मुख्यसचिव अर्याल भन्छन्- कर्मचारीले सोच, शैली र तौर तरिकामा सुधार गर्नुपर्नेछ – Nepal Press

मुख्यसचिव अर्याल भन्छन्- कर्मचारीले सोच, शैली र तौर तरिकामा सुधार गर्नुपर्नेछ

काठमाडौं । सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले निजामती कर्मचारीभित्रका सोच, शैली र तौर तरिकामा सुधार गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

शुक्रबार २०औं निजामती सेवा दिवसको अवसरमा आयोजित समारोहमा उनले एकात्मक ढाँचाको प्रशासन यन्त्रलाई संघीय शासन व्यवस्था अनुकुल हुनेगरी रुपान्तरण हुनुपर्ने बताए । मुख्यसचिव अर्यालले मुलुकले अंगीकार गरेको विकास, समृद्धि र सुशासन र दीर्घकालीन लक्ष्यलाई व्यवहारमा उतार्न समग्र निजामती प्रशासन अझ बढी सिर्जनशील र व्यवसायिक हुनुपर्ने खाँचो औंल्याए ।

उनले भने, ‘आम नागरिकले अपेक्षा गरेअनुरूप आफूलाई गतिशील र प्रभावकारी बनाइ कानूनको कार्यान्वयन, नागरिकमैत्री सेवाप्रवाह, सदाचार र निष्ठासहित २१ औं शताब्दीको सार्वजिनक प्रशासनका आदर्श, मूल्यमान्यतामा आफूलाई खरो उतार्नुपर्ने चुनौती हामीसामु छ । संविधानबमोजिम संघीय इकाइबीच प्रशासनिक समन्वय कायम गर्दै सार्वजनिक प्रशासनलाई सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त बनाउँदै नागरिकले प्रत्यक्ष अनुभुति गर्नेगरी सुशासनको प्रत्याभूति दिलाउनु हाम्रो प्राथमिक अभिभारा हो ।’

मुख्यसचिव अर्यालले मुलुकको प्रशासन यन्त्रलाई सक्षम, गतिशील र परिणाममुखी बनाउन निजामती सेवाभित्र रहेका समस्याको उचित समाधान खोज्नुपर्ने बताए । प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूको सेवा सुविधा तथा व्यक्ति विकासको सम्बन्धमा द्विविधा रहेको, मार्गदर्शक कानूनको अभावमा प्रादेशिक तथा स्थानीय कानून तर्जुमाको लागि आधार सिर्जना हुन नसक्दा प्रदेश र स्थानीय तहमा कर्मचारी अभावको स्थिति रहेको उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर