कोरोनाकालका करोडौंका उपकरण : छैन कुनै प्रयोग
रुपन्देही । सरकारले कोराना महामारीको समयमा उपकरण खरिदमा गरी जनशक्ति व्यवस्थापनमा चासो नदिँदा करोडौं मूल्यका उपकरण थन्काएर राख्नुपरेको छ । यी उपकरण प्रयोगबिहीन हुँदा उसैगरी बिग्रने चिन्ता पनि बढेको छ ।
लुम्बिनी प्रदेशका अधिकांश अस्पतालमा दक्ष जनशक्ति नहुँदा कोरोना महामारीका बेला खरिद गरिएका स्वास्थ्य उपकरण अहिले त्यत्तिकै थन्किएका छन् । कोरोनाका बेला लुम्बिनी प्रदेश सरकारले राहतमा ३० करोड, उपकरणमा ३० करोड र अन्यमा १० करोड गरी ७० करोड रूपैयाँ खर्च गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
यो बाहेक संघीय सरकार, स्थानीय सरकार तथा अन्य विभिन्न दातृ निकायबाट पनि धेरै सहयोग भए तर त्यसको एकिन तथ्यांक समेटिएको छैन । स्वास्थ्य मन्त्रालय अन्तर्गत सबै क्षेत्र प्रदेश मातहत नआएकाले पनि यस्तो अवस्था आएको हो ।
रुपन्देही, दाङ, गुल्मी, अर्घाखाँची, बाँके, प्युठान, रोल्पा,रुकुमलगाएतका जिल्लामा कोरोनाको समयमा खरिद गरेका सवै उपकरण प्रयोगमा आउन सकेका छैनन् ।
बढ्दो महामारीमा सबैतिरको दवावमा गुल्मी जिल्लामा पिसिआर चेकजाँच गर्ने भन्दै ल्याव स्थापना गरियो । तत्कालीन परराष्ट्रमन्त्री तथा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पीसीआर मेशिनको जोहो गरिदिएर १ असोज २०७७ मा प्रयोगशाला उद्घाटन भयो । जिल्लामा असोजबाटै नियमित परीक्षण शुरू भयो ।
०७८ सालमा कोभिडको दोस्रो लहरसँगै परीक्षणका लागि एन्टिजेन आएपछि प्रयोगशाला बेकामे बन्यो । अहिले प्रयोगशाला भएको भवनमा रेसुंगा नगरपालिका वडा नं. ९ को वडा कार्यालय बसेको छ । दोस्रो तलामा वडा कार्यालय रहेपनि पहिलो तालामा ल्यावका सामानहरु ताला लगाएर राखिएको छ ।
वडा नं. ९ का वडा अध्यक्ष कृष्णप्रसाद पाण्डे अहिले दोस्रो तलामा वडा कार्यालय सञ्चालन गरिएको र पहिलो तलाबाट भएका सामानहरु अन्यत्र लगे कार्यालय सञ्चालन गर्न थप सहज हुने बताए । प्रयोगशाला निर्माणदेखि पिसिआर मेसिन खरिदमा एक करोड रुपैयाँ खर्च भएपनि अहिले प्रयोगशाला प्रयोगमा छैन ।
अस्पतालका व्यवस्थापक असिम चौधरीले अहिले प्रयोगशालासहित २ वटा भेन्टिलेटर पनि प्रयोगमा नआएको बताए । अस्पतालमा जनशक्ति नहुँदा एक वर्षदेखि दुईवटा भेन्टिलेटरसहितको पाँच बेडको आईसीयू अलपत्र छ ।
दाङको बेलझुण्डीस्थित कोभिड– १९ अस्थायी अस्पतालमा ल्याइएका स्वास्थ्य उपकरण पनि सबै प्रयोगमा आएका छैनन् । ९ वटा भेन्टिलेटरमध्ये केही भेन्टिलेटर अहिले पनि बेलझुण्डीमै राखिएका छन् ।
१५ वटा आईसीयू शैया राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएर राखिएको छ । त्यसबाहेक एक्सरे मेसिन पनि प्रयोगमा आउनसकेको छैन । उक्त मेसिन बेलझुण्डीमै छ । अस्पतालका स्टोर किपर रेश्मी अधिकारीले अहिले पनि अधिकांश उपकरण अस्थायी अस्पतालमै राखिएको बताए ।
‘हामीले उपकरण बेलझुण्डीको आयुर्वेद अस्पतालमा दिने वा राप्तीमा आउने हो भन्ने बारेमा मन्त्रालयबाट टुंगो लगाउन भनेका छाैं । केही उपकरण कोरोनाको समयमा बेलझुण्डीमै दिने भनेर मुख्यमन्त्रीले भन्नुभएको रहेछ । त्यसैले पनि उपकरण त्यहि छन् । केही मात्र यहाँ आएका छन्’ उनले भने ।
प्रयोगमा नआएका उपकरण १ करोड बराबरका छन् । बेलझुण्डी कोभिड अस्पताल ०७९ मंसिरबाट बन्द गरिएको छ । प्रदेशको गौरवको आयोजनाभित्र समावेश गरिएको प्रादेशिक अस्पताल राप्तीमा थप जनशक्ति पठाएर भएपनि सवै उपकरण प्रयोगमा ल्याउने तयारी सरकारको छ । अहिले प्रदेशका स्वास्थ्य मन्त्री पनि दाङकै राजु खनाल रहेका छन् ।
रोल्पा जिल्ला अस्पतालमा अहिले पनि २ वटा भेन्टिलेटर प्रयोगमा आउन नसक्दा अस्पतालमै थन्किएका छन् । अस्पतालका प्रमुख डा. सवु काफ्लेले त्यसका लागि भवन अभाव र विशेषज्ञ नहुँदा भेन्टिलेटर सञ्चालन गर्न नसकिएको बताइन् । अहिले जिल्ला अस्पतालमा नयाँ २ तले भवन निर्माणको अन्तिम चरणमा रहेकाले भवन हस्तान्तरण हुन साथ कोभिडको समयमा खरिद भएका उपकरणहरु प्रयोगमा ल्याउन सहज हुने उनको भनाइ छ ।
उनले भनिन् ‘आईसियू बेड पनि एउटा कुनामा थन्काएर राख्नुपरेको छ, अब विशेषज्ञ नभएपनि हामी आफूहरु तालिम गरेर भएपनि उपकरण चलाउने योजनामा पुगेका छौं ।’
यसअघिको सरकारले सबै स्थानीय तहमा १५ सैयाको अस्पताल संचालन गर्नेगरी कार्यक्रम नै सुरु गरेको थियो । तर ५० सैयाको जिल्ला अस्पतालमा अहिले पनि प्रयाप्त दरबन्दी र कर्मचारी छैनन् । एघारौं तहको विशेषज्ञ डाक्टरको दरबन्दी रहेको अस्पतालले अहिलेसम्म आठौं तहभन्दा माथिका डाक्टर छैनन् ।
नवौं र दशांै तहका जनरल फिजिसियन, पेडियाटिसियन, अव्सट तथा गाइनो, जनरल सर्जन, अर्थोपेडिक, एनेस्थेसियोलोजिष्ट, रेडियोलोजिष्ट, प्याथोलोजिष्ट र साइकाष्टिक गरि दश कन्सलटेन्ट डाक्टरको दरबन्दी रहेकोमा यहाँ एक जना पनि कन्सल्टेन्ट डाक्टर छैनन् । आठौं तहका ६ जना मेडिकल अधिकृतको दरबन्दी रहेको सो अस्पतालमा हाल एक जनाले सेवा दिइरहेका छन् । अस्पतालमा हाल दैनिक १५० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।
प्युठान जिल्ला अस्पतालमा पनि अहिले कोरोनाको समयमा खरिद गरेका उपकरण प्रयोगमा छैनन् । डाइलाइसिसका लागि खरिद गरिएको सिआरआरटि मेसिन अस्पतालमै यत्तिकै थन्किएर बसेको छ । अस्पताल व्यवस्थापन अधिकृत राजन घिमिरेका अनुसार कोभिडकै अवस्थामा पनि उक्त मेसिन प्रयोगमा आएन । त्यो मेसिन चलाउने जनशक्ति अस्पतालमा छैन् । उनले भने, ‘यो अन्य डाइलासिस मेसिन भन्दा फरक रहेछ । यस्तो मेसिन मृगौला प्रयारोपण केन्द्रमा मात्र रहेछ । यहाँ कसरी चलाउने हो कसैलाई थाहा छैन ।’
संघीय सरकारले खरिद गरेर पठाएको मेसिन कहिले चल्छ यसै भन्न नसकिने उनले बताए । कोभिडको समयमा ल्याइएका मोनिटर भने प्रयोगमा आएको उनको भनाइ छ । ५३ शैयाको अस्पतालमा जम्मा ५४ जनाको दरबन्दी भएपनि हाल २२ जना मात्र स्थायी कर्मचारी छन् । हाल ११८ जना कार्यरत कर्मचारी चिकित्सकमध्ये २२ जनाबाहेक सवै अरु करारका कर्मचारी हुन् ।
जिल्ला अस्पतालमा मेडिकल अफिसरको दरबन्दी भएपनि चिकित्सक छैनन् । कुनै बेला अर्थो, सर्जनको राम्रो उपचार हुने जिल्ला अस्पतालमा चिकित्सक नहुँदा अर्थो र सर्जन दुवैको उपचार हँुदैन । डेलिभरी भने जिल्ला अस्पतालमा हुने गरेको उनले बताए । अस्पतालमा दैनिक २ सय विरामी आउने गर्दछन् ।
अर्घाखाँची जिल्ला अस्पतालमा पनि अहिले कोरोनाको समयमा खरिद गरिएका २ वटा भेन्टिलेटर प्रयोगमा आउन सकेका छैनन् । एचडियूमा अन्य विरामीहरु राखेको भएपनि जनशक्ति नहुँदा भेन्टिलेटर भने यत्तिकै थन्काएर राख्नुपरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. जगनाथ तिवारीले बताए । उनका अनुसार ती सामान त्यो बेला पनि यो प्रयोगमा आएन भने अहिले पनि आएको छैन ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले कोरोनाको समयमा खरिद गरेका उपकरणहरु सञ्चालन गर्नेगरी मन्त्रालय अघि बढेको र त्यसका लागि केही अस्पतालमा दरबन्दी थप गर्ने तयारी गरेको जानकारी दिए ।स्वास्थ्य मन्त्रालय लुम्बिनीका सूचना अधिकारी अमर वलीले सबै अस्पतालहरुबाट यसरी प्रयोग हुन नसकेका उपकरणको तथ्यांक संकलन गरिएको र अब कसरी जाने भन्ने विषयमा छलफल गरी संचालनको योजना बनाउने बताए ।