शास्त्रीको निर्णय-बालेनको झोक, एनआरएनको दाबी-पठानको गफ
गएको केही दिन सामाजिक सञ्जाल र केही अनलाइनमा एउटा समाचार भाइरल बन्यो काठमाडौंका मेयर बालेन शाहको बारेमा । जब उनको आधिकारिक फेसबुकमार्फत बालेनको स्ट्याटस आयो, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार !’
उनका यस्ता अभिव्यक्ति यो नै पहिलो र कसैको लागि नौलो भने थिएन । तर, राजधानीको स्थानीय सरकार प्रमुखले संसदमा आगो लगाउने अभिव्यक्तिपश्चात मिश्रित प्रतिक्रिया आए । कहीं ताली त कहीं गाली । कहीं कोकोहालो त कहीं रक्षाकवच बन्दै गाली र तालीका बौछार ओइरिए । बालेन शाहमाथि वर्षिएको गाली, कटाक्ष र घृणामा मलमपट्टी गर्न अर्काे समाचार भाइरल बन्यो, ‘बालेन पत्नीलाई सुत्केरी गराउन सार्वजनिक बिदाको दिन अस्पताल लैजान प्रयोग गरिएको सरकारी गाडीको पास प्रहरीले चेकजाँच गरेकोमा व्याकुल भइ मेयरसाबले आफ्नो मानवीय संवेदनशीलता फेसबुकमार्फत पोखेको भन्ने ।
यो समाचारको भ्युज र शेयर मनग्य नहुँदै अर्काे समाचार भाइरल बनिरहेछ, ‘दोषी ट्राफिक प्रहरी हुन् कि महानगरका मेयर ?’ यसबारे थप जान्न घटनाक्रमलाई एक पटक सूक्ष्म नियालौं ।
शनिबार बेलुका ८ः४७ बजे एउटा सरकारी गाडी बालकुमारीबाट कोटेश्वरतर्फ आउँदा प्रहरी चेकिङमा पर्यो । शनिबारको दिन सरकारी गाडी चलाउन पास आवश्यक पर्थ्यो । त्यसैले प्रहरीले चालकसँग सोधे, ‘तपाईंसँग पास छ ?’
चालकले भने, ‘यो महानगरको गाडी हो । किन चाहियो पास ?’
प्रहरीले पुनः सोधे, ‘महानगर त धेरै छन्, कुन महानगर ?’
चालकले फुर्तीसाथ जवाफ फर्काए, ‘काठमाडौं महानगर । बालेन सरले चढ्ने गाडी हो यो !’
जसले चढे पनि बिदाको दिन पास लिएरमात्र सरकारी गाडी प्रयोग गर्नुपर्छ भन्दै ट्राफिक प्रहरीले गाडीको पछिल्तिर बस्ने व्यक्तिलाई नियालेर हेरे । प्रहरीले त्यसरी हेरेपछि चालकले भने, ‘‘महारानी’ होइबक्सन्छ ।’
त्यसपछि ‘अबदेखि पास लिएरमात्र गाडी चलाउनू’ भन्दै प्रहरीले छोडिदिए (तीन मिनेटको समय भित्र यो घटना भएको थियो) । त्यसको केही बेरपछि काठमाडौंका सीडीओ जीतेन्द्र बस्नेतलाई फोन गर्दै एक व्यक्तिले आफ्नो परिचय बालेन्द्र शाहको रूपमा दिए र, भने, ‘तपाईंको प्रहरीले मेरो गाडी रोक्यो । त्यो प्रहरीलाई तुरुन्तै निलम्बन गर्नुपर्यो ।’
सीडीओले सोधे, ‘किन रोकेछन् ?’ जवाफ आयो, ‘शनिबारको दिन सरकारी गाडी चलाउन पाइन्न भनेर रोकेको रे !, तपाईंले तुरुन्त त्यसलाई निलम्बन गरिहाल्नुहोस् ।’ ‘ए ! शनिबार सरकारी गाडी प्रयोग गर्न त पास लिनुपर्छ नि हजुर’, सीडीओले भने ।
बालेन घटनाक्रममा सत्य के हो भन्ने कुरा यदि निष्पक्ष छानबिन हुने वातावरण भएमा निस्केला नै । तर, दोषी प्रहरी प्रशासन होस् या मेयर यस घटनाले एउटा नजिर त बसालेको छ, सचेत सबैलाई झस्काएको छ । नियम कानून कसले पालना गर्नुपर्ने, कसले पालना गर्नु नपर्ने त्यसमा संविधान प्रस्ट नभएको बुझ्यो आममान्छेले ।
त्यसपछि मेयर जङ्गिए, ‘ए ! मैले एउटा सहसचिबबाट पास लिनुपर्ने ? वाहियात ’’ सीडीओले नसुनेपछि मेयरले उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई फोन गरेर भने, ‘त्यो ट्राफिक प्रहरीले मेरो गाडी रोक्यो, रोक्ने प्रहरीलाई निलम्बन गरिदिनु पर्यो ।’ मेयरको कुरा सुनेपछि गृहमन्त्री श्रेष्ठले हाँस्दै जवाफ फर्काए, ‘शनिबार गाडी प्रयोग गर्न त पास आवश्यक परिहाल्छ नि ! यसलाई तपाईंले इस्यु बनाउन भएन । आफ्नो ड्युटी पूरा गर्ने प्रहरीलाई पुरस्कृत गर्ने कि दण्डित ?’
नारायणकाजी श्रेष्ठको अभिव्यक्ति सुनेपछि मेयरले फोन राखे । र, सिंहदरबार जलाइदिने धम्कीसहितको एउटा स्टाटस लेखेर सार्वजनिक गरे । अब बुझौं गल्ती कसको ? (वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीको फेसबुकमा लेखिएको स्ट्याटसबाट)
यस घटनाक्रमपश्चात नजिकै हिन्दूस्थानको एक घटना स्मरण गर्नु बाञ्छनीय लाग्यो । एक पटक रेलमन्त्री लालबहादुर शास्त्री बनारसबाट दिल्ली जाँदै थिए । टिकेट लिए तापनि उनी समयमा स्टेशन पुग्न सकेनन् । उनी त्यस रेलबाट यात्रा गर्ने थाहा पाएर स्टेशन मास्टरले रेल रोकिराख्यो र शास्त्री आएर चढेपछि बल्ल ग्रिन सिग्नल दियो । तर, यसरी आफ्नो कर्तव्य पूरा नगरी मन्त्रीका लागि हजारौं यात्रुलाई रोकेर दुःख दिने त्यस कर्मचारीसँग शास्त्री खुशी भएनन्, रिसाए । उनले मन्त्रीस्तरीय निर्णयबाट सार्वजनिक हित र सुविधाप्रति लापरबाही गर्ने त्यस कर्मचारीलाई भोलिपल्टै नोकरीबाट बर्खास्त गरे ।
यो बालेन घटनाक्रममा सत्य के हो भन्ने कुरा यदि निष्पक्ष छानबिन हुने वातावरण भएमा निस्केला नै । तर, दोषी प्रहरी प्रशासन होस् या मेयर यस घटनाले एउटा नजिर त बसालेको छ, सचेत सबैलाई झस्काएको छ । नियम कानून कसले पालना गर्नुपर्ने, कसले पालना गर्नु नपर्ने त्यसमा संविधान प्रस्ट नभएको बुझ्यो आममान्छेले । त्यसरी नै एउटा कर्मचारी पनि अन्योलमा परे, अब आफूले माथिबाट आएको आदेश पालना गर्ने कि पदीय जिम्मेवारी निभाउने ?
यता हामी गैरआवासीय नेपालीहरु २ वर्षअघि अक्टोबरको विकराल र घीनलाग्दो हाम्रा कर्मले मुख छोपेर हिँड्नुपर्ने अवस्थामा छौं । अझै पनि साना मसिना कुराहरुमा विधानको अपव्याख्या र मनोगत रुपमा आत्मकेन्द्रित निर्णयहरुमा उद्यत छौं । एकाध घटनाबाहेक राष्ट्रिय समन्वय परिषद्को निर्वाचनहरु अपेक्षाकृत शान्त र निष्पक्ष नै भयो भन्ने छ । समस्या राष्ट्रिय समन्वय परिषद्हरुमा हैन, हामी कथित नेता भन्नेहरुमा छ भन्ने अब कसैसामु लुकेको विषय रहेन ।
हाम्रा अग्रजले मेहनतसाथ यो अवस्थामा ल्याइ पुर्याएको यस साझा संस्थाको हालत बालेनको झोक झैं साथीहरु सरकार, नेता र शक्ति केन्द्रको सामर्थ्य दर्शाउने थलो बन्दैछ । तत्तत् साथीहरुलाई के हेक्का छैन भने कुनै दरबार, शक्ति केन्द्र वा कुनै दलको कार्यकर्तासरह टिकट लिई आउँदा ती दलको दशौं लाख कार्यकर्तासरह एक सामान्य इकाइको अध्यक्ष झैं व्यवहार गर्छन् भन्ने बिर्सेका छन् ।
तैपनि हामी दाबी गर्दैछौं कि हामीले २० वर्षदेखि थाती रहेका संस्थाका प्रमुख मुद्दाहरु हाम्रा पालामा कार्यान्वयनमा ल्यायौं । संयोगले कोही अध्यक्ष भएको बेला संविधान जारी भयो, गैरआवासीय नागरिकता मेरो कार्यकालमा ल्याए भन्न पाइएला । भूकम्प गयो, मेरो पालामा यति उद्धार गरे भन्ने दाबी सही नै होला । तर, यस्ता कुराहरु ओशो कथामा आधारित पठानको कथाभन्दा भिन्न लाग्दैन ।
अफगानिस्तानको कुनै पहाडी गाउँबाट एक पटक एउटा अति नै सोझो पठान देहरादुन आयो । उसलाई २-४ काम चलाउ शब्दबाहेक हिन्दी र नेपाली बिल्कुल आउँदैनथ्यो । एउटा मिठाइ पसलको बाहिर ‘खाजा पसल’ लेखेको साइनबोर्डमा उसका आँखा गए । उसले ‘खाजा’ को आफ्नै हिसाबले अर्थ निकाल्यो होला- ‘खाउ’ अनि ‘जाउ’ । भित्र थरीथरीका मिठाइ र खाजा सजाएर राखेकै थिए । बस, के चाहियो, हातको इशाराले उसले विभिन्न मिठाइका परिकार अर्डर गर्यो र थपी थपी खायो ।
अन्तिममा हलवाइले पैसा माग्यो । तर, ऊ नबुझेर खुरुखुरु बाहिर निस्क्यो । अलि पर नपुग्दै पुलिसले उसलाई समाइहाल्यो । ऊसँग साथमा पैसासैसा छँदा पनि थिएन । त्यसैले सबै मिलेर उसको शीर मुण्डन गरिदिए र गधामा चढाएर एकछिन बजार घुमाएर पछि छोडिदियो ।
अफगानिस्तान फर्केपछि छिमेकीले सोधे, ‘कस्तो रैछ त हिन्दूस्तान ?’ उसले भन्यो, ‘ओहो, स्वर्गै रै’छ नि ! हातले इशारामात्रै गरे पुग्छ, फोकटमा टन्न खाना र खाजा पाइन्छ । त्यतिमात्र हो र कपाल बढेको छ भने सित्तैमा खौरिदिन्छन् र बजार घुम्न खच्चर पनि मिलाइदिन्छन् । यस्ता खासा र घिउ मान्छे अनि यति असल ठाउँ कि, कुरै नगरौं ।’
अहिले ठ्याक्कै एनआरएनका केही उच्च पदस्थ मित्रहरु बालेनको झोक झैं आफूलाई मैमत्त र सबै म नै हुँ, सरकार, नेता, दल सबैतिर मेरो पहुँच छ भनी मध्यरातमा परराष्ट्रलाई पत्र लेखाइ अधिवेशन रोक्ने दुष्प्रयास गरे जस्तै दिवास्वप्न देख्दैछन् र पठानले देहरादुनबाट फर्केपछि लगाएको गफ झैं प्रस्तुत भइरहेका छन् ।
हाम्रा अग्रजले मेहनतसाथ यो अवस्थामा ल्याइ पुर्याएको यस साझा संस्थाको हालत बालेनको झोक झैं साथीहरु सरकार, नेता र शक्ति केन्द्रको सामर्थ्य दर्शाउने थलो बन्दैछ । तत्तत् साथीहरुलाई के हेक्का छैन भने कुनै दरबार, शक्ति केन्द्र वा कुनै दलको कार्यकर्तासरह टिकट लिई आउँदा ती दलको दशौं लाख कार्यकर्तासरह एक सामान्य इकाइको अध्यक्ष झैं व्यवहार गर्छन् भन्ने बिर्सेका छन् । हामी ५०औं लाख आप्रवासी नेपालीहरुको साझा नेता बन्नुपर्छ भन्ने ज्ञानलाई ओझेल पार्दै त्यसतर्फ उन्मुख छौं । २-४ देशमा आफू निकटका महाअधिवेशन प्रतिनिधि पार्न विधानलाई बलात्कार गर्दैछौं र सन् २०२१ को अक्टोबरको वरिपरि पुनः घुमाउने जमर्काे गर्दैछौं ।
अहिले ठ्याक्कै एनआरएनका केही उच्च पदस्थ मित्रहरु बालेनको झोक झैं आफूलाई मैमत्त र सबै म नै हुँ, सरकार, नेता, दल सबैतिर मेरो पहुँच छ भनी मध्यरातमा परराष्ट्रलाई पत्र लेखाइ अधिवेशन रोक्ने दुष्प्रयास गरे जस्तै दिवास्वप्न देख्दैछन् र पठानले देहरादुनबाट फर्केपछि लगाएको गफ झैं प्रस्तुत भइरहेका छन् ।
हामी जानेर वा नजानेर बालेनले झैं झोक निकाल्ने, पठानले झैं गफै गर्ने कि शास्त्रीले झैं विधिको शासन र जनमुखी बन्ने ? आगामी ४५ दिनको हाम्रै कर्मले चिनाउने नै छ । यस सुन्दर संस्थालाई सबैको बनाउने कि दलको भ्रातृ संगठन बनाउने, हाम्रै हातमा छ ।
यस कार्यकाल संस्थालाई विघटनबाट जोगाउन एक विशेष परिस्थितिको नाम दिएर माग्ने, नमाग्ने, चाहने नचाहने, पाउने नपाउने सबैलाई समेटेर एउटा जम्बो टीम गठन गरियो । त्यसैले हामी सबैले योजना बनाएरै कार्यकाल बितायौं । तर, अबको परिस्थिति फरक छ । संस्थालाई योजना र परिकल्पनाबाट बाहिर निकालेर उद्देश्य पूरा गर्नमै उद्यत हुनु, पहिला जस्तै भाँडभैलो होला, मैले र मेराले पद पाइहाल्छ, लोकप्रिय बन्ने प्लेटफर्म त हो भन्ने सोचले उम्मेदवारी दिनु यो संस्थाप्रति र यो विषम परिस्थितिमा पनि यो संस्थाप्रति विश्वास गरेर पञ्जीकृत सदस्यता लिने सदस्यहरुप्रति अपमान हुन्छ । अब यो संस्थाको धज्जी उडाउने कर्म कतै र कसैबाट नहोस् । जय एनआरएन !
(लेखक सिम्खडा गैरआवासीय नेपाली संघका उपमहासचिव हुन् ।)