सरकारले संघीय निजामती सेवा ऐन अल्झाएकोमा सत्तारुढ दलका सांसदकै आक्रोश (भिडिओ)
काठमाडौं । सत्तारुढ दलका सांसदहरूले संघीय निजामती सेवा ऐन अझै संसदमा नल्याएकोमा सरकारको आलोचना गरेका छन् ।
सत्तारुढ नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू र नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले सो विधेयक तत्काल संसदमा पेश गरी कानून निर्माण गर्न ढिलाई नगर्न ध्यानाकर्षण गराए । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै कांग्रेस सांसद बडूले प्रहरी समायोजनसम्बन्धी ऐन किन कार्यान्वयनमा नल्याएको भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
बडूले भने, ‘मन्त्रीजी यहाँ आउनुभएको छ । उहाँले कति हेरिसक्नुभएको छ ? थाहा छैन । यसमा धेरै लामो बहस भएर फर्केर फेरि समितिमा आएको हो यो । त्यसकारण यसलाई छिटो यहाँ ल्याऊँ । मन्त्रीपरिषद्बाट यो छिटो आओस् । प्रहरीको समायोजन र समन्वय र कार्य सम्पादन ऐनहरू यसै कारण कार्यान्वयन भइराखेको छैन । त्यसमा सरकारले संशोधन खोजिराखको हो कि अथवा लागू किन नगरिराखेको हो ? यसलाई पनि हेर्नुपर्ने अवस्था मैले देखिराखेको छु । राष्ट्रिय सुरक्षा नीति केही अध्ययन भएर प्रतिवेदनहरू मन्त्रालयहरुमै छन । त्यसमा पनि सल्लाह गर्न आवश्यक छ ।’
नेकपा एसका सांसद पाण्डेले संघीयता कार्यान्वयनका लागि आवश्यक कानून बनाउने काममा ध्यान नदिएको भन्दै सरकारको आलोचना । उहाँले केवल कुर्सीमा बस्नका लागि मात्रै संघीयता ल्याएजस्तो गरेर सरकारले आफ्नो गतिविधिलाई अघि बढाएको आरोप समेत लगाउनु भयो ।
पाण्डेले भने, ‘न संघीय निजामती सेवा ऐन ल्याउन सक्यो, न प्रहरीलाई समायोजन गर्नसक्यो ? न शिक्षा ऐन ल्याउन सक्यो ? केबल कुर्सीमा पुग्न लागि मात्रै संघीयता भन्ने अर्थ लागेको छ । यसबारेमा पनि हामी सबैले गम्भीरतापूर्वक ध्यान दिन आवश्यक छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार आजको क्याबिनेटबाट उक्त ऐन पारित गर्ने बताएका थिए ।