के चीन इतिहासको पुन: व्याख्या गर्दैछ ?
भारतका विदेश मन्त्रालयका पूर्वसचिव श्याम शरण लेख्छन्, देशहरुले आफ्नो बारेमा भन्ने कथाहरुबाट उनीहरुको व्यवहार बुझ्न सकिन्छ । चिनियाँहरु यसलाई ‘डिस्कोर्स पावर’ भन्छन् । आकर्षक भाष्यले शक्तिको चाहनालाई लुकाउन वैधताको आवरण दिने गर्छ । चीनसँग राजनीतिक वैधताका लागि इतिहासका हरेक दस्तावेजहरु सुरक्षित छन्, जसले व्यवस्थाको भाष्य निर्माण गर्न महत्वपूर्ण स्रोतको काम गरेको छ । चीनको दाबीअनुसार इतिहासमा चीन सधैं महाशक्ति रहेको छ । यसको शक्ति र प्रभावलाई चीनसँग जोडिएका अरु देशले समेत स्वीकारेका थिए । तर, के चीन सधैं शक्तिशाली थियो त ? आजको शक्तिशाली चीन निर्माणको पछि कस्तो पृष्ठभूमि छ, जसले चीनको विश्व दृष्टिमा गहिरो प्रभाव पारेको छ ? सन् २०२२ माजुगरनट बुक्सले प्रकाशन गरेको पुस्तक ‘हाउ चाइना सिज इन्डिया एण्ड दि वर्ल्ड’ (चीनले भारत र विश्वलाई कसरी हेर्छ) ले चीनसँग सम्बन्धित यिनै जिज्ञासाहरुलाई सम्बोधन गर्ने प्रयास गरेको छ ।
सन् २००२ देखि २००४ सम्म नेपालमा समेत राजदूतको जिम्मेवारी सम्हालेका श्याम शरण अपरिचित नाम होइन । सन् १९७० मा भारतकोे विदेश मन्त्रालयमा सेवा सुरु गरेका शरण त्यसलगत्तै हङकङमा म्याण्डरिन (चिनियाँ भाषा) सिक्न गए । सांस्कृतिक क्रान्तिको उत्तरार्द्ध (सन् १९७४-७७) र खुलापनको नीति लिएपछिका प्रारम्भिक वर्षहरु (सन् १९८३-८६) गरी जम्मा ६ वर्ष चीनमा बिताएका शरणले पुस्तक चिनियाँ बसाइका अनुभवसहित सुरु गरेका छन् । उनी त्यस्तो बेला चीन पुगेका थिए, जति बेला चीनमा कमैमात्र आधिकारिक सञ्चारमाध्यमहरु थिए । राजदूतसँग सम्बन्ध राख्नेबाहेक अरु चिनियाँ अधिकारीहरुसँग पहुँच थिएन । सूचनाहरु छरिएका हुन्थे । सीमित सञ्चारमाध्यमका खबरहरु पनि घुमाएर लेखिएको हुन्थ्यो, इतिहासको सन्दर्भसँग जोडेर त्यसलाई बुझ्नुपर्थ्यो ।
तर, दोस्रो पटक उनी चीन पुग्दा परिस्थिति बद्लिएको थियो । सन् १९७८ मा देङ स्यायोपिङले आर्थिक पुनर्संरचना र खुलापनको नीति लिएपछि भने पश्चिमा प्रभाव फैलँदै थियो । देङको ‘धनी हुनु गौरव हो’ भन्ने नारालाई मानिसहरुले गम्भीरतापूर्वक लिएका थिए । चिनियाँ अधिकारी, प्राज्ञ, कलाकारहरुलाई भेट्न सम्भव थियो । पाँचतारे होटलहरु बढ्न थालेका थिए । सडकमा विदेशी ब्राण्डका कारहरु देखिन थालेका थिए । तर, ४० वर्षभित्रै चीन विश्वको आर्थिक शक्ति बन्ने छाँट त्यहाँ देखिएको थिएन । यसरी लेखकले सुरुमै दुई फरक समयको चीनलाई चिनाउने कोसिस गरेका छन् ।
विश्व मानचित्रमा चीनको सशक्त उदय भइरहँदा भारत पनि पाँचौं ठूलो अर्थतन्त्र भएको छ । यी भीमकाय देशहरुबीच सैन्यमात्र होइन, आर्थिक र राजनीतिक शक्ति संघर्ष पनि उस्तै जबरजस्त छ । साँधसिमाना जोडिएका यी दुई देश इतिहासको कुन चरणमा जोडिए र किन छुट्टिए ? यसको सांस्कृतिक, वैचारिक, राजनीतिक जग के हो ?
सन् १९४७ मा स्वतन्त्र भएको भारत तथा सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापनापछि ‘हिन्दी-चीनी, भाइ-भाइ’को आत्मीयता साटेका यी दुई विशाल देश सन् १९६२ मा युद्धमा होम्मिए । सन् २०२० पनि लद्दाखमा आमनेसामने भए । विश्व मानचित्रमा चीनको सशक्त उदय भइरहँदा भारत पनि पाँचौं ठूलो अर्थतन्त्र भएको छ । यी भीमकाय देशहरुबीच सैन्यमात्र होइन, आर्थिक र राजनीतिक शक्ति संघर्ष पनि उस्तै जबरजस्त छ । साँधसिमाना जोडिएका यी दुई देश इतिहासको कुन चरणमा जोडिए र किन छुट्टिए ? यसको सांस्कृतिक, वैचारिक, राजनीतिक जग के हो ? यी कुरा बुझ्न फेरि पुस्तककै सन्दर्भमा जाऔं ।
पहिलो सहस्राब्दीमा व्यापारको सिलसिलामा मध्य एसिया, नेपाल र तिब्बत तथा सामुन्द्रिक माध्यमबाट भारतीय उपद्वीप र पूर्वी चिनियाँ तटबाट दुबै देश एकअर्काको सम्पर्कमा आए । चीनमा बौद्ध धर्मको विस्तारसँगै सुआन चाङले आधिकारिक ग्रन्थहरु प्राप्त गर्न तथा अध्ययनका लागि नालान्दा र विक्रमशीला विश्वविद्यालयमा आए । त्यसक्रममा अरु चिनियाँहरु पनि भारत आएका थिए । पहिलो सहस्राब्दीमा भारतीयहरुमा चीन प्रतिकम रुचि देखिन्छ । तर, दोस्रो सहस्राब्दीसँगै भारतीय उपमहादीपमा मुस्लिमहरुको आक्रमण र बौद्ध धर्म क्रमशः कमजोर बन्दै गएपछि भने सीमित रुपमा रहेको सम्पर्क लामो समयका लागि टुट्यो । त्यसपछि एकैपटक ब्रिटिश उपनिवेशको समयमा चीन र भारत आमनेसामने भए । तर, यो चीनका लागि त्यति सुखद अनुभव थिएन ।
सन् १८३९-४२ र १८५६-६० मा भएको अफिम युद्धमा ब्रिटिशले चीनमाथि गरेको सैन्य आक्रमणमा अग्र पङ्क्तिमा भारतीयहरु थिए । जसमा चीन पराजित भएको थियो । लेखकले भारतप्रति चिनियाँ दृष्टिकोण यसै घटनाबाट प्रेरित भएको भनेका छन् । सन् १९५० मा तिब्बत नियन्त्रणमा लिएपछि चीन र भारत नजिकका छिमेकी त भए । तर, दुबै देश एकअर्कासँग त्यति परिचित थिएनन् । त्यसैले लेखकले चीनको भारतप्रति र भारतको चीनप्रतिको दृष्टिकोण तेस्रो पक्षले अघि सारेका स्रोतका आधारमा भएको भनी लेखेका छन् । यसैकारण चीनले विदेशी शक्तिको दासको रुपमा भारतलाई हेर्छ । तर, चीन आफैं एलियन अर्थात गैरहान जातिबाट अधिकांश समय शासित थियो । मंगोल युआन वंश (सन् १२७१-१३१८ सिई ) र मन्चु छिङ वंश (सन् १६४४-१९१२) सम्म चीन एलियनबाट शासित भयो भने भारत (सन् १८५८ देखि १९४७ सम्म ) ब्रिटिशको उपनिवेशको रुपमा रह्यो । यस अर्थमा भारत र चीनले इतिहासमा उस्तै नियति भोग्नुपरेको दाबी लेखकको छ ।
सन् १९५० मा तिब्बत नियन्त्रणमा लिएपछि चीन र भारत नजिकका छिमेकी त भए । तर, दुबै देश एकअर्कासँग त्यति परिचित थिएनन् । त्यसैले लेखकले चीनको भारतप्रति र भारतको चीनप्रतिको दृष्टिकोण तेस्रो पक्षले अघि सारेका स्रोतका आधारमा भएको भनी लेखेका छन् । यसैकारण चीनले विदेशी शक्तिको दासको रुपमा भारतलाई हेर्छ ।
इतिहासमा रोमनहरुले ग्रिकबाट सिके । अरबले पर्सिया, मध्य एसिया र इन्डियाबाट, युरोपमा पुनर्जागरणको क्रममा ग्र्रिकको ज्ञानको पुनः खोजी गरियो । मेजिको जापानले पश्चिमाबाट सिक्यो भने चीनले पश्चिमा ज्ञान र प्रविधिलाई समायोजन गरी अघि बढेको छ । यसरी एउटा राम्रो सिकारु हुँदै चीन ज्ञान र प्रविधिमा उच्चतम केन्द्र हुँदैछ । आर्थिक इतिहासले प्रस्ट देखाउँछ, कुनै पनि देशको विकासको प्रारम्भिक चरण पहिल्यै विकसित ज्ञान र प्रविधिको आत्मसात गरेर हुन्छ । त्यसपछि सिकेको ज्ञान र प्रविधिको समायोजन र आन्तरिककीरण र अन्तिम चरण चाहिँ आफैं ज्ञानको सिर्जना गर्न पर्याप्त ज्ञान पूँजी निर्माण गर्ने हो । चीनको विकासको सन्दर्भमा पनि यो नियम लागू हुन्छ ।
यसर्थ लेखकले चीनको आर्थिक, सैन्य तथा राजनीतिक सामर्थ्यको कारण लेनिनवादी कम्युनिष्ट सत्ता नभएर आर्थिक उदारीकरणको पश्चिमा नीतिको अनुशरणलाई मान्छन् । इतिहासमा लामो समयसम्म पेरिफेरीका राज्यहरुको निरन्तर आक्रमणको सामना गरेकोले बाहिरी दुनियाँसँग चीनको सम्बन्धलाई त्यसले अझै पनि प्रभाव पारेको छ । कमजोर र विभाजित राजनीति हुँदा राज्यले बाह्य आक्रमणको सामना गर्न नसक्ने भएकोले केन्द्रीयता र अधिनायकवादी राजनीतिक प्रणालीको आवश्यकताबोध भयो ।
बुद्धकै समयका दार्शनिक कन्फुसियसले सामाजिक सद्भाव र श्रेणीबद्धतालाई सँगै जोडेर हेरे । यही मान्यतामा आज पनि चीनको विश्व दृष्टि श्रेणीमा आधारित छ । जहाँ सबैभन्दा माथिल्लो तहमा चीन र अरु देशहरु मातहतमा छन् । लेखक भन्छन्, चीनमा बोलिने भाषामा विविधता छ । तर, लेखाइमा एकरुपता छ । केन्द्रीयताका लागि यो पनि एउटा महत्वपूर्ण पक्ष हो । चीन एकैखालको जाति, भाषा, संस्कृतिको बाहुल्य भएको देश हो भने भारत विविधतापूर्ण देश हो । यसको प्रतिविम्ब दुबै देशले अँगालेको राजनीतिक व्यवस्थामा पनि देख्न सकिन्छ । चीन र भारतको प्रतिद्वन्द्विताको कारण लेखक यी देशहरुको फरक मूल्य र मान्यतामा आधारित राजनीतिक व्यवस्थालाई मान्छन् ।
इतिहासमा रोमनहरुले ग्रिकबाट सिके । अरबले पर्सिया, मध्य एसिया र इन्डियाबाट, युरोपमा पुनर्जागरणको क्रममा ग्र्रिकको ज्ञानको पुनः खोजी गरियो । मेजिको जापानले पश्चिमाबाट सिक्यो भने चीनले पश्चिमा ज्ञान र प्रविधिलाई समायोजन गरी अघि बढेको छ । यसरी एउटा राम्रो सिकारु हुँदै चीन ज्ञान र प्रविधिमा उच्चतम केन्द्र हुँदैछ ।
इतिहासको पुनः व्याख्याको प्रश्न
चीनले तिब्बत नियन्त्रणमा लिनु अघिसम्म तिब्बत कहिल्यै हान वा गैरहान जातिको प्रत्यक्ष शासनमा थिएन । मंगोल युआन र मंचु छिन वंशको शासनमा हुँदा समेत तिब्बतले अलग र धार्मिक रुपमा स्वायत्त भई राज्य सञ्चालन गरिरहेको थियो । सन् १९१२ मा छिन वंशको पतनपछि दलाई लामाले तिब्बतको स्वतन्त्रता घोषणा गरे । तर, अन्तर्राष्ट्रिय मान्यता पाउन सकेनन् । यद्यपि तिब्बतमा चीनको वैधतालाई प्रमाणित गर्न चिनियाँ विद्वानहरु प्राचीनकालदेखिको सम्बन्धको व्याख्या गर्छन् । अझ मंचु छिन वंशलाई चीनको शासकको रुपमा हेर्नुपर्ने तर्क छ । सातौं शताब्दीमा तिब्बतले साङ वंशमाथि गरेको आक्रमण र त्यसपछि चिनियाँ सम्राटलाई शान्तिका सर्तहरु मान्न बाध्य पारेको विषयलाई पन्छाएर तिब्बतले सहयोग खोजेको र त्यसै क्रममा चिनियाँ राजकुमारी वेङ चेङको तिब्बती राजा स्रोङसेन ग्याम्पोसँग विवाह गरी साङ-तिब्बत सहकार्य बलियो बनाएको भनी इतिहासको आफू अनुकूल व्याख्या गरेको लेखकको दाबी छ ।
त्यस्तै, लेखकले चीन कहिल्यै एसियाको केन्द्र नभएको र कुनै पनि ऐतिहासिक तथ्यले त्यसलाई प्रमाणित नगरे तापनि चीनले इतिहासलाई तोडमोड गर्दै आफूलाई केन्द्रको रुपमा स्थापित गर्न खोजेको भनेका छन् । पुस्तकमा चिनियाँ ईतिहासका धेरै सन्दर्भहरु उधिन्दै त्यसलाई भारतसँग जोडेर हेरिएका छन् । ती घटनाक्रमको सन्दर्भमा तयार गरिएको नयाँ चिनियाँ भाष्यहरुको खण्डनहरु गरेका छन ।
समग्रमा ‘हाउ चाइना सिज इन्डिया एण्ड दि वर्ल्ड’ ले भारत र विश्वप्रति चिनियाँ दृष्टिकोण प्रस्ट पार्न खोजेको भए पनि यो पुस्तक भारतीय विदेश मन्त्रालयका पूर्वउच्च अधिकारीको विचार, बुझाइ र धारणा हो । अर्को शब्दमा भन्ने हो भने पुस्तक चीनको सन्दर्भमा भारतले स्थापित गर्न खोजेको नयाँ भाष्य हो । यसर्थ, स्वाभाविक रुपमा यसबाट भारतले चीनलाई कसरी हेरेको वा बुझेको छ भन्ने थाहा पाउन सकिन्छ । जम्मा १८ अध्याय र २८६ पृृष्ठमा समेटिएको पुस्तकले घुमाउरो भाषामा इतिहासदेखि नै भारतको सांस्कृतिक, वैचारिक, राजनीतिक सर्वोच्चता स्थापित गर्न खोजेको छ । एक-अर्काको बुझाइ, समानता, भिन्नतालगायतका विषयहरु अगाडि सार्ने क्रममा पुस्तकले एकैपटक भारत र चीन दुबैको बारेमा यथेष्ट ज्ञान र जानकारी दिएको छ । भारत-चीन प्रतिस्पर्धा नयाँ शीरामा पुगेको विषम परिस्थितिमा सुझबुझपूर्ण ढंगले अगाडि बढ्न नेपालका लागि पुस्तकले केही ‘आइडिया’ पक्कै दिनेछ ।