जनै पूर्णिमामा किन खाइन्छ ‘क्वाति’ ? – Nepal Press

जनै पूर्णिमामा किन खाइन्छ ‘क्वाति’ ?

डोटी । श्रावण शुक्ल पूर्णिमा (जनै पूर्णीमा) का दिन हिन्दू तागाधारीहरुले वैदिक विधिपूर्वक आफ्नो यज्ञोपबित् (जनै) फेर्ने चलन छ । सोही दिन तागाधारीहरुले ऋषिको सम्झना गर्दै जलाशय तथा धारामा गई माटो, गोबर, कुश, खरानी अपमार्गले स्नान गरी विशेष मन्त्रबाट मन्त्रिएको डोरो बाँधी रक्षाबन्धन पनि गरिन्छ ।

यस दिन बाँधिएको डोरो कात्तिक कृष्ण आमावश्य (गाई तिहार)को दिन गाईको पुच्छरमा बाँध्ने चलन छ । यसो गरे मृत्युपछि बैतरणी पार भइन्छ भन्ने जनविश्वास छ ।

जनै पूर्णिमामा खानाको विशेष परिकारको रुपमा ‘क्वाति’ लाई लिने गरिन्छ । खासगरी शहरी क्षेत्रमा बसोबास गर्नेहरुले क्वातिलाई विशेष परिकारको रुपमा लिने गर्छन् । खासगरी नेवाः समुदायमा क्वाति खाने प्रचलन बढी छ । त्यसैले नेवाः समुदाय यस पूर्णिमालाई ‘क्वाति पुन्ही’ पनि भन्छन् । यस समुदायमा पूर्णिमापिच्छे फरक फरक खाद्यान्नका परिकार बनाएर खाने चलन छ ।

परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाति खाने प्रचलन छ । जनै पूर्णिमाको दिन क्वातिलाई प्रसादको रुपमा छरछिमेकमा बाँड्ने चलन पनि छ ।

‘क्वाति’ नेपालभाषाको शब्द हो । जसमा ‘क्वा’ भनेको तातो र ‘ति’ भनेका झोल हो । नौथरि गेडागुडीको तात्तो झोल खाने भएकाले यसलाई ‘क्वाति’ भनिएको हो ।

‘क्वाति’ पकाउन जनै पूर्णिमाभन्दा चार दिनअघि चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ, बकुलालगायत नौ प्रकारका गेडागुडी मिसाएर भिजाइन्छ । जुन पूर्णिमामा पकाउनुअघिसम्म टुसा उम्रिसक्छ । टुसा उम्रिएको गेडागुडी पकाएर बनाइने ‘क्वाति’ विशेष प्रकारको परम्परागत एवं मौलिक नेपाली खानाको परिकार हो । शक्ति र स्वाद दुवै मिल्ने भएकाले पनि ‘क्वाति’को विशेष महत्व छ ।

धार्मिक मान्यताअनुसार प्रत्येक श्रावण शुक्ल पूर्णिमा अर्थात् जनै पूर्णिमाको दिन ‘क्वाति’ खाने चलन छ । जुन चलन कृषि पेशासँग सम्बन्धित छ ।

नेपाल कृषिप्रधान मुलुक भएकाले वर्षायाममा खेतीपातीको कामले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन ‘क्वाति’ खाने गरिन्छ । ‘क्वाति’ खाने संस्कृतिको आधुनिक जीवनसँग कुनै साइनो छैन । तर, यसका केही सामाजिक, सांस्कृतिक र वैज्ञानिक महत्व छ ।

अंकुरित गेडागुडी स्वास्थ्यका लागि उत्तम मानिन्छ । यसमा भरपुर प्रोटिन हुन्छ । साथै भिटामिन र मिनरल्स पनि पर्याप्त हुन्छ । जसले मानव शरीरलाई मौसमअनुसार आउने जाडो याम झेल्न तयार राख्छ भन्ने मान्यता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *