पोखराको कास्कीकोटमा साढे ५०० वर्ष पुरानो दहीको होली खेल्ने संस्कृति – Nepal Press

पोखराको कास्कीकोटमा साढे ५०० वर्ष पुरानो दहीको होली खेल्ने संस्कृति

पोखरा । बिहीबार बिहानै उनीहरु भारदारी चौतारीमा दही ल्याएर आए । दही चौतारीमा राखिएको भाँडोमा जम्मा गरे । त्यसपछि पूजापाठ भयो । त्रिपाठी, रानामगर, दुवाडी र अधिकारीले पूजाआजा गरे ।

पूजाआजापछि पुजारीहरु एकआपसमा दहीले होली खेल्न थाले । त्यसपछि विस्तारै उनीहरुले उपस्थित भएका सबैसँग दहीको होली खेले । उनीहरु एकआपसमा छापाछाप गरे । जात्रामा सहभागीहरुले एकअर्कालाई टाउको, अनुहार र शरीरमा दही दलिदिए ।

त्यसपछि श्रीकृष्णलाई रथारोहण गरे । श्रीकृष्णलाई क्षेत्रपाल, चण्डी, वराहा, बहासा, मनकान्छीमा दही छर्कंदै, पूजाआजा गर्दै करिब २ किलोमिटरको यात्रा रथारोहण गर्दै बासपानी कालिका मन्दिरमा विसर्जन भयो । विभिन्न सांस्कृतिक झाँकी, बाजागाजा सहित रथारोहण निकालिएको थियो ।

श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट परापूर्व कालदेखि नै पोखरा २४ कास्कीकोटमा दही जात्रा हुँदै आएको छ । सोहीअनुसार बिहीबार पनि दहीको होली खेलेर दही जात्रा मनाएका हुन् । सम्पदा संरक्षण मञ्च कास्कीकोट र स्थानीयले दही जात्रा आयोजना गरेका थिए ।

परापूर्वकालदेखि कास्कीकोटमा दही जात्रा मनाउँदै आएको गुप्तकालिका कश्यप धार्मिक क्षेत्र विकास समितिमा सचिव ठाकुरप्रसाद त्रिपाठीले जानकारी दिए । ‘यो परापूर्वकालदेखि सुरु भएको हो, १५२४ सालअघिबाट सुरु भएको इतिहासबाट सुन्न सकिन्छ । अहिले पनि यो जात्रा चलिरहन्छ,’ उनले भने ।

नेपालका शाह राजाहरुको उद्गम थलो कास्कीकोटमा तत्कालीन राजाहरुको दरबार अझै छ । त्यसैले पनि ऐतिहासिक कास्कीकोटमा शाह राजाहरुकालीन अरु सांस्कृतिक परम्परा पनि अझै जीवित रहेको त्रिपाठी बताउँछन् ।

पहिलेभन्दा अचेल दही जात्रामा जनसहभागिता कम भएको सचिव त्रिपाठीले सुनाए । ‘पहिलेपहिले त धेरै टाढाटाढाबाट आउँथे, पछिल्लो समय सबैको घरमा भैंसी पनि नहुने भयो,’ उनले भने, ‘पहिला आफूले ल्याएको दही केही लुकाएर पूजा गरिसकेपछि आफैआफै होली खेल्थे । अहिले त्यो चाहिँ केही कमी भएको छ ।’ परम्परागत संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ जात्रा आयोजना गरिएको त्रिपाठीले सुनाए ।

 

यो जात्रालाई संरक्षण गर्न वडाले सहयोग गरिरहेको वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी सुनाए । ‘हामीले अघिल्लो वर्ष यो जात्रालाई संरक्षण संवद्र्धन गर्न आर्थिक सहयोग गरेका थियौं, यसपालि पनि सहयोग गरेका छौं । यसलाई संरक्षण र प्रचारप्रसार गर्नु हाम्रो दायित्व हो । यसलाई हामी संरक्षण गर्छौं,’ उनले भने ।

परापूर्वककालदेखि चल्दै आएको दही जात्रा युवा पुस्तालाई हस्तान्तरण गर्न आवश्यक रहेको स्थानीय धनबहादुर नेपालीले बताए । ‘झन्पछि झन् जात्रामा जनसहभागिता कम हुँदै गएको छ । युवाको सहभागिता जात्रामा एकदमै कम हुन्छ । युवालाई पुस्ता हस्तान्तरण गर्नु जरुरी छ,’ उनले भने ।

 


प्रतिक्रिया

One thought on “पोखराको कास्कीकोटमा साढे ५०० वर्ष पुरानो दहीको होली खेल्ने संस्कृति

  1. Jarmashtami ko parwa nai ,Dahi matra n Bhai Nauni ko chepa chep ho. Bhagwat Saptah ma pani yo utshab ko Deen asudocha. Sri Krishna Janma…ko Addhaye ma. Pahila pahila rang Rogan KAHA hunthiyo ahile ko jasto chemical processes sangai..Organic products ko matrai prayog hunthiyo…Rangi Changi..Samagri ta loppa ..

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर