जनशक्ति अभावका बाबजुद ट्राउटको उत्पादन र अध्ययनमा मत्स्य अनुसन्धान केन्द्र
काठमाडौं । मत्स्य अनुसन्धान केन्द्र, त्रिशूलीमा जनशक्तिको अभावले कामकाज प्रभावित भएको छ । यद्यपि यहाँका कर्मचारी निरन्तर अनुसन्धानमा लागेका छन् । चिसो पानीमा हुने स्थानीय वा बाह्य जातिको माछाको नविनतम प्रविधि विकास गर्ने मत्स्य अनुसन्धान केन्द्रले प्रति वर्ष ५० हजार ट्राउटको भुरा र १ लाख ५० हजार कमन कार्पको भुरा उत्पादन गर्दै आइरहेको छ ।
२४ जनाको दरबन्दी रहेको यस केन्द्रमा अहिले १० जनामात्र कार्यरत छन् । केन्द्रमा प्राविधिक सहयोगी र सहायकको अभाव रहेको कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिका उपाध्याय बताउँछन् ।
केन्द्रले विशेषगरी टिलापिया, कमन कार्प, ट्राउट माछा, कोहि कार्प र स्थानीय जातको माछाहरुको प्रजनन, दाना व्यवस्थापनमा काम गर्छ । २०२७ सालमा लाङटाङ ट्राउट ह्याचरीको नामले स्थापना गरिएको यस अनुसन्धान केन्द्र कुल क्षेत्रफल ८ हेक्टर भएपनि ५.५ हेक्टरमा मात्रै अनुसन्धान गतिविधि हुने गरेको छ ।
केन्द्रका अनुसार ट्राउट माछाको शारीरिक वृद्धि अध्ययन गर्दा अनुवंशिक सुधार गरिएको ट्राउटको वृद्धि दर बढी पाइएको छ । यस किसिमका माछाहरु प्रति दिन ०.०८ ग्राम बढ्ने गरेको छ । अनुवंशिक सुधार गरिएको ट्राउट माछाको बाँच्ने दर पनि अन्य किसिमका ट्राउटको भन्दा बढी ९६१.६ प्रतिशत छ ।
त्यस्तै, उत्पादन लागत कम गर्नको लागि दानाको लागि प्रयोग हुने सिद्रा र भटमासको सट्टामा रेशम कीराको प्युपाद्वारा १२.५ प्रतिशत बराबर अनुपातमा प्रतिस्थापन गर्दा समान शारीरिक वृद्धि भएको केन्द्रले जनाएको छ । बर्खा मौसममा धानबालीमा माछापालनको लागि भुराको अत्यधिक माग हुने गरेकाले माछाको बेमौसमी भुरा उत्पादन गरी सेवा प्रदान गरिरहेको छ । प्रमुख उपाध्यायका अनुसार स्थानीय असला माछाको नश्ल दर्ता गर्ने काममा पनि केन्द्र लागेको छ ।
केन्द्रले त्रिशूली नदी क्षेत्रमा पर्ने तीनवटा जिल्ला रसुवा, नुवाकोट र धादिङमा जलगुणस्तर र मत्स्य विविधताको अध्ययन गरिरहेको छ । जहाँ सर्वेक्षणको क्रममा संकलित माछाका प्रजितिहरुको मत्स्य संग्रहालय स्थापना गरिएको छ । केन्द्रबाट गरिएका अनुसन्धानको नतिजाबाट किसानहरु लाभान्वित भएको धादिङका किसान शंकर तामाङ्ग बताउँछन् ।
ट्राउट माछाको भुरा नेपालभर नै वितरण हुने गरेको छ भने, कमान कार्पको खासगरी बागमती प्रदेशका धादिंग, नुवाकोट र काठमाण्डौ जिल्लामा वितरण हुने गरेको छ । किसानहरु लाभान्वित गर्नको लागि भुरा उत्पादन बढाउन पर्ने र सो कार्यको लागि केन्द्र लागिपरेको केन्द्रका प्रमुख इश्वोरी सिंह महतो बताउँछन् ।
प्रमुख महतो भन्छन, ‘कर्मचारीको अभावलाई कम गर्न इन्टर्न विद्यार्थी राख्ने गरिएको छ । बीएससी र एमएससीका थेसिस गर्ने विद्यार्थीलाई पनि राख्ने गर्छौं ।’
त्रिशूली खोलाको बलौटे माटोले गर्दा ट्राउट माछाको भुराहरू मर्ने गरेकोले निकै नै सावधानी अपनाएर काम गर्नुपर्ने प्राविधिक अधिकृत गुनबहादुर गुरुङ्ग बताउँछन् । ट्राउट माछाको सफल उत्पादन सफा पानीमा हुने भएकाले सो खालको संरचना निर्माणमा, गुणस्तरीय भुरा उत्पादन, कम लागतमा बन्न सक्ने रेस्वे, अनसन्धान पोखरी सुधार जस्ता काममा केन्द्र लागिरहेको गुरुङले बताए ।