अमेरिकी सिनेटर र ओलीबीच भेटः एमसीसी र शान्ति प्रक्रियाबारे चासो – Nepal Press

अमेरिकी सिनेटर र ओलीबीच भेटः एमसीसी र शान्ति प्रक्रियाबारे चासो

काठमाडौं । अमेरिकी सिनेटर क्रिस भान होलेन र नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच शिष्टाचार भेट भएको छ ।

आइतबार सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा ओली र होलेनबीच शिष्टाचार भेट भएको हो । नेपाल भ्रमणमा रहेका होलेनले अध्यक्ष ओलीसँगको भेटमा शान्ति प्रक्रियाको बाँकी कामबारे चासो व्यक्त गरेका थिए ।

भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले संसदीय दलका उपनेता एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भेटमा दुई देशबीचको सम्बन्धका बारेमा कुराकानी भएको बताए ।

उनले सिनेटरले नेपालको शान्ति प्रक्रियाको बारेमा जिज्ञासा राखेकोे र अध्यक्ष ओलीले आफू सरकारमा रहँदा नै शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन पहल गरेको र अहिले पनि अन्तर्राष्ट्रिय प्रतिवद्धता, सर्वोच्च अदालतको फैसला, शान्ति प्रक्रिया पीडितमैत्री हुनेगरी टुंगोमा पुग्नुपर्छ भन्नेकुरालाई ध्यानमा राखेर अघि बढ्ने बताएको जानकारी दिए ।

उपाध्यक्ष नेम्वाङले भेटमा सिनेटरले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) एमसीसी नेपालले अनुमोदन गरेर कार्यान्वयन गर्न शुरु गरेकोमा खुशी लागेको बताएको जानकारी गराए । अमेरिकाले सम्झौता कार्यान्वयन गर्न शुरु भएकोमा अमेरिका सकारात्मक रहेको बताएको नेम्वाङले भने ।

होलेन गत शुक्रवार नेपाल आएका थिए । होलेन अमेरिकी संसदको विदेश सम्बन्ध समिति र राज्य तथा विदेश सञ्चालन विनियोजन उपसमितिका सदस्य छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *