चन्द्रागिरीमा प्रचण्डले भाषण गर्दागर्दै जब जनार्दनले फोनमा ‘अर्जेन्ट बात’ गराए (भिडिओ) – Nepal Press

चन्द्रागिरीमा प्रचण्डले भाषण गर्दागर्दै जब जनार्दनले फोनमा ‘अर्जेन्ट बात’ गराए (भिडिओ)

‘प्रधानमन्त्रीबाट हटाए भने करोडौं जनता सडकमा उतारौंला भनेको थिएँ तर परिस्थितिले पाँचै वर्ष बनाउला जस्तो छ’

काठमाडौं । जनतासँग माओवादी अभियान अन्तर्गत हरेक नेता एउटा वडामा जानुपर्ने निर्णय अनुसार शनिबार माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काठमाडौंको चन्द्रागिरी नगरपालिका २ मा पुगे ।

कार्यक्रम सन्चालक सिन्धुपाल्चोक १ का सांसद माधव सापकोटा थिए भने बागमती इन्चार्ज जनार्दन शर्मा फोनमा यता उता कुरा गरिरहेका बेला प्रचण्ड भाषण गर्दै थिए । यत्तिकैमा जनार्दनले आफ्नो मोबाइल फोन प्रधानमन्त्रीलाई दिए ।

भाषण गरिरहेका प्रधानमन्त्रीलाई जनार्दनले आयोजना प्रमुख फोनमा छन् भन्दै दिएपछि प्रचण्डले ‘हेलो नविनजी’ भन्दै कुरा गर्न थाले । प्रधानमन्त्रीले भाषण रोकेर फोनमा कुरा गरे पनि भाषणसरह दर्शकले सुनरहेका थिए ।

उनले आफू चन्द्रागिरी नगरपालिका वडा नम्बर २ मा आएको र यहाँका जनताले सुरुङमार्गबाट पीडित भएको गुनासो गरेको भन्दै एक साताभित्र समस्या समाधानको उपायसहित आफूलाई रिपोर्ट दिन फोनबाटै निर्देशन दिए ।

उनले भने– यो वडा सुरुङमार्गबाट सबैभन्दा प्रभावित रहेछ । यहाँ सुरुङ खन्दाको आवाजले घरहरु चर्किएको कुरा आएको छ । खानेपानीका मुहान सुकेकोलगायत धेरै समस्या रहेछन् । तपाईले एक साताभित्र समस्या समाधानका उपाय र राहतको कुरासहित मलाई भेट्नुस् अरु कुरा भेटमा गरौंला ।

खासमा स्थानीय कार्यकर्ताले नौबिसे नागढुंगा सुरुङमार्गको कारण भएको समस्याबारे सुनाएका रहेछन् । जनार्दन शर्माले प्रधानमन्त्रीले बोल्दा बोल्दै आयोजना प्रमुख नविनमान श्रेष्ठसँग कुरा गराएका रहेछन् ।

प्रधानमन्त्री प्रचण्डले यसपटक आफू जनताको काम गर्न प्रधानमन्त्री भएको भन्दै कसैले हटाउन प्रयास गरेमा करोडौं जनता सडकमा उतारेर प्रतिवाद गर्ने योजना बनाएको समेत सुनाए । तर परिस्थितिले पाँचै वर्ष प्रधानमन्त्री बन्ने सम्भावना बढेको समेत उनले बताए ।


प्रतिक्रिया

5 thoughts on “चन्द्रागिरीमा प्रचण्डले भाषण गर्दागर्दै जब जनार्दनले फोनमा ‘अर्जेन्ट बात’ गराए (भिडिओ)

  1. उपयोगितावादको नाटक प्रम प्रचण्डको टेलिफोन सम्वाद!
    यो शिर्षकमा मैले लेख लेख्दैछु।
    सुरूङ मार्गबाट प्रभावित जनतालाई मूर्ख बनाउन प्रचण्डले पार्टीको सभाबाट नै परियोजना प्रमुखलाई फोन गर्ने वातारण मिलाए। जुन उनले प्रमका रूपमा सम्बन्धित मन्त्रीलाई भन्नुपर्थ्यो। यो खालको राजनीतिले जनता भ्रमित भएर अराजक बन्न सक्नेछन्।

  2. एक हप्ता होइन अबको दशकसम्म पनि प्रचण्डले गर्दैनन । यी सब प्रचण्डका नौटंकी मात्र हुन् ।

    1. त्यो फोन ठेकदार कै हो भन्ने आधार ? अलि परतिरबाट आफ्नै कर्यकर्तापनि बोलेको हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर