पुस्तकालय र पठन संस्कृति
‘एउटा उत्तम पुस्तक सयौं राम्रा साथी बराबर हुन्छ । एउटा पुस्तकालय असल साथीजत्तिकै हुन्छ ।’
यो भनाइ हो, प्रसिद्ध वैज्ञानिक एवम् भारतका पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामको । त्यस्तै ‘जुन घरमा एउटा पुस्तकालय हुन्छ, त्यो घर जीवन्त हुन्छ’ भनेका छन् दार्शनिक प्लेटोले ।
पढाइ मान्छेको जीवनमा एउटा यस्तो कुरा हो, जसले जीवन परिवर्तन गर्न सहयोग गर्छ । किताबविनाको जीवन निरर्थक हुन्छ र जीवनको महत्व हुँदैन । किताबविनाको जीवनले ढुंगे युगको स्मरण हुन्छ । समाजको अग्रगामी विकास र रुपान्तरणमा पुस्तक र पठन संस्कृतिको ठूलो भूमिका रहिआएको छ । किताब अर्थात पुस्तक/पुस्तिका, अखबार, पत्रिका, नक्सा, चार्ट, फिल्म आदि सामग्री व्यवस्थित रुपमा उपलब्ध गराई जीवनभर नियमित शिक्षा प्रदान गर्ने शैक्षिक केन्द्रलाई पुस्तकालय भनिन्छ । नेपालमा हाल एक हजार वटा पुस्तकालय रहेका छन् । पछिल्लो समय सूचना र प्रविधिमा भएको अभूतपूर्व विकासले डिजिटल/ई-लाइब्रेरी, अनलाइन लाइब्रेरी जस्ता प्लेटफर्म उपलब्ध भएका छन् ।
वि.सं. १८६९ भदौ १५ गते राजा गीर्वाणयुद्ध विक्रम शाहले पुस्तकालयसम्बन्धी लालमोहर जारी गरेको दिनलाई आधार मानेर हरेक वर्ष भदौ १५ गते पुस्तकालय दिवस मनाइन्छ । यसपालिको १६औं पुस्तकालय दिवसको नारा ‘पुस्ताहरुका लागि पुस्तकालय’ रहेको छ । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले विभिन्न कार्यक्रम गरी हरेक वर्ष यो दिन पुस्तकालय दिवस मनाइन्छ । २०६५ साल भाद्र १५ गतेदेखि पुस्तकालय दिवस मनाउन थालिएको हो । यस वर्षको पुस्तकालय दिवसको आदर्श वाक्य समाज रुपान्तरणका लागि पुस्तकालय भन्ने थियो । धेरैलाई यो कुरा अझै थाहा छैन ।
परसंस्कृति ग्रहणको चपेटामा नेपाली समाज राम्रैसँग फसेको ज्वलन्त उदाहरण हो यो । कुनै पनि समाज वा राज्यले ज्ञान निर्माणमा कत्तिको महत्व दिएको छ भन्ने कुरा त्यहाँ उपलब्ध सार्वजनिक पुस्तकालयको अवस्थाले बताउँछ । ज्ञान आर्जनमा उत्सुकता जगाउन र प्रेरित गर्न राज्यले सार्वजनिक पुस्तकालयमा लगानी गर्नुपर्ने हुन्छ । अहिले धेरै सार्वजनिक स्थलहरु अतिक्रमित भैसकेको अवस्था छ । क्याम्पस र सामुदायिक विद्यालयका भवन एवं जग्गा व्यापारिक प्रयोजनमा प्रयोग भैरहेका छन् ।
हिन्दी सिनेमा र टेलिसिरियलका दृश्यमा देखाइने भव्य महल र बैठक कोठा र महँगा रक्सी/मदिराको सङ्कलन भएका सो-केसहरुले हमीलाई त्यतैतिर आकर्षित गरेका छन् । हाम्रा प्राथमिकतामा राम्रो भव्य गृह पुस्तकालय पर्न सकेको छैन । सुनका गहना र महँगा मोबाइल सेट किन्ने र प्रदर्शन गर्ने संस्कृति विकसित भएको छ ।
हामी सरकारले यो गरेन, त्यो भएन भनेर टिप्पणी गरिरहेका हुन्छौं । वास्तवमा समस्या हामीभित्रै छ । हिन्दी सिनेमा र टेलिसिरियलका दृश्यमा देखाइने भव्य महल र बैठक कोठा र महँगा रक्सी/मदिराको सङ्कलन भएका सो-केसहरुले हमीलाई त्यतैतिर आकर्षित गरेका छन् । हाम्रा प्राथमिकतामा राम्रो भव्य गृह पुस्तकालय पर्न सकेको छैन । सुनका गहना र महँगा मोबाइल सेट किन्ने र प्रदर्शन गर्ने संस्कृति विकसित भएको छ । फलस्वरुप उत्सुक युवा पुस्तामा पब, क्याफे र पार्टी संस्कृति मौलाउँदै गएको छ । चुरोट, हुक्का र मदिरामा लठ्ठ देखिन्छन् उनीहरु । दोष कसको ? पक्कै पनि हाम्रो संस्कार र सभ्यताको हो । पाका पुस्ताले जे गर्यो, बालबालिका र युवा पुस्ताले त्यही अनुसरण गर्छन् ।
पुस्तकालय जाने संस्कार उच्च शिक्षालयहरुमा समेत असाध्यै कम छ । विश्वविद्यालयका विद्यार्थीका लागि शोध कार्य बजारले गरिदिन्छ अचेल । थेसिसका मूल्य तोकेर पम्प्लेट पोष्टर टाँसेर प्रचारप्रसार गरेको देखिन्छ क्याम्पस वरपर । योभन्दा लाजमर्दो अवस्था के होला र ? उपभोक्तावादी संस्कृतिले हामीलाई नराम्रोसँग गाँजेको छ । कतिपय सम्भ्रान्तले सार्वजनिक पुस्तकालय उनीहरुको मात्र चासोको विषय हो भने जसरी व्यवहार गर्दा सर्वसाधारणलाई यी ज्ञानका मन्दिर प्रवेश गर्ने पहुँच छैन । आजभोलि सबैका हातहातमा स्मार्ट फोन छन् । सामाजिक सञ्जालमा समय खेर गैरहेको छ । चाहिने नचाहिने विषयले हामीलाई इन्गेज गरेका छन् । एकपटक खोजौं त विश्वका उत्कृष्ट पुस्तकालयहरु, जसरी हामी अन्य विषय खोज्न र इन्टरनेटमा विचरण गर्न अभ्यस्त भएका छौं ।
पछिल्लो समय नेपाली प्रकाशकहरुको संख्या बढेको छ । नयाँ लेखकहरुका लागि अवसर पनि छ । अन्तर्राष्ट्रिय प्रकाशकका लागि लेख्ने नेपाली लेखकहरु पनि छन् । यो सुखद कुरा हो । हुन त आजभोलि पुस्तकालय र अध्ययन/पढ्न कोठाको अवधारणा बदलिएको छ । प्रविधिको बढ्दो प्रयोगका कारण पुस्तकालयमा गएर अध्ययन गर्ने पाठकको संख्या घट्दो छ । भर्चुअल स्पेस (स्थान)को रुपमा लकडाउनको बेला थुप्रै अनलाइन प्लेटफर्महरुले किताब र पठन संस्कृतिबारे अन्तरक्रिया गरे । लेखकहरुलाई पाठकसँग जोडेर साहित्यिक र बौद्धिक गतिविधि गर्न अहिले उक्त अभ्यास परम्पराको रुपमा स्थापित भएको छ ।
एउटा राम्रो पुस्तकालयविना हाम्रो गाउँशहरको सभ्यता अधुरो हुन्छ । हाम्रो सभ्यतालाई समृद्ध बनाउन पुस्तकालयहरुको अहम् भूमिका देखिन्छ विश्वका प्रख्यात शहरको इतिहास पढ्दा । अहिले हाम्रा शहरहरुमा सार्वजनिक रुपमा भेला भएर गफ गर्ने सार्वजनिक स्थान (पब्लिक स्पेस)को अभाव छ । दुईचार जना साथी भेला भएर समसामयिक विषयमा विचार विमर्श गर्न रेस्टुराँ या क्याफेमा नै जानुपर्ने बाध्यता छ । त्यहाँ माहोल बौद्धिक विमर्श गर्ने खालको हुँदैन । ती स्थान मूलतः मनोरञ्जन र आमोदप्रमोद गर्ने स्थल हुन् । अब प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा पुस्तकालय बनाउनु पर्छ ।
आजभोलि सबैका हातहातमा स्मार्ट फोन छन् । सामाजिक सञ्जालमा समय खेर गैरहेको छ । चाहिने नचाहिने विषयले हामीलाई इन्गेज गरेका छन् । एकपटक खोजौं त विश्वका उत्कृष्ट पुस्तकालयहरु, जसरी हामी अन्य विषय खोज्न र इन्टरनेटमा विचरण गर्न अभ्यस्त भएका छौं ।
पक्कै पनि २१औं शताब्दीको पुस्तकालय प्रविधियुक्त हुन जरुरी छ । सँगसँगै त्यो स्थान सिकाइ र छलफल (डिसकोर्ष) गर्न सकिने पब्लिक स्पेस बन्न सक्नुपर्छ । खासमा इस्यु भवन वा पैसाको भन्दा पनि माइण्डसेटको हो । अब हामी सबैले सार्वजनिक निर्माण गर्न सरोकार राख्नुपर्छ । समृद्धि चौडा सडक र भव्य महलबाट मात्र आउन्न । देशका हरेक शहरमा पुस्तकालयहरु बन्नुपर्छ । पुस्तकालयमा राखिएका पुस्तकहरु पनि उपयुक्त स्याहारसम्भारको कमीले जीर्ण बनेका छन् । पुरानो बटौलीको धरोहर महावीर पुस्तकालय, पाल्पाको धवल पुस्तकालयलगायत अन्य पुस्तकालयहरुलाई नगरपालिका र प्रदेश सरकारको पहलबाट यस क्षेत्रको शैक्षिक धरोहर (एडुकेसन हेरिटेज) बनाउन सकिन्छ ।
प्राध्यापक कृष्ण खनालका अनुसार नेपालमा पुस्तकालयसम्बन्धी कानूनसमेत छैन । भीमशमशेरको समयभन्दा माथि उठ्न सकेको छैन हाम्रो पुस्तकालय संस्कृति र वैधानिक हैसियत । सरकारी अनुदान छैन । स्पष्ट कानूनी व्यवस्था छैन । पुस्तकालय फगत पुस्तकहरुको संग्रहालय होइनन् । ज्ञानको संवाद र साक्षात्कार गर्ने पवित्र स्थल हुन् । अनुसन्धानमुखी प्राज्ञिक प्रतिष्ठानका सभा र गोष्ठी सञ्चालन गर्न सकिन्छ त्यहाँ । साप्ताहिक/मासिक प्राज्ञिक प्रवचनका श्रृंखला चलाउन सकिन्छ । गत साल दर्शन पाठशालाको सहभागीको रुपमा मैले यस्तै अनुभव गरेको थिएँ । स्थान अभावका कारण पाठशाला सञ्चालन गर्न निकै कठिनाइ भयो । हरेक महिनाको अन्तिम शनिबार चल्ने साहित्य संगम र गजल सागर कार्यक्रम गर्ने साझा मञ्च नहुँदा निकै खल्लो महसुस हुन्छ । सहभागिता न्यून हुँदै गएको छ । आकर्षण घट्दै गएको छ ।
सुविधा सम्पन्न प्रविधिमैत्री हलसहितको बृहत पुस्तकालय हुने हो भने प्रदेश र स्थानीय सरकारले गोष्ठी र सेमिनारमा वर्षेनि खर्चिने लाखौं रकम पुस्तकालयकै विकासमा लगाउन सकिन्छ । महँगा होटलहरु प्राज्ञिक विमर्श गर्ने थलो कदापि होइनन् । विडम्बना अहिले बजार/पूँजीवादी संस्कारले जे कुरामा पनि नाफा देख्दा यही नै हाम्रो नियति हो कि जस्तो आभास हुन्छ ।
बुटवलबाट मैले विद्यालय तहको शिक्षा पूरा गरें । उच्च शिक्षाका लागि काठमाडौं गएपछि बल्ल पुस्तकालय जान सिकें । विद्यालय तहदेखि उच्च शिक्षा अध्ययन गर्ने आमविद्यार्थीलाई बुटवलका सार्वजनिक पुस्तकालयबारे अत्यन्त कम थाहा छ । सबै विद्यालयहरुले कमसेकम एक पटक हरेक विद्यार्थीलाई सार्वजनिक पुस्तकालय अवलोकन गर्ने व्यवस्था गर्न सके कति राम्रो हुन्थ्यो ! बालबालिकामा देखासिकी गर्ने गुण हुन्छ । हामीले देखाउने मार्गदर्शनले उनीहरुको चेतनास्तर फराकिलो बन्छ । परीक्षामुखी रटन्ते शिक्षाबाट गुणात्मक परिवर्तन हुन्न । शैक्षिक केन्द्रको रुपमा राष्ट्रव्यापी पहिचान बनाएको रुपन्देहीमा गौरव गर्न लायक पुस्तकालय नहुनु दुःखद कुरा हो ।
अहिले हाम्रा शहरहरुमा सार्वजनिक रुपमा भेला भएर गफ गर्ने सार्वजनिक स्थान (पब्लिक स्पेस)को अभाव छ । दुईचार जना साथी भेला भएर समसामयिक विषयमा विचार विमर्श गर्न रेस्टुराँ या क्याफेमा नै जानुपर्ने बाध्यता छ । त्यहाँ माहोल बौद्धिक विमर्श गर्ने खालको हुँदैन । ती स्थान मूलतः मनोरञ्जन र आमोदप्रमोद गर्ने स्थल हुन् ।
इतिहासलाई फर्केर हेर्दा पुस्तकालयले क्रान्तिको चेत निर्माण गर्न अहम् भूमिका निर्वाह गरेको पाइन्छ । सामाजिक र शैक्षिक जागरणका सूत्रधार हो पुस्तकालय । नेपालमा राजनीतिक परिवर्तनको विगुल पुस्तकालयबाट नै फुकिएको थियो । मकै पर्व, लाइब्रेरी पर्व जस्ता घटना हामीलाई थाहै छ । जसले नेपालीहरुमा चेतनाको बिजारोपण गरेको थियो । खास गरेर २००७ सालको राजनीतिक परिवर्तन र त्यसपछि भएका हरेकजसो जनआन्दोलनमा पुस्तकालयको महत्वपूर्ण योगदान थियो ।
पुस्तकालय, वाचनालयहरु आधुनिक समयका शैक्षिक प्रतिष्ठान, टोल, छिमेक, बस्ती, समुदायका अभिन्न अंग हुनुपर्छ । तबमात्र चेतनशील समाज निर्माण हुन्छ । यिनीहरु पठन संस्कृतिका आधारस्तम्भ हुन् । अझ विश्वविद्यालय, स्कुल र कलेजहरुका लागि त पुस्तकालय अनिवार्य संरचना हुन् । अब हरेक अभिभावकले आफ्ना नानीबाबुहरुका लागि विद्यालय छनोट गर्दा पुस्तकालय छ छैन, चासो राख्नुपर्छ । मार्बल टायल बिच्छ्याइएका वातानुकूलित आधुनिक भव्य भवनमात्र हेरेर हुन्न ।
प्रख्यात नेत्ररोग विशेषज्ञ सन्दुक रुइत दार्जिलिङको सेन्ट रोबर्ट्स ब्रिटिश मिसनरी स्कुलमा सन् १९३० तिर पढ्दाको संस्मरणमा भन्छन्- लामो बिदामा उनी घर जान पाउथेनन् । स्कुलमा ७-८ वर्षको बालक एक्लै बस्दा स्कुलको पुस्तकालय उनलाई संसार हेर्ने एउटा ढोका जस्तै भयो । अकस्मात पाएको सम्पत्ति जस्तो उक्त पुस्तकालयमा उनी लगातार हप्तौं बिताउँथे । ढोका बन्द गरेर घण्टौंसम्म संसारको नक्सा ध्यानपूर्वक हेर्थे । मार्को पोलो जस्ता महान खोजकर्ताहरुका मनै मुग्ध हुने कथा पढ्थे ।
पुस्तकालयको उपयोग गर्ने बानी विद्यार्थी जीवनबाटै थालनी गर्नुपर्छ । स्नुकर, पुल हाउस, भिडियो गेम खेल्ने ठाउँभन्दा पुस्तकालय किशोर पुस्ताका लागि उपयोगी हुन्छन् । गेम खेल्न प्रयोग हुने मोबाइल र आइप्याड पनि पुस्तक पढ्न प्रयोग गर्न सकिन्छ । प्रविधिको सृजनात्मक प्रयोग गर्न नयाँ पुस्तालाई प्रेरित गरौं । अनिमात्र पठन संस्कृतिको विकास हुन्छ । पुस्तकालयको औचित्य र ज्ञानबाट हुने लाभका विषयमा चर्चा गरौं । पठन संस्कृतिको जगेर्ना गर्दै यसको प्रवर्द्धन गरौं । ज्ञानका भोका जिज्ञासु सबै पुस्तकप्रेमीहरुमा पुस्तकालय दिवसको शुभकामना !