सुदूरपश्चिमका अर्थमन्त्रीलाई जिल्ला अध्यक्षहरूले भने- पार्टी ध्वस्त बनाउने बजेट ल्याउनु भयो – Nepal Press

सुदूरपश्चिमका अर्थमन्त्रीलाई जिल्ला अध्यक्षहरूले भने- पार्टी ध्वस्त बनाउने बजेट ल्याउनु भयो

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश शाहीको उनकै पार्टीका नेता कार्यकर्ताहरूले चर्को आलोचना गरेका छन् । बिहीबार धनगढीमा सम्पन्न प्रदेश कमिटी बैठकमा जिल्ला अध्यक्षहरूले शाहीले ल्याएको बजेट प्रति तिब्र असन्तुष्टि व्यक्त गरेका हुन् ।

अर्थमन्त्री शाहीले असार १ गते आर्थिक वर्ष २०८०/०८१ को लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार रुपैयाँको बजेट पेश गरेका थिए । ठुलो असन्तुष्टि र विरोध पछि दोस्रो अधिवेशनको २१ औं बैठकबाट असार ३० गते बजेट पारित भएको थियो ।

बजेट पारित भएको डेढ महिना पछि शाहीकै पार्टी नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्षहरूले बजेटको चर्को आलोचना गरेका हुन् ।

पार्टी केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज मदनकुमारी शाह गरिमा, स्थायी कमिटी सदस्य भानुभक्त जोशी लगायतका नेताहरूको उपस्थितिमा प्रदेश कमिटी बैठक निर्माण व्यवसायी संघको हलमा बसेको थियो ।

उक्त बैठक डडेल्धुरा जिल्ला अध्यक्षले बहिस्कार गरेका थिए । दार्चुलाका जिल्ला अध्यक्षको रिपोर्टिङ जिल्ला इन्चार्जले गरे । बैठकमा रिपोर्टिङ गर्ने सबै जिल्ला अध्यक्षहरूले अर्थमन्त्री शाहीले ल्याएको बजेट उपयुक्त नभएको बताएका थिए ।

अर्थमन्त्री शाही बाजुराबाट निर्वाचित हुन् । उनकै गृह जिल्लाका अध्यक्ष पुर रावतले पनि अर्थमन्त्रीले सही बजेट ल्याउन नसकेको टिप्पणी गरे ।

‘राष्ट्रिय पूँजी निर्माण गर्ने प्रकारको बजेट आउन सकेन’, उनले बैठकमा भनेका थिए, ‘बजेटमा थुप्रै त्रुटिहरू छन् ।’ शाहीले ल्याएको बजेटले पार्टीका नेता कार्यकर्ता रुष्ट भएको मात्रै आरोप लगाएनन् यस्तो बजेटले पार्टी नै कमजोर हुने टिप्पणी रावतले गरे । एमालेबाट विद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादीका अर्थमन्त्रीले ल्याएको जस्तो बजेट नभएको भन्दै आलोचना गरेका थिए ।

डोटीका अध्यक्ष दीर्घ बोगटीले बजेटले उत्पादनलाई जोड दिन नसकेको भन्दै आलोचना गरे । उनले भनेका थिए, ‘बजेटमा राम्रा कुरा आउँछन् भन्ने अपेक्षा गरेका थियौँ तर, त्यस्तो आएन । यो बजेटले उत्पादनलाई जोड दिन सक्दैन ।’ उनले संघीय सरकारको पनि आलोचना गरे ।

बिहीबारको प्रदेश कमिटी बैठक बहिस्कार गरेका डडेल्धुराका अध्यक्ष कवीन्द्र बिष्टले पार्टीको पछिल्लो गतिविधिका कारण आफूले बैठक बहिस्कार गरेको बताए । ‘नेकपा एकीकृत समाजवादी पार्टीमा अहिले थुप्रै समस्या छ’, उनले भने ‘मैले त्यहि समस्याका बिषयमा पटक पटक सम्बोधन गराउँदा पनि चासो नदिएपछि मैले बैठक बहिस्कार गरेको हुँ ।’

गठबन्धन सरकारमा आफ्नो पार्टीको मन्त्री हुँदा पनि डडेल्धुरा अस्पतालमा कांग्रेस निकट व्यक्तिलाई अध्यक्ष नियुक्त गरेको, भूमि आयोगको सदस्यमा उपेन्द्र यादव निकटका व्यक्ति सदस्य परेको तर, आफ्नो पार्टीको व्यक्तिलाई सदस्यसमेत नियुक्त नगरे र माधव कुमार नेपालको कार्यकक्षमा पुगेर तारा जोशीलाई टिकट दिने सुनिश्चितता गर्दा पनि टिकट नदिएको र बजेटमा पनि माग सम्बोधन नभएको उनले बताए ।

उनले अर्थमन्त्री शाहीले बजेटका बिषयमा निकै राम्रो समन्वय गरेको तर, काम भने नगरेको आरोप लगाए ।

प्रदेश कमिटी बैठकमा कैलालीका अध्यक्ष विमल जोशी, कञ्चनपुरका जीवन थापा, डोटीका दीर्घ बोगटी, अछामका योगेन्द्र विष्ट, बैतडीका महादेव भट्ट, बाजुराका पुर रावतले समसामयिक बिषयमा धारणा राखेका थिए । त्यस क्रममा उनीहरुले अर्थमन्त्रीको आलोचना गरेका हुन् । डडेल्धुराका अध्यक्ष कवीन्द्र बिष्टले बैठक बहिस्कार गरेका थिए भने, दार्चुलाका अध्यक्ष गणेश जोशी उपस्थित नभएपछि जिल्ला इन्चार्ज वीर बहादुर ठगुन्नाले रिपोर्टिङ गरेका थिए ।

उनीहरुको रिपोर्टिङ पनि धेरै टिप्पणी आएन र इन्चार्जहरूले पनि बोलेनन् । बैठकमा उपस्थित भानुभक्त जोशीले कमी कमजोरीहरू सच्चाउँदै अघि बढ्नु पर्ने बताएका थिए । त्यसपछि अर्थमन्त्री शाहीले आफूमाथि लागेका आरोपहरू खण्डन गरे ।

‘मेरो पहिलो अनुभव हो । केही मेरा बाध्यता थिए। केही कर्मचारीबाट पूर्ण सहयोग भएन’ अर्थमन्त्रीले बैठकमा दिएको प्रस्टीकरणबारे एक नेताले सुनाए, ‘आगामी दिनमा केही सुधार गर्दे अघि बढ्ने छौँ । ’

अर्थमन्त्रीले जवाफ दिनु अघि नै भानुभक्त जोशी काठमाडौँ लागिसकेका थिए । केही अध्यक्ष, पदाधिकारी तथा प्रदेश कमिटी सदस्य पनि निस्किसकेका थिए ।

केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज गरिमा शाह र प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले पनि देखिएका कमी कमजोरीहरूलाई सुधार गर्दै अघि बढ्नु पर्ने बताएका थिए । १ बजे देखी सुरु भएको बैठक करिब ५ घण्टा सम्म चलेको थियो । अधिकांश समय अर्थमन्त्रीले प्रस्तुत गरेको बजेट माथि जिल्ला अध्यक्षहरूले असन्तुष्टि पोखेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर