बालेनको आगो र अग्निशास्त्र – Nepal Press

बालेनको आगो र अग्निशास्त्र

नेपालको सबैभन्दा ठूलो तथा देशको मुख्य प्रशासनिक क्षेत्रका रूपमा परिचित रहेको सिंहदरबारमा २०३० साल असार २५ गते ठूलो आगलागी भयो । उक्त आगलागी त जसोतसो नियन्त्रणमा आयो । तर, जनताको मनमा लागेको आगो भने कहिल्यै शान्त हुन सकेको छैन । रोग, भोक र शोकका विरुद्धमा लागेको यो आगो अद्यापि प्रत्येकका मनमनमा लागिरहेकै छ । तर, यसरी दावानल बनेर सल्किएको आगोलाई आजसम्म शान्त गराइदिने कोही निस्किएका छैनन् भनेर भन्दा अत्युक्ति नहोला । यस्तैमा गएको शनिबार बेलुकीको समयमा आफ्नी पत्नी चढेको गाडीलाई ट्राफिक प्रहरीले रोकेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फेसबुकमा एक स्टाटस पोष्ट गरे । उनको स्टाटस यस्तो थियो-

आजको लागि केही भएन,
भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने,
सिंहदरबारमा आगो लगाइदिन्छु ।
याद राख, चोर सरकार !

रातारात चर्चित भएको यो स्टाटसलाई लिएर बालेन्द्रका बारेमा पक्ष, विपक्ष र तटस्थ गरेर तीन समूह देशभर र देश बाहिर समेत रहेको देखियो । केही दिनपछि उक्त स्टाटस हटाइयो । तर, यसले ल्याएको परकम्प भने अझै बाँकी छ ।

हुन त नेपाली समाज नै यस्तो छ कि यहाँ बालिने आगो चाहिँ स्वदेशी नै हुन्छ । तर, आगो लगाउन प्रयोग हुने इन्धन अरूले अन्तैबाट ल्याउँछ । आगोले जुन भाँडोलाई तताउने काम गर्छ, त्यो भाँडोको रूपरेखादेखि कतिसम्म तताउने हो, त्यसको निर्धारण पनि अन्तै हुन्छ । भाँडोमा प्रयुक्त हुने मकै अर्थात पड्किने र पाक्ने वस्तु चाहिँ नेपाली जनता नै हुन्छन् । समग्रमा हेर्दा आजसम्म नेपालमा जति पनि आन्दोलन भए, ती सबैमा आगोमात्रै नेपाली रह्यो । त्यसदेखि अतिरिक्त सबै कुरा नेपाल र नेपाली बाहिरका हुन् भनेर बुझ्न सकिन्छ ।

काठमाडौं महानगरपालिकाका मेयरको आक्रोशमा आएको अभिव्यक्ति कति ठीक र कति बेठीक ? त्यो अर्कै विषय हो । प्रस्तुत आलेखमा अग्नि र अग्निका बारेमा हाम्रा शास्त्रका कुरा अनि समाजका कुरा उल्लेख गरिएको छ ।

अङ्गति ऊध्र्वं गच्छति इति अग्निस् ।

गति (चलायमान) अर्थमा रहेको अङ्गि धातुबाट अग्नि शब्दको व्युत्पत्ति हुन्छ । निरन्तर माथितिर नै आकर्षित हुने तेज विशेष नै अग्नि हो र अग्निको नेपाली रूपान्तर नै आगो हो ।

जन्मदेखि मृत्युसम्म पनि अग्नि कार्य सम्पन्न गर्नैपर्ने हाम्रो संस्कृति छ । सडकमा आगो बाल्नेदेखि सदन तताउनेसम्मका यस्ता आगाका झिल्काहरू र समष्टि आगोको महिमा साँच्चै नै अवर्णनीय रहेको छ । हिन्दू शास्त्रहरूमा अग्निका हजार नाम पनि छन् । अग्निको मुख्य धर्म दहन गर्नु हो । अग्निमा भएको तातोपनले दहनको कार्य गर्छ ।

नेपाली सांगीतिक आकाशमा ‘थाहै थिएन दिल आगोविना नै जल्दो रहेछ’ देखि लिएर ‘आगो लाग्यो दिलैमा’ हुँदै ‘आगो पिएर बाँच्ने’सम्मका अनेक गीतहरू उपलब्ध छन् । यही आगोलाई लिएर सञ्जालदेखि समाजसम्म चर्का बहस भएका छन् । जन्मदेखि मृत्युसम्म पनि अग्नि कार्य सम्पन्न गर्नैपर्ने हाम्रो संस्कृति छ । सडकमा आगो बाल्नेदेखि सदन तताउनेसम्मका यस्ता आगाका झिल्काहरू र समष्टि आगोको महिमा साँच्चै नै अवर्णनीय रहेको छ । हिन्दू शास्त्रहरूमा अग्निका हजार नाम पनि छन् । अग्निको मुख्य धर्म दहन गर्नु हो । अग्निमा भएको तातोपनले दहनको कार्य गर्छ ।

पूर्वीय वाङ्मयमा अग्नि शब्दको प्रयोग वेददेखि उपनिषद् हुँदै लौकिक जीवनका क्षेत्रसम्म पनि भएको तथा अस्तित्वमा रहेको पाइन्छ । वैदिक शास्त्रमा त्रिदेवका रूपमा पुज्य अग्निलाई लौकिक जीवनमा पावक, पवमान र शुची तथा वैदिक श्रौताग्निमा आहवनीय, गार्हपत्य र दक्षिणाग्नि भनिन्छ भने जीवको शरीरमा हुने अग्निलाई जठराग्नि भनिन्छ । अग्निका उपासक अर्थात् भक्तको कहिल्यै पनि दुर्गति हुँदैन भन्ने शास्त्रीय मान्यता पनि छ । जीवात्माहरूको जन्मको क्रम पनि अग्निबाट नै हुने उल्लेख पाइन्छ भने ती अग्नि हुन्- द्युलोकाग्नि, पर्जन्याग्नि, पृथिव्याग्नि, पुरुषाग्नि, योषाग्नि । यी अग्निहरूको माध्यमबाट प्राणीको जन्म हुने र अग्निमार्गबाट नै परलोक गमन हुने अर्थात् भूलोक छाड्ने यात्राका बारेमा शास्त्रीय तथा सनातन विधान नै छ ।

हाम्रा वेदादि शास्त्रहरूले बताएको अग्नि शब्दले ३३ कोटी देवताको संकुचनमा हुने तीन देवतालाई प्रस्तुत गर्छ । ती हुन्- अग्नि, वायु र आदित्य । आदित्य द्युलोक (स्वर्गलोक)मा रहेको अग्नि हो भने वायु चाहिँ अन्तरिक्षमा रहेको अग्नि हो । त्यस्तै पृथ्वीको सबैले बुझ्ने अग्नि त अग्नि नै भइहाल्यो । यही पृथ्वीमा रहेको लौकिक अग्निमै सबै प्राणीको जीवन अडिएको हुन्छ । सबै प्राणीको जन्म, जीवन प्रवाह र विश्रान्ति (मृत्यु) पनि यही अग्निकै माध्यमबाट हुन्छ । हाम्रा उपनिषद्हरूले बताएका अर्चिरादि वा उत्तरमार्ग, धूममार्ग पनि अग्निमार्ग नै हो । अग्निकै माध्यमबाट जीवात्माको धर्तीमा आगमन हुन्छ । अग्निकै माध्यमबाट धर्तीबाट बहिर्गमन पनि हुने कुरा बृहदारण्यकोपनिषद्मा पनि आउँछ । जीवात्माको जन्मक्रमको व्याख्याक्रममा द्युलोक, पर्जन्यलोक, पृथ्वी, पुरुष र स्त्री हुँदै जन्म हुने हुन्छ । यसलाई शास्त्रीय भाषामा भन्नुपर्दा द्युलोकाग्नि, पर्जन्याग्नि, पृथिव्याग्नि, पुरुषाग्नि तथा योषाग्नि हुँदै जीवात्माको आगमन हुने हुन्छ । यो सनातन सिद्धान्त हो । जन्म, जीवनयापन तथा विश्रान्तिसमेत अग्निकै माध्यमबाट हुने भएकाले वैदिक धर्ममा अग्निलाई नै प्रधान देवता मानिएको हो ।

सबै प्राणीको जीवनको आधार अन्न हो । अन्नको सृष्टि अग्निमय भएको कुरा उपनिषद्मा आउँछ । सप्तान्न ब्राह्मणमा सात प्रकारका अन्नसृष्टिका बारेमा बताइएको छ, जसमा साधारण अन्न एउटा, देवताका लागि दुइटा, आत्मालाई तीनवटा र पशु (स्तनधारी)लाई एउटा । यी सबै अन्नहरूको भोक्ता र भोज्य दुवै रूपमा अग्नि हुन् भनि पनि सिद्ध गरिएको छ (बृहदारण्यकोपनिषद् १/५/१) । गाग्र्यले पनि अग्निब्रह्मकै व्याख्या गरेको कुरा बृहदारण्यकोपनिषद्मै आउँछ । त्यस्तै सुषुप्तिको विज्ञानमय पुरुष अनि स्वप्नको तैजस पुरुष पनि अग्निकै रुप रहेको व्याख्या पनि पाइन्छ । त्रिदेवको व्याख्यान रुप ३३ देवता बताउने क्रममा द्वादश आदित्य र अग्निमा त्रिदेव अर्थात् अग्नि, वायु र आदित्यको अन्तर्भूतमा पनि अग्नि विद्या नै आएको देखिन्छ । यसरी अग्नि सर्वत्र रहेको र अग्नि नै वैदिक धर्म मान्नेहरूको प्रधान देवताको रूपमा रहेको बुझ्न सकिन्छ । देवताहरूको विशेष तेज रहने र त्यो तेज पनि अग्निकै रुप रहेको बुझ्न सकिन्छ । खप्तड बाबाको देहान्तपछिको समयमा उनको आत्माले तैजस रुप धारण गरेर उत्तर दिशातर्फ गएको कुरा जनश्रुति छ । जीवहरूको शरीरमा पनि अग्निकै बास हुने भएकाले जीवन रहुञ्जेलसम्म शरीर तातो रहने हुन्छ भने जीवनको अभावमा शरीर चिसो रहने कुरा सर्वत्र अनुभूति भएकै पनि हो ।

सबै प्राणीको जन्म, जीवन प्रवाह र विश्रान्ति (मृत्यु) पनि यही अग्निकै माध्यमबाट हुन्छ । हाम्रा उपनिषद्हरूले बताएका अर्चिरादि वा उत्तरमार्ग, धूममार्ग पनि अग्निमार्ग नै हो । अग्निकै माध्यमबाट जीवात्माको धर्तीमा आगमन हुन्छ । अग्निकै माध्यमबाट धर्तीबाट बहिर्गमन पनि हुने कुरा बृहदारण्यकोपनिषद्मा पनि आउँछ ।

पुराणहरूमा व्यक्त शिव, ब्रह्मा, विष्णु, देवी, श्रीकृष्ण आदि देवताहरूलाई हामीले हाम्रा इन्द्रीयहरूका माध्यमले भेट्न वा दर्शन गर्न सक्तैनौं । हामीले कि त साधनालाई उच्च तहमा पुर्‍याएर तिनको अपरोक्ष साक्षात्कार गर्नुपर्छ नत्र मूर्त अर्थात् मूर्तिमत ईश्वरको साक्षात्कार दुर्लभ हुन्छ । तसर्थ हामीले वेदोक्त प्रस्तुत भएका त्रिदेव अर्थात् अग्नि, वायु तथा आदित्य- यी देवताहरूलाई प्रत्यक्ष साक्षात्कार गर्न सक्छौं । वेदोक्त यी देवताहरूलाई बुझ्न सहज हुने हिसाबले नै पुराणहरूमा ब्रह्मा, विष्णु, शिव आदिको साकार रूपको व्याख्या गरिएको हो । मूलतः वेदोक्त अग्नि, वायु र आदित्य नै हाम्रा प्रधान देवता हुन् ।

यसैको अर्काे रूपमा शाक्ततन्त्रमा स्त्री स्वरुपा महाकाली, महालक्ष्मी, महासरस्वती हुन् भने वैष्णवतन्त्रमा महाविष्णु, शैवतन्त्रमा शिव, शाक्ततन्त्रमा देवी, गाण्यपत्यतन्त्रमा महागणेश आदि नामले उपासना गर्ने र तदनुकूलको इष्टदेवता मान्ने चलन पनि छ । वैदिकहरूमा भने अग्निलाई नै इष्टदेवता मान्ने र अग्न्याधानादि कर्मबाट अघि बढ्ने परम्परा देखिन्छ । बुझ्नलाई सहज हुने हिसाबले यथाशक्ति र यथापरम्परा पूजन गरिने गरिएको भए पनि मूलतः सबैले मान्ने प्रधान देवता अग्नि नै रहेको बुझ्न सकिन्छ । नेपाली समाजमा भोजन बनिसकेपछिको अवस्थामा पहिलो गाँसस्वरूप थोरै खानेकुरा अग्निलाई चढाउने प्रचलन अद्यापि कायमै छ । यसरी हेर्दा पनि समग्रमा हाम्रो प्रधान देवता अग्नि नै रहेको बुझ्न सकिन्छ । अग्निका उपासकहरूको कहिल्यै अधोगति वा दुर्गति नहुने कुरा वैदिक शास्त्रहरूमा पाइन्छ ।

त्यस्तै स्थूल सृष्टिका पाँच महाभूतमध्येको एक भूत अग्नि पनि हो । यही अग्नि नै सर्वव्यापक रहेको छ । अग्नि नै हाम्रो प्रधान देवता भएको कुरा हाम्रा शास्त्र र परम्पराले बताइरहेकै छन् । भोजन बनिसकेकोपछिको पहिलो गाँस अग्निलाई चढाउनेदेखि पेटको अन्नलाई समेत पचाउने काम अग्निले नै गर्छ । शास्त्रले बताएका विविध कृत्यहरू गरेर अग्निकै उपासना गरिन्छ भने भोजन गरेर पेटको अग्निको उपासना गर्ने गरिन्छ । अग्नि सर्वभक्षक भए पनि देवता, पितृ तथा मनुष्य सबै अग्निकै माध्यमले तृप्त हुन्छन् भने अग्निकै उपासना वैदिक उपासना रहेको बुझ्न सकिन्छ । अग्नि नै सबैको उपास्य देवता रहेको र अग्नि नै भोक्ता र भोज्य रूपमा रहेका हुनाले अग्निसम्बन्धी विद्यालाई अग्निविद्या वा अग्निशास्त्र पनि भन्न सकिन्छ । अग्निकै विषयमा एक लोककथा प्रसिद्ध छ । उक्त लोककथा यस्तो छ-

कुनै समयको कुरा हो । एक गाउँमा एक वृद्धा स्त्री बस्ने गर्थिन् । तिनले यौवनावस्थामै पति गुमाएकी थिइन् । वृद्धावस्थामा पनि एक जवान पुत्र गुमाएर नितान्त एकान्तवासमा रहने गर्थिन् । यस्तैमा एक रात एक्कासि उनी निकै जोरले चिच्याइन् । आगो ! आगो ! आगो ! लौन, कसैले यो आगो निभाइदेऊ । आगो लाग्यो, आगो लाग्यो । सबै कुरा जल्न लागे । सबै कुरा बर्बाद हुन लाग्यो । गुहार ! गुहार ! गुहार !

वृद्धाको करुण क्रन्दन सुनेर गाउँका सबै मानिस भेला भए । मध्यरात नभनिकन आगो निभाउन सबै तयार भए । यी सबै तयारीमा गाउँका सबै खाले उमेर र समुदायका मानिसहरू संलग्न थिए । सबै जना ती वृद्धाको घरभित्र पसेर भन्न थाले- खै, कहाँ लाग्यो आगो ? आगो कहाँ लागेको छ ? देखाउनुहोस् ।

आगो निभाउन भनेर आएको समूहले आगो नदेखेर ती वृद्धालाई आगोका बारेमा जानकारी दिन अनुरोध गरे । तब ती वृद्धाले भनिन्– आगो बाहिर होइन, आगो त भित्र लागेको छ । मेरो दिलभित्र । मेरो दिलभित्र लागेको आगो निभाउनुपरेको छ । यो आगोले मलाई नै जलाइरहेको छ । एकपछि अर्को भरोसाका आधारहरू, जीवनका आशाका आधारहरू भत्किएको देखेर र जीवनको क्षणभंगुरता देखेर मेरो दिल नै जलेको छ । तपाईंहरू सबै आगो निभाउन भनेर आउनुभएको छ । कृपया दया गरेर मेरो हृदयमा लागेको आगोलाई निभाइदिनुहोस् र मलाई शान्तिको आभास गराइदिनुहोस् ।

हामीले वेदोक्त प्रस्तुत भएका त्रिदेव अर्थात् अग्नि, वायु तथा आदित्य- यी देवताहरूलाई प्रत्यक्ष साक्षात्कार गर्न सक्छौं । वेदोक्त यी देवताहरूलाई बुझ्न सहज हुने हिसाबले नै पुराणहरूमा ब्रह्मा, विष्णु, शिव आदिको साकार रूपको व्याख्या गरिएको हो । मूलतः वेदोक्त अग्नि, वायु र आदित्य नै हाम्रा प्रधान देवता हुन् ।

वृद्धाको यस्तो वचन सुनेर आगो निभाउन आएको त्यो गाउँले अग्निनियन्त्रकको टोली अचम्ममा पर्‍यो । मध्यरातमा अनावश्यक दुःख दिएको भन्दै कसैले ती वृद्धालाई गाली गर्दै आफ्नो बाटो लागे भने कोही गम्भीर बन्न पुगे । कोही संसारको रीत नै यस्तै छ भनेर ती वृद्धालाई चित्त बुझाउनेतर्फ अग्रसर भए । तर, कसैगरी पनि ती वृद्धाको हृदयको अग्नि शमन हुन सकेन । अन्तिम समयमा जब लगभग सबैजना वृद्धाको घरबाट निस्किसकेका थिए ।

त्यही बेलामा एक नवयुवकले आएर ती वृद्धासँग भने- ‘आमै ! तपाईंको हृदयमा साँच्चैको आगो लागेकै हो भने त्यो आगो निभाउने एक उपाय छ । म तपाईंलाई त्यो उपाय सुनाउँछु, ध्यान दिएर सुन्नुहोला । तपाईंको हृदयमा आगो कसले लगायो ? किन लगायो ? त्यो आगो कसरी बनेको छ ? त्यसको जलनबाट कसरी बच्न सकिन्छ ? आगोको सुरुवात र त्यसको अन्त्यसम्मको जानकारी तपाईंले आफूभित्रै गएर खोज्न सक्नुभयो भने अवश्यै पनि तपाईंको हृदयको आगो शान्त हुनसक्छ र जीवनमा सुखको अनुभूति पनि हुनसक्छ । यसरी मध्यरातमा चिच्याएर वा बाहिर बाहिर आगो निभाउने कोसिस गरेर तपाईंको हृदयमा लागेको आगो कहिल्यै पनि निभ्न सक्नेछैन । यसले न तपाईंलाई जिउन दिन्छ न त मर्न नै । त्यसैले यो आगो शान्त गराउनुछ भने आजैबाट, अहिल्यैबाट आगोका बारेमा इतिवृत्तान्त जान्ने कोसिस गर्नुस् । आफैंले आफैंलाई आफ्नै नजरले र अरूका नजरले समेत हेर्नुहोस् । सबै कुराको जवाफ र उपाय त्यहीं नै पाउनुहुनेछ ।’

ती वृद्धाले युवकसँग भनिन्- ‘बाबु ! देखिने आगो त सबैले निभाउँछन् । तर, नदेखिने, अदृश्य रूपले जलाइरहेको त्यो अग्निलाई कसले निभाउने ? म अब आफ्नो आगो आफैंले निभाउन नसक्ने अवस्थामा पुगिसकेको छु । उमेर पनि ढल्न लागेको छ । समय छँदै निभाउन नसकेको यो आगोले मलाई लामो समयदेखि पोलिरहेको छ । अब यो आगो निभाउने जिम्मा तिमीहरू जस्ता नवजवानहरूको हातमा छ ।’

यही अग्निको ज्वरले हामी नेपाली युगौंदेखि प्रज्ज्वलित छौं । तर, आजसम्म यो अग्नि कसैले निभाउन सकेन । हाम्रा सडकले धेरै अग्निको स्वरूप देखेको छ । धेरै आगजनी भएको छ, यो देशमा । सबै आए, आगो नै लगाएर गए । मुलुकभर यसरी सबैको हृदयमा फैलिएको आगोलाई निभाएर नवनिर्माणको, शान्ति र उन्नयनको अभिभारा बोकेर हिँड्ने जिम्मेवारी कसको हो ? समय रहँदै आगोको भयानक ज्वालालाई चिनेर आफ्नो कर्तव्य पूरा गर्दै अघि बढ्न सक्यौं भने जलाशयको धनी यो देश वैभव र शान्तिको धनी बन्न सक्नेछ र विनाशका ज्वालाहरू स्वतः शान्त भएर जानेछ ।

तर, यो मुलुकको दुर्भाग्य ! आजसम्म यो अग्निशास्त्रलाई कसैले बुझ्न सकेन । कसैले यसलाई निभाउन सकेन । कसैले यसको मूल कहाँ छ र यसको स्वरूप कस्तो छ भनेर बुझ्न सकेन । अग्निशास्त्रका यी महिमा बुझ्न सक्ने समझदार, इमानदार र कर्तव्यशील, जागरुक युवा पुस्ताले नै जनताको हृदयमा लागेको आगोलाई निभाउन सक्ने र यो देशलाई विनाश हुनबाट जोगाउन सक्नेछ । आशा गरौं ! हृदयका अदृश्य आगोका ज्वालाहरूलाई आगामी दिनमा यथाशीघ्र शान्त गराउन सक्ने अग्निशास्त्रका जानकारहरूको उदय हुनेछ, जसले अग्निको बहुउपयोग गर्दै यसलाई केवल मानव कल्याणका लागि मात्रै उपयोग गर्न सक्नेछन् ।


प्रतिक्रिया

One thought on “बालेनको आगो र अग्निशास्त्र

  1. वैज्ञानिकहरुको दाबी अनुसार मानव सभ्यताको विकासक्रममा आगोको आविष्कारसंगै जीवन थप सहज हुँदै अहिलेको मानव सम्भव भएको हो । आफ्नो जीवनलाई सहज बनाउने हरेक कुरामा भगवान देखेर पुजा गर्ने संस्कार सायद त्यसकै उपज हो । तर आफ्नो दुःख/समस्याको समाधानमा भगवानको चमत्कारको आशामा मानिसलाई नै भगवान बनाउन वा मान्न थालेपछि व्यक्तिवादी सोच हावी हुन पुगेको हो । व्यक्तिलाई होइन उसको कर्मलाई पुज्ने संस्कार बसाउन सक्यौं भने अहंकारको समस्या पनि आफेै शान्त हुन थाल्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *