बुधवारदेखि ललितपुरमा महिला उद्यमी मेला–२०८० शुरु – Nepal Press

बुधवारदेखि ललितपुरमा महिला उद्यमी मेला–२०८० शुरु

काठमाडौं । ललितपुरको याक प्यालेसमा महिला उद्यमी मेला–२०८० शुरु भएको छ ।कोभिड महामारी र विश्वव्यापी आर्थिक मन्दीका कारण साना तथा मझौला व्यवसायीका उत्पादनले बजार पाउन नसकिरहेका बेला साना तथा मझौला व्यवसायी महासंघ नेपालले मेला आयोजना गरेको हो ।

आज बुधवारदेखि भदौ २४ गते आईतवारसम्म चल्ने मेलामा महिला उद्यमीद्वारा उत्पादित सामग्रीलाई प्राथमिकता दिइएको छ । महासंघ अन्तर्गत केन्द्रिय महिला समितिकी सहसचिव अनिता ठकुरीले पछिल्लो समय उद्योग व्यवसायमा आएको सुस्ततालाई चलायमान बनाउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको बताइन् ।

मेलामा नेपालको पूर्वदेखि पश्चिमसम्मका साना तथा मझौला व्यवसायीद्वारा उत्पादित सबै किसिममा सामग्री राखिएको उनले जानकारी दिइन् । ८० वटा स्टल रहेको मेलामा महिला उद्यमीहरुले उत्पादन गरेका हस्तनिर्मित सामान, ढाकाका कपडा, अल्लोका कपडा, बाँसका सामग्री, चाँदीका गरगहना, चियापत्ति, लगायत सामग्रीहरु छन् । निःशुल्क प्रवेशको व्यवस्था गरिएको महिला उद्यमी मेलालाई १० हजारले अवलोकन गर्ने र ५० लाख बढीको कारोबार हुने अपेक्षा महासंघले गरेको छ ।

उनले भनिन्,‘पछिल्लो समय उद्योग व्यवसायमा आएको सुस्ततालाई चलायमान बनाउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको हो । व्यापार व्यवसायलाई चलायमान बनाउनको लागि नेपालको पूर्वदेखि पश्चिमसम्मका उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरु प्रदर्शनीमा राखिएको छ । तिज विशेष पनि भएकाले सम्पूर्ण दिदिबहिनीहरु मेला अवलोकन गर्न अनुरोध छ ।’

महिला उद्यमी मेलाको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गरेका थिए । सो क्रममा उनले सबै स्टलको अवलोकन गरी विभिन्न किसिमका स्वदेशी उत्पादनको बारेमा जानकारी लिएका थिए ।

मेला उद्घाटन कार्यक्रममा बोल्दै महासंघकी सह अध्यक्ष इनु पौडेलले महिलाहरु आर्थिक रुपमा सक्षम नभएसम्म मुलुकको सम्मुन्नत आर्थिक विकास हुन नसक्ने भन्दै सबै महिलालाई सफल उद्यमी बनाउनुपर्नेमा जोड दिइन् । मेला आगामी आईतवार २४ गतेसम्म चल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *