । नायिकाकै अनुरोधमा पाटन झम्सिखेल हुँदै बूढानीलकण्ठसम्म घर भाडामा लिएर त्यहाँको सम्पूर्ण खर्च आफैँ व्यहोरेँ,’ उनी लेख्छन,‘ क्यारेक्टरमा बस्नका लागि छुट्टै एकान्तमा घर आवश्यक पर्छ भनेपछि मैले ४५ दिनका घरको व्यवस्था गरिदिए । तर मलाई के थाहा उहाँहरूको मनसाय जति सक्दो फिल्मको समय लम्बाउने र त्यही घरमा बसिरहने रहेछ ।’

रकम बुजाईसकेर फाइनल गरिसकेको चलचित्रको स्क्रिप्ट पनि छायांकनको दौरान चित्त नबुजेपछि कलाकारकै मन्जुरीमा बारम्बार सुटिङ स्थगित भएको उनको भनाइ छ ।

‘म कुनै पनि रुढीवादी परम्परामा विश्वास गर्ने मानिस होइन । तर जति प्रयास गर्दापनि फिल्म अघि नबढेपछि नायिकाले मेरो ग्रह खराब चलेको भन्दै तान्त्रिकसँग पूजा गराउने सुझाव दिईन् । ग्रहदशा तान्त्रिकले हल गरिदिन्छ भनेर मलाई बारम्बार भनियो । अन्तत: ५ लाखको पुजा गराइयो । आवश्यक परे त्यसको प्रमाण पनि मसँग सुरक्षित छ,’ उनले भनेका छन् ।

सधैं महिला ठीक र पुरुष बेठीक नहुने उनको आशय छ ।

‘सुटिङ युनिट बसेको घरको अनुसन्धान हुनुपर्छ भनेर हाम्रै पहलमा प्रहरीले घर सिलका साथै केही शंकास्पद वस्तु लिएर गएको छ । यसअघि नै त्यहाँ बाट केही सामान ओसारिएको हामीले जानकारी पाएका थियौं,’उनी थप्छन,’ घटनाको वास्तविकता जस्ताको तस्तै बाहिर आउनुपर्छ र सारुकले न्याय पाउनुपर्छ । बारम्बार अनेक बहाना झिकेर फिल्मलाई अघि बढ्न किन दिइएन भन्ने प्रश्नको जवाफ म पनि खोजिरहेको छु । मेरो सपना, लगानी र मिहिनेत सारुकको जीवनको अघि केही होइन त्यसैले सारुकले न्याय पाउनुपर्छ ।’

‘सारुकको आमाले उनको मनमा उब्जिएको प्रश्नको जवाफ पाउन पर्छ । अनुसन्धान गरिरहेको प्रहरीको अनुसन्धानले के भन्छ त्यो पनि सार्वजनिक हुन पर्छ । सत्यको जीत होस् । कानूनको न्यायभन्दा माथि ईश्वरको न्याय हुन्छ र सत्य एकदिन उजागर हुने नै छ भन्नेमा म पूर्ण विश्वस्त छु,’ गुरुङले लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *