३७.१ ओभरमा २९२ रनको लक्ष्य भेट्न दौडिएको अफगानिस्तान अन्ततः २ रनले चुकचुकायो – Nepal Press

३७.१ ओभरमा २९२ रनको लक्ष्य भेट्न दौडिएको अफगानिस्तान अन्ततः २ रनले चुकचुकायो

गलत ‘क्यालकुलेसन’को शिकार

लाहोर। एसिया कप क्रिकेटअन्तर्गत मङ्गलवार साबिक विजेता श्रीलंकाले २ सय ९२ रनको लक्ष्य दिएपछि अफगानिस्तानले बुझेको थियो- सेमिफाइनलमा पुग्न ३७.१ ओभरमा लक्ष्य पुरा गर्नुपर्छ। अन्तिम एक बल बाँकी रहँदा अफगानिस्तानलाई ३ रन चाहिएको थियो, अगाडि बढ्न।

तर मुजिब उल रहमानले धनन्जय डे सिल्भालाई लङ अनतर्फ चौका प्रहार गर्न खोज्दा क्याच आउट हुन पुगे। त्यस लगत्तै अर्को इन्डमा रहेका रसिद खान घुँडा टेकेर निहुरिएका थिए । उनलाई लागेको थियो- अफगानिस्तान एसिया कपबाट बाहिरियो। तर अफगानिस्तानले नेट रन रेटको हिसाब गलत गरेको पाइएको छ।

अफगानिस्तानले यो खेल जितेको अवस्थामा ऊसहित बंगलादेश र श्रीलंकाको समान २ अंक हुने थियो । ३७.१ ओभरमा २ सय ९२ रन बनाएको अवस्थामा अफगानिस्तान शीर्ष २ मा रहेर सेमिफाइनल पुग्ने थियो ।

तर क्रिक इन्फो डटकमका अनुसार मुजिब आउट भएपछि र ३८ औँ ओभरको पहिलो बलपछि पनि अफगानिस्तानको अगाडि बढ्ने सम्भावना कायमै थियो ।

त्यसका लागि अफगानिस्तानले ३७.२ ओभरमा २९३ वा ३७.३ ओभरमा २९४ वा ३७.५ ओभरमा २९५ वा ३८ ओभरमा २९६ वा ३८.१ ओभरमा २९७ रन ल्याउनु पर्ने थियो । यसको मतलब ३७.१ ओभरपछि अफगानिस्तानले २९२ रन बनाएर मात्र पुग्ने अवस्था थिएन ।

३८ औँ ओभरको चौथो बलमा अफगानिस्तानले फजालहक फारुकीलाई गुमाएपछि २ रनले पराजित भएको हो ।

त्यसअघि अफगानिस्तान तेज गतिमा दौडिएको थियो । अफगानिस्तानका लागि मोहम्मद नाबीले ३२ बलमा ५ छक्का र ६ चौकासहित ६५ र कप्तान हसमातुल्लाह साहिदीले ६६ बलमा एक छक्का र ३ चौका प्रहार गरेका थिए ।

करिम जनत, नाजिबुल्लाह जद्रान र रसिद खानले पनि एक सय ५० भन्दा बढीको स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए ।

रोमाञ्चक जित हात पार्दै साबिक विजेता श्रीलंकाले पहिलो चरणबाटै बाहिरिने संकट टारेर अगाडि बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *