पूर्णीमायाले भीम उपाध्यायलाई दिइन् माफी, मुुद्दा फिर्ता लिन लिखित सहमति


काठमाडौं । नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय र चितवन भरतपुर महानगरपालिका–१६ की पूर्णीमाया गुरुङबीच सहमति भएको छ ।
पूर्वसचिव उपाध्यायले गुरुङको फोटोसहित सामाजिक सञ्जाल फेसबुकमा गोरुको मासु खाने भनेर राखेको पोष्टबारे माफी मागी आगामी दिनमा यस्तो क्रियाकलाप नदोहोर्याउने प्रतिवद्धता व्यक्त गरेसँगै विवाद सुल्झिएको हो ।
आज काठमाडौंमा भीम उपाध्यायसँग सहमति भएपछि गुरुङ उपाध्यायविरुद्ध दिएको उजुरी पनि फिर्ता लिने भएकी छन् । काठमाडौंको तमु छोज धीँ, गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय कार्यालयमा उपाध्यायले माफी मागेपछि उनले सहमति पत्रमा हस्ताक्षर गरेकी थिइन् ।
तमु हयुल छोज धी गुरुङ राष्ट्रिय परिषद चितवनको संयोजनमा तमु हयुल छोज धी गुरुङ राष्ट्रिय परिषद केन्द्रीय समिति र तमु प्ये ल्हुँ संघ चितवनका पदाधिकारीहरुको रोहबरमा उनीहरुबीच सहमति भएको हो ।
उनीहरुबीच भविष्यमा यस्ता किमिसका विषयलाई एकअर्कामा कुनै पनि आरोप प्रत्यारोप नगर्ने एक अर्काबीचको सहमतिमा उल्लेख छ ।
‘मसँग भीम उपाध्यायले गल्ती भयो माफी पाउँ, अबदेखि यस्तो गर्दिन भनेर माफी माग्नुभयो’, पूर्णमायाले नेपाल प्रेससँग कुराकानी गर्दै भनिन्, ‘अब सामाजिक सञ्जालमा यस्ता पोष्ट नगर्ने सर्तमा मैले पनि माफी दिएँ ।’
उनले भोलि काठमाडौंबाट चितवन फर्किएर जिल्ला प्रहरी कार्यालय चितवनमा दिएको साइबर अपराधको उजुरी फिर्ता लिने पनि जानकारी दिइन् ।
धरानमा गोरु काटेर मासु भएको भिडिओ सामाजिक सञ्जालमा राखेपछि पूर्वसचिव उपाध्यायले पूर्णीमायाको तस्बिर राखेर पोस्ट गरेपछि विवाद चुलिएको थियो ।