कर्मचारीलाई करिब १० अर्ब बोनस बाँड्दै बैंकहरू, नबिल र ग्लोबल आईएमईकालाई धेरै – Nepal Press

कर्मचारीलाई करिब १० अर्ब बोनस बाँड्दै बैंकहरू, नबिल र ग्लोबल आईएमईकालाई धेरै

कुन बैंकले कति दिने ?

काठमाडौ । बैंकको जागिरलाई निकै आकर्षक र सुरक्षित मानिन्छ । उनीहरूले पाउने लाभांशले पनि बैंकको जागिरलाई उत्तिकै आकर्षक बनाएको छ । नेपालमा बैंक तथा वित्तीय संस्थालाई ‘क’ वर्ग (वाणिज्य बैंकहरू), ‘ख’ वर्ग (विकास बैंकहरू), ‘ग’ वर्ग (फाइनान्स कम्पनी) र ‘घ’ वर्ग (लघुवित्त वित्तीय संस्था) गरी चार भागमा वर्गीकरण गरेको छ । यसमध्ये पनि चुक्ता पुँजीका आधारमा ठूला बैंक मानिने वाणिज्य बैंकमा अझ बढी कर्मचारीको आकर्षण छ । अन्य वर्गका वित्तीय संस्थामा जागिर खाइरहेका कर्मचारीलाई पनि वाणिज्य बैंकतर्फ सिफ्ट हुने लहर र रहर नै छ ।

कुनै बेला नेपालमा ३२ वटासम्म वाणिज्य बैंक रहेकोमा मर्ज भएर २० मा झरेको छ । ती २० बैंकले गत आर्थिक वर्ष (२०७९/८०) को नाफाबाट आफ्ना कर्मचारीलाई ९ अर्ब ४ करोड ९१ लाख रूपैयाँ लाभांश छुट्याएको छ ।

यसरी बोनस दिनेमा सबैभन्दा अगाडि आएको छ नबिल बैंक । यस बैंकले आफ्ना कर्मचारीका लागि १ अर्ब १९ करोड ८० लाख रूपैयाँ छुट्याएको छ । नबिल गत वर्ष नाफा कमाउने बैंकहरूमा सबैभन्दा अग्रस्थानमा छ । यस कारण पनि यसले दिने बोनस सबैभन्दा बढी देखिन्छ । स्मरण रहोस् नबिलले नेपाल बंगलादेश बैंकलाई गाभेको थियो ।

यस्तै अर्को वाणिज्य बैंकमा ग्लोबल आईएमई बैंक रहेको छ । पछिल्लो पटक बैंक अफ काठमाण्डुलाई गाभेको ग्लोबल आईएमईले कर्मचारीका लागि १ अर्ब १२ करोड २० लाख रूपैयाँ बोनस छुट्याएको छ ।

सबैभन्दा बढी बैंक तथा वित्तीय संस्था आफूमा समाहित गरेको ग्लोबल आईएमई नाफाका आधारमा पनि दोस्रो स्थानमा थियो भने कर्मचारीलाई बढी बोनस दिनेमा पनि दोस्रो स्थानमा देखिएको छ ।
ग्लोबल आईएमईले गत वर्ष ७ अर्ब २५ करोड ३४ लाख ५५ हजार नाफा कमाएको थियो ।

मेगा बैंकले गाभेर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने कर्मचारीका लागि बोनस छुट्याएको देखिदैन । नेपाल राष्ट्र बैंकको तथ्यांकमा इन्भेष्टमेन्ट मेगा बैंक बाहेक सबै बाणिज्य बैंकले आफ्नो क्षमता अनुसार कर्मचारीलाई बोनस रकम छुट्याएको देखिन्छ ।

सबैभन्दा कम बोनस बाड्नेमा सरकारी स्वामित्वको नेपाल बैंक देखिएको छ । यस बैंकले २३ करोड ६० लाख रुपैयाँ बोनस छुट्याएको छ । यस्तै कृषि विकास बैंकको पनि अन्य बैंकको तुलनामा कम बोनस रहेको छ ।

बैंकहरूले घोषणा गरेको बोनस साधारणसभाले पारित गरेपछि अधिकांश बैंकहरूले वितरण गर्नेछन् भने केहीले आर्थिक वर्षको अन्त्यपछि दिनेछन् । यस्तै केहीले चाडबाड लक्षित (दशैँ तिहार) गरी बोनस वितरण गर्नेछन् ।

विकास बैंकले ८२ करोड बोनस दिने

ख वर्गका विकास बैंकहरूले पनि ८२ करोड रूपैयाँ बोनस वितरण गर्दैछन् । १२ वटा विकास बैंकले बोनस दिनेछन् भने ५ वटा विकास बैंकले भने कर्मचारीको हात खाली गर्दैछन् । विकास बैंकहरूमा सबैभन्दा राम्रो बोनस मुक्तिनाथ विकास बैंकले दिनेछ । यसले वाणिज्य बैंकहरूकै हाराहारीमा बोनस वितरण गर्दैछ । यसले २१ करोड ६० लाख रूपैयाँ बोनस कर्मचारीका लागि छुट्याएको छ । यस्तै गरिमा विकास बैंकले पनि १९ करोड ३० लाख रूपैयाँ बोनस वितरण गर्दैछ । नारायणी, कर्णाली, साइन रेसुंगा, सलपार सप्तकोशी विकास बैंकले भने बोनस छुटएका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *