नेपालमा ६२ प्रतिशतमात्रै किसान परिवार, यस्तो छ ‘कृषि गणना’ को नतिजा – Nepal Press

नेपालमा ६२ प्रतिशतमात्रै किसान परिवार, यस्तो छ ‘कृषि गणना’ को नतिजा

काठमाडौं । कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा घर परिवारमध्ये ६२ प्रतिशत मात्रै कृषक परिवार रहेको पाइएको छ । बिहीवार सार्वजनिक गरिएको सातौं कृषि गणनाको प्रमुख नतिजाअनुसार नेपालमा पछिल्लो १० वर्षमा ९ प्रतिशतले कृषक परिवार घटेको देखाएको हो ।

अघिल्लो कृषि गणनामा यस्ता कृषक परिवारको प्रतिशत ७१ देखाएको थियो । त्यस्तै, कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा ४१ लाख ३० हजार ७८९ कृषक परिवारले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक बद्रिकुमार कार्कीले बताए ।

उनले अघिल्लो कृषि गणना २०६८ अनुसार ३८ हजार ३१ हजार ९३ कृषक परिवारले २५ लाख २५ हजार ६३९ हेक्टर जग्गामा कृषिकार्य गरेको बताए । उनले पछिल्लो १० वर्षमा ३ लाख हेक्टर जमिन कृषि कार्यमा घटेको बताए । कृषि गणनाले कृषक परिवारअन्तर्गत जम्मा कित्ता सङ्ख्या १ करोड १५ लाख ८३ हजार ९५० र प्रतिकृषक परिवार कित्ता संख्या २.८ देखाएको छ ।

राष्ट्रिय कृषि गणना २०७८ को नतिजा अनुसार नेपालमा राँगा र भैँसीको कुल संख्या २९ लाख २३ हजार रहेको छ । २०६८ को गणनामा भैँसीको संख्या ३१ लाख ७४ हजार रहेकोमा १० वर्षमा राँगा र भैँसीको संख्या २ लाख ५१ हजारले घटेको हो । राँगा र भैँसी पाल्ने कृषक परिवार संख्यामा पनि ठूलो गिरावट आएपनि उन्नत राँगा भैँसी भने १२ प्रतिशतले बढ्न गएको उल्लेख छ ।

२०६८ सालमा राँगा र भैँसी पाल्ने किसान परिवारको संख्या १६ लाख ६९ हजा रहेकामा नयाँ गणनामा यस्तो परिवार संख्या २ लाख ५२ हजारले घटेर १४ लाख १७ हजारमा सिमित भएको छ । ६३ लाख रहेका गाईगोरु पनि पछिल्लो १० वर्षमा घटेर ४६ लाख पुगेको छ । पछिल्लो १० वर्षमा गाई गोरु,राँगा र भैँसी घटेपनि बाख्रा र च्याङ्गा भने १ करोड १० लाखबाट बढेर १ करोड ४२ लाख पुगेको छ ।

सुँगुर र बँगुर पनि ८ लाखबाट बढेर १४ लाख पुगेको तथ्याङले देखाएको छ । गाईको संख्या घटेपनि उन्नत गाईको संख्या भने ४२ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ । त्यस्तै, कृषकहरुले उत्पादन गरेको ७० प्रतिशत वस्तु घरपरिवारमा नै खपत गर्नु परेको जोशीले बताए ।

कृषि उत्पादन गरेको वस्तु खपत र बेच्ने २५ प्रतिशतले मात्रै किसान रहेका छन् । नेपालमा उत्पादन गरेको सबै वस्तु बच्ने किसान १ प्रतिशत मात्रै रहेको तथ्याङमा देखिएको छ । कृषि उत्पादन गरेर वर्षैभर खान पुग्ने कृषक परिवार ४५ प्रतिशत रहेहेको तथ्याङ्कले देखाएको छ ।

कृषि गणना २०७८ अनुसार नेपालका १२ प्रतिशत किसानले मात्रै कृषि ऋण लिएको देखिएको छ । कृषि ऋण लिनेहरु २०६८ मा २२ प्रतिशत रहेको थियो । कृषि गणना २०७८ अनुसार कृषकहरुको कृषि ऋणमा चासो नदेखाएको देखिएको जोशीले जानकारी दिए ।

उनले कृषि बीमा गर्ने कृषकहरुमा ४ प्रतिशत मात्रै रहेको छ ।सरकारी अनुदानमा लिने कृषकहरुको संख्या ७ प्रतिशत मात्रै रहेको र ९३ प्रतिशत किसानहरु सरकारी अनुदानमा बेखबर रहेको पाइएको छ । गणना अनुसार मुख्य कृषक पुरुष हुने क्रम बिस्तारै घट्दै गएको छ । २०७८ को कृषिगणना अनुसार मुख्य कृषक महिला ३२ प्रतिशत रहेको छ ।

कृषक परिवारले १२,०९,२६५.५ हेक्टर जग्गामा सिँचाई सुविधा लिएको देखिएको छ । कृषक परिवार अन्तर्गतको जम्मा जग्गामध्ये ५४.५ प्रतिशत जग्गामा सिँचाई सुविधा उपयोग भएको देखिन्छ । तर अघिल्लो कृषिगणना २०६८ मा सिंचाई सुविधा उपयोग भएको गाको क्षेत्रफल ५२ प्रतिशत मात्र थियो । गणनाका अनुसार सिंचाई सुविधा लिएका कृषक परिवार ७० प्रतिशत हुन आएको देखिन्छ भने अघिल्लो कृषि गणनाले यो ६५ प्रतिशत रहेको देखाएको थियो ।

नेपालका करिव ४० लाख परिवार खेतीपातीमा आवद्ध भएको पाइएको छ । कृषि गणनाअनुसार ३९ लाख ९९ हजार परिवारले खेतीपाती गरेको र एक लाख ३२ हजारले पशुपंक्षी पालन गरेको पाइएको छ । छैटौं गणना २०६८ मा ३७ लाख १६ हजार परिवारले खतीपाती गरेको र एक लाख १६ हजारले पशुपंक्षी मात्रै पालेका थिए । अहिले यो परिवार संख्या बढेको पाइएको छ ।

राष्ट्रिय कृषि गणना २०६८ मा २५ लाख हेक्टर कृषियोग्य जमिन थियो । हाल २२ लाख हेक्टर मात्रै कृषियोग्य जमिन छ । कृषिगणना अनुसार कृषक परिवारको संख्या बढेपनि कृषियोग्य जमिन भने घट्दै गएको देखिएको छ । हिमालमा ०.२ प्रतिशत कृषक परिवार बढ्दा कृषियोग्य जमिन २१.७ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ ।

पहाडमा कृषक परिवार ७.७ प्रतिशतले बढेको छ भने १२ प्रतिशतले कृषि जग्गा घटेको छ । तराईमा ९.४ प्रतिशतले कृषक परिवार बढ्दा ११ प्रतिशतले कृषि जमिन घटेको छ । अस्थायी बाँझो जग्गा दोब्बरले बढेको कृषिगणनाले देखाएको छ । कृषि गणना २०६८मा ३० हजार हेक्टर अस्थायी बाँझो जग्गा भएपनि अहिले ६० हजार हेक्टर जग्गा अस्थायी बाँझो रहेको छ । कृषिगणना २०७८ ले नेपालमा कृषिकार्यको लागि ट्याक्टर प्रयोग गर्नेको सङ्ख्या दोब्बर भएको देखाएको छ ।

कृषि गणना २०६८ ले ८ लाख ४५ हजार कृषक परिवारले कृषिकार्यको लागि ट्याक्टर प्रयोग गरेको देखाएको थियो भने कृषि गणना २०७८ ले यो सङ्ख्या झन्डै दोब्बर भएर १६ लाख ३९ हजार पुगेको देखाएको हो । पछिल्लो १० वर्षको अवधिमा ४ लखा ७१ हजार २६० कृषक परिवारले कृषि कार्यका लागि पावर ट्रिलर प्रयोग गरेको र १ लाख १७ हजार ९९१ वटा पावर ट्रिलर सञ्चालनमा रहेको देखिन्छ । २०६८ र २०७८ दुई गणनाको तुलना गर्दा कृषक परिवारले प्रयोग गरेका फलामे हलोको सङ्ख्यामा उल्लेखनीय रूपमा गिरावट आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर