प्रचण्ड छाडेर ओली रोजेका माओवादी कमाण्डर- सर्वाधिक मतले एमालेमा बने ‘म्यान अफ दि इलेक्सन’
रुपन्देही । सशस्त्र युद्धताका लामो समय बटालियन कमाण्डर बनेका रोल्पाका पूर्णबहादुर बुढाको राजनीतिक लिगेसी अहिले फेरिएको छ । गत मंसिरको निर्वाचनमा उनै बुढा माओवादी रहँदा कमाण्डर रहेका पार्टीका शक्तिशाली नेता वर्षमान पुनसँग लडेर बेग्लै पहिचान बनाए ।
बुढा नेकपा विघटनपछि एमाले रोजेर बसेका थिए । एमालेमा धेरै युवाहरू खुल्न नसक्नेजस्तै बनाइएको रोल्पामा आफू एमालेमा रहेसँगै धेरै माओवादी कार्यकर्ता र युवालाई गोलबद्ध बनाएको उनी बताउँछन् । यसअघि एमालेको प्रदेश कमिटी सदस्य रहेका बुढा अहिले नेकपा एमालेको प्रथम प्रदेश अधिवशेनबाट उपसचिवमा सबैभन्दा धेरै मत ल्याएर विजयी भए ।
धेरै माओवादी नेता-कार्यकर्ताले एमालेमा पूर्वमाओवादीलाई उपेक्षा गरेको टिप्पणीलाई पूर्णबहादुरले चिरेका छन् । खुल्ला उपसचिवमा बुढा ४१८ मतका साथ विजयी हुँदा प्रतिस्पर्धी दुर्गाबहादुर चौधरी ३९३ मतमा रोकिए ।
‘म पार्टीले खटाएको काम गर्ने मान्छे हुँ, वर्षमानसँग चुनाव लडेर जिल्लामा एमालेलाई बलियो पार्टी बनाएको छु, सायद त्यही देखेर मलाई धेरै मत दिनुभयो, माया गुर्नभयो’, उनले भने, ‘अब पार्टीको मिसन -८४ मा ५१ प्रतिशत अभियानलाई पूरा गर्न पार्टीको नीति पूरा गराउन लाग्नेछु ।’
उनले तराईको आधारभूत वर्ग र पहाडका विकट गाउँसम्म जनताको भरलाग्दो, नेता कार्यकर्ताको रहर लाग्दो, विपक्षीका लागि डरलाग्दो पार्टी बनाउने आफ्नो दृण संकल्प रहेका बताउँदै प्रदेशका १२ जिल्लामा यही योजनाका साथ पार्टी काममा लाग्ने बताए ।
‘मेरो अनुभवसँगै लुम्बिनी प्रदेशमा रहेका माओवादीका कार्यकर्तालाई एमालेमा तान्ने योजना बनाइरहेको छु । पार्टीलाई गतिशील, जुझारु र एकतावद्ध बनाउने अभियान जारी रहन्छ, हिजोका रोल्पा रुकुमको प्रभावलाई बदलेर एमालेको प्रभावमा ल्याउने मुख्य उद्देश्य हो, मेरो योजना र पार्टीको योजना मिलाएर बलियो पार्टी बनाउने मेरो उद्देश्य हो’ बुढाले भने ।
२०४२ मा रोल्पाको त्रिवेणीमा जन्मिएका पूर्ण २०५४ सालमा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको सदस्य हुँदै २०५६ मा एरिया कमिटी अध्यक्ष हुँदै भूमिगत भएका थिए । २०५८ सालमा अखिल क्रान्तिकारीको रोल्पा जिल्लाको कार्यवाहक अध्यक्ष र २०५९ मा माओवादी लडाकुको प्लाटुन कमान्डरसँगै नेकपा माओवादी रोल्पाको जिल्ला कमिटी सदस्य भएका थिए ।
२०६१ मा माओवादी लडाकुको कम्पनी कमान्डर र कम्पनी कमिसारको जिम्मेवारी पाएका उनी पछि बटालियन कमाण्डरसम्म भए । त्यतिबेला उनको कमाण्डर उपराष्ट्रपति नन्दकिशोर पुन थिए । २०५७ मंसिरमा माओवादीले दाङको घोराहीस्थित नेपाली सेनाको ब्यारेक आक्रमण गर्दा पूर्णले वर्षमान पुनको कमाण्डमा काम गरेका थिए ।
माओवादी लडाकु समायोजनको समयमा २०६६ देखि २०६८ पूर्णले बालानन्द शर्मा नेतृत्वको सेना समायोजन विशेष समितिमा रहेर काम गरेका थिए । एमाले र माओवादीको एकीकरण खारेज भएर पूर्ण एमालेमै बसेपछि उनी लुम्बिनी प्रदेश कमिटी सदस्य रहेका थिए ।
बुधबार भएको एमालेको प्रदेश अधिवेशनको नतिजामा उनले उपसचिवमा सबैले भन्दा धेरै मत ल्याएर पुनः चर्चामा आएका छन् ।