सर्रे अम्बासको त्यो फुच्चे केटो म – Nepal Press
ब्लग

सर्रे अम्बासको त्यो फुच्चे केटो म

भदौ १३ गते सिराहाको सर्रे अम्बासमा मलाई देख्नासाथ धनकुटाका पाका कमरेड गोपाल गुरागाईँले सोध्नु भयो, त्यसबेला सबै भन्दापछि आउने फुच्चे–फुच्चे महाधिवेशन प्रतिनिधि तपाईँ नै हो नि हैन ? म हाँसे मात्र । उहाँको प्रश्नले मलाई ३४ वर्ष अघिको घटना एक पटक सम्झाई दियो । सुरु मै महाधिवेशन स्थल पुग्ने तर महाधिवेशन सुरु हुँदा चाहिँ सबैभन्दा ढिलो देखा पर्ने ‘केटो’म नै थिएँ ।

नेकपाको चौथो महाधिवेशन स्थल सर्रे अम्बासमा मेरो जिम्मेवारीको प्राविधिक पक्ष त्यति उत्पात केही पनि थिएन- हलको आन्तरिक साजसज्जा गर्ने र साउण्ड सिस्टमको व्यवस्था गर्ने !  त्यति बेलाको चलन अनुसार साजसज्जा भनेको सहिद र अन्तर्राष्ट्रिय ‘प्राधिकार’हरुको फोटो भित्तामा टाङ्ने, मोटिभेसनल नारा आकर्षक अक्षरमा लेखिएको राता तुलहरू र उद्घाटनको ब्यानर तयार पार्ने र उपयुक्त ढङ्गले भित्तामा टाङ्ने … बस्! साउण्ड सिस्टमको चुनौती चाहिँ बाहिर आवाज नजाने तर त्यहाँ चाहिँ प्रष्टै सुनिनु पर्ने भनिएको थियो । मलाई यी कामका अतिरिक्त पार्टी हेडक्वार्टरले महाधिवेशनको डकुमेन्ट प्रोडक्सनको जिम्मा दिएको थियो । त्यतिखेर कम्प्युटर टाइप प्रयोगमा आइसकेको थिएन– थोरै कागजमा, लामा विश्लेषण गरिएका डकुमेण्ट तयार गर्नुपर्ने चुनौती थिए । सबै तयारी पछि सूचना लिक भएको आशंकामा सिराहा कै मेथियाई गाउँमा तय गरिएको महाधिवेशन रद्द गरिएको करिब अढाई महिना पछि म फेरी त्यही काम गर्न हप्ता दिन अघि सर्रे अम्बास जाँदै थिएँ ।

महाधिवेशनस्थलको सुरक्षालाई ध्यानमा राखी त्यहाँ जाने नेता, प्रतिनिधि तथा स्वयंसेवकहरूलाई विभिन्न गौडाबाट लगिएको थियो । म चाहिँ अन्तिम स्पटबाट महाधिवेशन स्थलतिर जाँदै गर्दा भने हुनेवाला महासचिव मदन भण्डारीसँगै थिए । ३४ वर्षपछि अहिले पनि सर्रे अम्बास पुग्न राइनी खोलाले ३/३ ठाउँमा रोक्छ । त्यति बेला पैदल हिँड्न समेत खोलाले छेक्थ्यो, अहिले बाइक र पैदल यात्रीहरू झोलुङ्गे पुल हुँदै तर्ने सुगमता भएछ । तर भेल बढ्दा गाडी सहित तर्न अवरोध रहेछ । त्यो ठाउँ सञ्चार सुविधाबाट अझै  पर रहेछ। त्यसबेला हामी दुवैले महाधिवेशनका दस्ताबेज र मेरो प्राविधिक कार्यलाई आवश्यक पर्ने सामग्रीका गह्रौँ झोला बोकेका थियौँ । रातीको यस्तै १२/१ बजेको हुँदो हो । तेस्रो घुम्तीमा खोला तर्नु अघि कमरेड मदनले भन्नुभयो, ‘कुन बेला कसले कहाँ प्याक्क हानेर सिध्याउँछ, के मरिहत्ते गर्नु ? आउनुस् एक छिन थकाइ मारौँ !’ हामी दुवै आकाश हेर्दै चौरमा केही बेर निस्फिक्री पल्टियौँ । फेरी उहाँले नै सोध्नुभयो– यी डकुमेन्ट पहिले पनि ल्याउनु भएको थियो हैन र तपाईंले? यतै छोडेको हैन? मैले हो भनेँ । ‘त्यसो भए यी भारी किन बोकी रहने त ?’  उहाँको यो प्रश्नसँगै दस्ताबेज अनावश्यक रहेको ठानी सबै डकुमेन्ट बाल्यौँ । त्यसपछि हल्का झोला बोकी महाधिवेशन स्थल पुग्यौँ ।

भदौ ७ गते म त्यतिखेरे ‘टु–इन–वान’ भनिने नेशनल पानासोनिक कम्पनीको टेपरिकर्डरको माइक्रोफोनलाई लट्ठीहरू बाँधी बनाइएको ‘माइक स्ट्याण्ड’मा जोड्दै थिएँ । एक्कासि मदन कमरेड अलि आत्तिए झैँ म भए ठाउँमा आउनुभयो । सायद उहाँहरू पोलिटब्युरो बैठक बसिरहनु भएको थियो । सोध्नु भयो, पहिले ल्याएको डकुमेन्ट कहाँ छ ? मैले भनेँ, कमरेड आर (माधव नेपाल)लाई थाहा छ, उहाँलाई दिएको हो । मसिनो स्वरमा मदनले भन्नु भयो, गल्ती भयो जस्तो छ । राजनीतिक प्रतिवेदनमा संशोधन भएकोले तपाईँलाई रि–प्रोडक्सन गर्न भनिएको हो । पहिलेको त्यो त काम लाग्दैन नि ! त्यति बेला म काठमाडौं मजदुर विशेष जिल्ला संगठन कमिटीको प्रमुख (सचिव) थिएँ । मैले भनेँ, केन्द्रले गरेको करेक्सन त मैले कसरी जान्नु र कमरेड !

उहाँ फर्किनु भयो, मदन फर्किएको मिनेट भरमै ‘आग–बबुला’हुँदै माधव आउनु भयो । उहाँले चोर औँला नचाउँदै भन्नुभयो– डकुमेन्ट खै ? ल्याउनुस् । मैले भनेँ पहिलेको तपाईँलाई नै छोडेको हो, अहिलेको त डढाइयो ! ‘तपाईँ  गैर जिम्मेवार’ माधवले मेरो कडा आलोचना गर्दै सजायँ सुनाउनु भयो– पर्सी (भदौ ९ गते) महाधिवेशन सुरु हुँदा मलाई सबै डकुमेन्ट जस्ताको तस्तै चाहिन्छ, म अरु कुरा जान्दिन । मैले भनेँ– पुरानो डकुमेन्टमा परिवर्तन भएको कुरा कमरेडहरूले पनि भन्नु भएन । मैले सोध्न मिलेन । ठीक छ कमरेड, मलाई ‘राजमार्ग’सम्म पुर्‍याउने व्यवस्था होस् । आज राती नै काठमाडौं पुग्छु । सामग्रीसहित पर्सी बिहान राजमार्गमा नै हाजिर हुन्छु । त्यहाँबाट यता ल्याउने प्रबन्ध होस् ।

त्यस्तै भयो । म ७ गते राती काठमाडौं फर्किएँ । कुपण्डोलमा पार्टीका साथी कवीन्द्र अमात्यको घर छ । उहाँकै घरमा हामीले पार्टी केन्द्रको छपाइको काम गर्न हेभि–ड्युटीवाला फोटोकपी मशिन राखेका थियौँ । त्यहाँ पहिले फोटोकपी गरेको सबै दस्ताबेजको मास्टर–कपी सुरक्षित थियो । सायद त्यतिखेर सयको हाराहारीमा प्रतिनिधि हुनुहुन्थ्यो । जलाइएका सबै दस्ताबेजलाई मैले सबै प्रतिनिधिलाई पुग्ने गरी फोटोकपी गरेँ । सेन्टर स्टीच गरी किताब जस्तै बनाएँ र राती नै फर्किएँ ।

मलाई भनिएको थियो– कटारीमा ओर्लनु । ओर्लिएपछि चरा कराएको आवाज सुन्नु, जताबाट आवाज आउँछ, त्यतै जानूँ । जो व्यक्ति भेटिनु हुन्छ, उहाँसँगै पछि लाग्नु । पूर्व जाँदा हामी त्यतिखेर लालिमा यातायातको बस चढ्थ्यौँ । लालिमा यातायातले बिहान करिब ३/४ बजेतिर पुलिस पोस्टकै छेउमा झारी दियो । ठ्याक्कै स्मरण छैन, त्यो कटारी वा मिर्चैया कतै हुनुपर्छ । झोलाभरि संवेदनशील दस्ताबेज, त्यहाँको केही पनि लोकेशन नजान्ने म उभिई रहेछु, चरा कराएको आवाज आउँदै आएन । झण्डै ४५ मिनेट जति पछि चरा करायो, खुट्टा खञ्चयाङ खञ्च्याङ गर्दै कमरेड लाल (राम औतार पासवान) देखिए । मैले फुसफुसाउँदै सोधेँ– किन ढिला कमरेड ? संवेदनशील ठाउँमा यति बेरसम्म कुर्न पर्‍यो, केही भएको भए कति ठूलो क्षति हुन्थ्यो होला !

उनको आफ्नै कथा सुरु भयो- समय मै आइपुग्थेँ । बाटोमा सर्पले टोक्यो । अब गोमनले डस्यो, मरिनो भइयो भन्ने लाग्यो । बाँची पो हालिन्छ कि भनेर स्वास्थ्य चौकी खोज्ने तिर लागेँ । बाँचे भने त तपाईँलाई लिन आइहाल्थेँ । मरिने भयो भनेँ के गर्ने ? तपाईँ गर्नु होला ? कम्युनिस्ट मान्छे, मर्नै लाग्दा “राम–राम” भन्न भएन, के भन्ने होला ? आपत् पर्‍यो, बाटाभरि माओत्से तुङ, माओत्से तुङ भन्दै हिँडे ।

त्यो अप्ठ्यारो समयमा पनि लालका कुराले मलाई रोमाञ्चित गर्‍यो । सम्झेँ- हाम्रो पार्टी पङ्क्ति कसरी धार्मिक अन्धविश्वास र भौतिकवादको छिपछिपे ज्ञानबीच रुमल्लिई रहेको छ ! विडम्बना पनि कस्तो ! मरिने पो भइयो कि भन्ने चिन्ताले (सायद) स्वर्ग जान यी कमरेड जुन माओको नाम जप्दै थिए, आजैबाट सुरु हुने महाधिवेशनमा तिनै माओको विचारधारा पार्टीको मार्गदर्शक सिद्धान्तबाट हट्दै थियो !

विष्णुपुरवा गाउँ पुग्दा झिसमिसे उज्यालो भयो । गाउँलेहरू हातमा लोटा लिएर बाटो छेउमा मलमूत्र त्याग्न लामबद्ध हुन थालिसकेका थिए । हामीलाई उज्यालोमा हिँड्ने अनुमति थिएन । उता ९ गते महाधिवेशन सुरु हुनु अघि दस्ताबेज पुग्नै पर्ने ! कमरेड लालले मलाई एउटा सेल्टरमा राखे । मैले पार्टीलाई आफू आइपुगेको र महाधिवेशन स्थलमा आउने अनुमतिको लागि पत्र लेखेँ । मलाई त्यो सेल्टरबाट सर्रे अम्बास कति पर छ, त्यो पनि थाहा थिएन । दिउसो त्यस्तै ४ बजेतिर होला म महाधिवेशन स्थल पुगेँ । त्यतिखेर महाधिवेशन सुरु भइसकेको रहेछ । जीवराज आश्रित मैले लौरो बाँधेर बनाएको माइक स्ट्याण्ड अघि उभिएर उद्घोषण गर्दै हुनुहुँदो रहेछ । मलाई देख्नासाथ कमरेड काठमाडौंबाट भरखर आइपुग्नु भयो भन्नुभयो । त्यो जीवन्त र ऐतिहासिक महत्वको महाधिवेशनमा अन्ततः म पनि  सहभागी हुन सकेँ । गोपाल गुरागाईँ कमरेडले त्यही सन्दर्भलाई स्मरण गर्दा मलाई एकै छिन महाधिवेशनको त्यो क्षणको नियाँस्रो लाग्यो । यदि आज मदन जीवित हुनुभएको भए यस्तो भावना आइहाल्दो रहेछ । यदि चौथौँ महाधिवेशनले कोर्स करेक्सन नगरेको भए सँगसँगै यो पनि आइहाल्दो रहेछ ।

अहिले सम्झन्छु, २०४६ सालको चौथो महाधिवेशनदेखि २०७८ सालको दशौं महाधिवेशनसम्म ‘व्यवस्थापन’ भन्ने विषयले मलाई छोडेको छैन, भलै भूमिका फरक फरक किन नहोस् । सर्रे अम्बासमा नेकपा स्थापनाको हिरक स्तम्भ निर्माणको शिलान्यास भदौ १३ गते भयो । त्यस स्मारक निर्माणको समन्वय अहिले पनि मेरो जिम्मामा परेको छ । पार्टीमा लाग्दा जिम्मा पाउँदा जो पनि दङ्ग पर्छन् । ऐतिहासिक महत्वको जिम्मा पाउँदा म पनि किन दङ्ग नपरौँ  ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *