कांग्रेस ‘रुपान्तरण अभियान’ले घोषणा गर्‍यो १६५ निर्वाचन क्षेत्र पुग्ने कार्यक्रम – Nepal Press

कांग्रेस ‘रुपान्तरण अभियान’ले घोषणा गर्‍यो १६५ निर्वाचन क्षेत्र पुग्ने कार्यक्रम

काठमाडौं । नेपाली कांग्रेस रुपान्तरण अभियानले दुई महिने कार्यक्रमको घोषणा गरेको छ । रुपान्तरण अभियानले भदौ २४ गते बीपी जन्म जयन्तीदेखि कात्तिक २४ गते लौह पुरुष गणेशमान जन्म जयन्तीसम्म दुई महिने रुपान्तरण अभियान कार्यक्रम घोषणा गरेको हो ।

रुपान्तरण अभियानको अगुवाइ गरिरहेका नेता गुरुराज घिमिरेले दुई महिनामा १६५ निर्वाचन क्षेत्र पुग्ने बताए । उनका अनुसार अभियान भदौ २४ गते काभ्रे २ बाट सुरुहुनेछ ।

साउन पहिलो साता बसेको पार्टी केन्द्रीय समितिको बैठकले भदौ १० देखि २४ सम्म सञ्चालन गर्ने भनिएको अभियान स्थगित गरेपछि रुपान्तरण अभियानले आफ्नो अभियान अघि सारेको हो ।

कांग्रेसको भदौ ५ गते बसेको पदाधिकारी बैठकले वर्षा र पार्टीका सांसदहरूको कार्यव्यस्ततालाई देखाउँदै अनिश्चितकालका लागि अभियान रोकेको थियो ।

उनले भने, ‘यसअघि हामीले ७ प्रदेशमा गरेका थियौं । जिल्लाभन्दा ७७ वटामात्रै कार्यक्रम हुने भएपछि हामीले निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रम गर्न लागेका हौं ।’

उनले हरेक निर्वाचन क्षेत्रमा पार्टीका संरचनाहरुले नै कार्यक्रम गर्ने बताए । घिमिरेले थपे, ‘हामी रुपान्तरण अभियानका साथीहरु पुग्छौं । त्यहाँका पार्टी संरचनाले नै कार्यक्रम गर्छ । पार्टीमा रुपान्तरण किन, कुन कुन क्षेत्र र विषयमा रुपान्तरण भन्नेबारे छलफल हुन्छ ।’

अभियानका क्रममा पार्टीको आन्तरिक अवस्था, मुलुकको राजनीतिक अवस्था, कांग्रेससहित सबै दलहरुको सम्बन्धित क्षेत्रको अवस्था, तीनै तहका सरकारले गरिरहेका कामको बारेमा बृहत छलफल हुने उनले सुनाए ।

रुपान्तरण अभियानसँग पार्टीले संस्थागत रुपमा छलफल गर्न चाहे कुरा हुने उल्लेख गर्दै उनले नत्र आफूहरु आफ्नै ढंगले कार्यक्रममा लाग्ने बताए ।

नेता घिमिरेले भने, ‘हामीले यसअघिको अभियानको डिटेल रिपोर्ट पार्टीलाई बुझाइरहेका छौं । पार्टीले चासो राखेर रुपान्तरण अभियानमा कुराकानी गर्न खोज्यो भने समन्वय हुन्छ । हामीले पार्टी पदाधिकारीसहित एक तहका नेताहरुसँग कुरा गरिरहेका छौं ।’

उनले पार्टीमा इतर पक्षको नेतृत्व गरिरहेका शेखर कोइरालासहित केही केन्द्रीय सदस्यहरुसँग आफूहरुको निरन्तर छलफल भइरहेको बताए ।

आफूहरुको कार्यक्रम पूर्वनिर्धारित भएको बताए । घिमिरेले थपे, ‘हामीले यसअघि पनि भनेका थियौं । हाम्रो कार्यक्रम पूर्वनिर्धारित नै हो । केन्द्रीय समितिको बैठक पनि कुरेका हौं । त्यसपछि बाढीपहिरोको कारणले केही रोकियो । त्यसैले भदौ २४ को विशेष दिन पारेर अभियान थाल्दैछौं । यो अभियानलाई सफल बनाइसकेपछि महासमितिको बैठकको तयारीमा लाग्छौं ।’

यसअघि पनि यथास्थितिमा पार्टी चल्न नसक्ने भन्दै देशव्यापी रूपान्तरण अभियान चलाएका थिए । कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेलगायत युवा नेताहरूले देशव्यापी अभियान चलाएका थिए ।

रुपान्तरण अभियानले यथास्थितिमा चलिरहे पार्टीले आगामी दिनमा पनि चुनौतीको सामना गर्न नसक्ने निष्कर्ष निकालेर पार्टी सभापति देउवासहित सबै पदाधिकारीहरुलाई केन्द्रीय समितिको बैठकअघि नै प्रतिवेदन बुझाएको थियो । तर, सभापति देउवाले रुपान्तरण अभियानको प्रतिवेदन बुझ्नसमेत अस्वीकार गरेका थिए ।


प्रतिक्रिया

One thought on “कांग्रेस ‘रुपान्तरण अभियान’ले घोषणा गर्‍यो १६५ निर्वाचन क्षेत्र पुग्ने कार्यक्रम

  1. पार्टी रुपान्तरण के काे लागि ? यदि ब्याक्ति फेर्ने मै सिमित हाे भने नेका काे स्थिति झन खस्किने छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर