प्रसुती गृहमा आजबाट अनलाइन टिकट सुरु (भिडिओ) – Nepal Press

प्रसुती गृहमा आजबाट अनलाइन टिकट सुरु (भिडिओ)

काठमाडौं । परोपकार प्रसुती तथा स्त्रीरोग अस्पातलले आजबाट अनलाइन टिकटको व्यवस्था शुरु गरेको छ ।अस्पतालले ६४ औं वार्षिकोत्सव मनाउँदै आजबाट लागू हुनेगरी बिरामीको चापलाई मध्यनजर गरेर अनलाइन टिकटको व्यवस्था शुरु गरिएको अस्पतालले जनाएको हो ।

अस्पतालले बुधवारदेखि अनलाइन टिकट र थप एक–एक वटा बिलिङ र टिकट काउण्टर समेत थप गरी सञ्चालनमा ल्याएको छ । स्त्रीरोग अस्पालले सेवाग्राहीले औषधि खरिद गर्ने सहजताको लागि फार्मेसी काउण्टर समेत थप गरेको छ ।

अस्पतालमा निर्देशक श्रीप्रसाद अधिकारीले गरिबीको रेखामुनी रहेकाहरुको लागि स्त्रीरोग अस्पतालमा जनरलतर्फ ४५० शैय्या निःशुल्क गरिएको बताए ।

उनले मुलुकको एकमात्र महिला स्वास्थ्य सम्बन्धि केन्द्रिय विशिष्टीकृत अस्पतालले स्वीकृत शैय्या ४१४ भएपनि बिरामीको चापका कारण ४८९ शैय्या सञ्चालन गरिएको बताए । निर्देशक अधिकारीले गत आर्थिक वर्ष २०७९/८० मा कुल ३४ हजार १ सय ८५ जना महिला बिरामी भर्ना भएकामा प्रसुतीतर्फ २६ हजार ९ सय ४७ तथा स्त्री रोगतर्फ ५ हजार ४६ रहेको उल्लेख गरे ।

नवजात शिशु सघन उपचारतर्फ २ हजार १९२ र मातृ संघनतर्फ ४८३ भर्ना भएर उपचार पाएको उनको दाबी छ । गत आर्थिक वर्षमा अस्पतालले बहिरंग सेवातर्फ १ लाख ८० हजार ८९० जना महिलाहरुले सेवा लिएका थिए ।

प्रसुतिमा भर्ना भएका २६ हजार ९४७ मध्ये २४ हजार ६७२ जना गर्भवती महिलाको प्रसती डेलिभरी भएको भन्दै जसबाट २४ हजार ९१५ जना शिशुको जन्म भएको निर्देशक अधिकारीले बताए । २४ हजार ६७२ जना प्रसुती डेलीभरी महिलामध्ये ९ हजार ८२१ जनाको शल्यक्रिया अर्थात सिजरियन सेक्सनबाट डेलिभरी भएको थियो ।

उनका अनुसार स्त्रीरोग गाईनोकोलोजी शल्यक्रियातर्फ गत आर्थिक वर्षमा २ हजार ९६४ जनाको शल्यक्रिया भएकोमध्ये २२३ जनाको दुरविन प्रविधि (ल्याप्रोस्कोपिक) र २ हजार ७२३ जनाको चिरफार प्रविधिबाट शल्यक्रिया गरेर उपाचार गरिएको थियो ।

 

गत आर्थिक वर्षमा १ हजार ७७९ जना महिलाले निःशुल्क सुरक्षित गर्भपतन सेवा लिएको थिए । स्त्रीरोग अस्पाताल वि.स.२०१६ साल भाद्र १० गते कृष्ण जन्माष्टमीको दिन ४० शैय्या शुरुवात भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *