पारसको विजयमा ज्ञानेन्द्रको खुशी


काठमाडौं । नेपाली क्रिकेटका दुई लिजेन्ड पारस खड्का र ज्ञानेन्द्र मल्लको आपसी सम्बन्धबारे सबैलाई थाहै छ । उनीहरु दुःखसुखका सहयात्री पनि हुन् ।
पारसले राष्ट्रिय टीमबाट सन्न्यास लिएपछि ज्ञानेन्द्र मल्ल कप्तान बनेका थिए । तर, उनको कप्तानी पारसको जस्तो लामो समय टिकेन । केही दिनअघि ज्ञानेन्द्रले पनि राष्ट्रिय टीमबाट सन्न्यास घोषणा गरेका छन् ।
पारसले जुन दिन सन्न्यास लिएका थिए, तीन वर्षपछि त्यही दिन पारेर ज्ञानेन्द्रले सन्न्यास लिए । सन्न्यासको घोषणा गर्न आयोजित पत्रकार सम्मेलन सकिएपछि पारस उनलाई भेट्न पुगेका थिए । पारस आउँदा ज्ञानेन्द्रको अनुहार उज्यालिएको थियो ।
नेपाल क्रिकेट संघ (क्यान) को बाग्मती प्रदेश अध्यक्षमा पारस खड्का विजयी भएका छन् । आज भएको चुनावबाट उनले प्रदेशको नेतृत्व पाएका हुन् । पारसको यो खुशीको क्षणमा ज्ञानेन्द्र कसरी छुट्न सक्थे । उनी पारसको समर्थनमा अधिवेशनमा भाग लिन आएका थिए । यद्यपि, ज्ञानेन्द्र मतदाता भने थिएनन् ।
पारसको जीतपछि ज्ञानेन्द्रको अनुहारमा पनि मुस्कान देखियो । उनले पारसलाई बधाई दिएर फोटो खिचाए ।