निजामती सेवा दिवसकै दिन लुम्बिनीमा कर्मचारी विधेयक पारित गर्ने तयारी
रुपन्देही । संघीय सरकारले भन्दा पहिले लुम्बिनी प्रदेशले निजामती कर्मचारी विधेयक पास गर्ने भएको छ । संघीय सरकारले हिजोमात्र निजामती सेवा विधेयक सदनमा पेस गर्ने निर्णय गरेको थियो ।
शुक्रबारको कार्यसूचीमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदनसहितको विधेयकमाथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने राखिएको छ ।
एक महिनापछि सुरू प्रदेशसभा बैठकमा बिहीबार ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’ पेस भएको थियो । उक्त विधेयक साउन १२ मा बसेको प्रदेशसभाको २३ औं बैठकले दफावार छलफलका लागि प्रदेश मामिला तथा कानून समितिमा पठाउने निर्णय गरेको हो ।
समितिमा विधेयकमाथि दफावार छलफलपछि थप सुझाव संकलन गर्ने उद्देश्यले भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा उपसमिति गठन गरिएको थियो । उपसमितिले सरोकारवाला, विज्ञ समूहसँग समेत सुझाव संकलन गरेको त्यसको आधारमा तयार गरिएको प्रतिवेशन बिहीबारको बैठकमा समितिका जेष्ठ सदस्य सुधाखर पाण्डेयले पेस गरेका हुन् । विधेयक आजको बैठकमा निर्णयार्थ पेस गरिँदै छ ।
प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले सभामा पेस भएको प्रतिवेदन २४ घण्टापछि बस्ने अर्को बैठकले पारित गर्न निर्णयार्थ पेस गर्ने व्यवस्था रहेकाले शुक्रबारको बैठकमा पारित हुने बताए । ‘आजको बैठकमा निर्णयार्थ पेश गर्ने कार्यसूची छ, संभवत आजै पास हुन्छहोला’ उनले नेपाल प्रेससँग भने ।
एमाले सांसद भोजप्रसाद श्रेष्ठले शुक्रबार कर्मचारी विधेयक पास हुन सक्ने तर सदन केही दिन चलाउनुपर्ने पक्षमा आफूहरू रहेका बताए ।
‘आज कर्मचारी विधेयक निर्णयार्थ पेश हुन्छ, दुई वटा बैठक छन् । आज लामो समय चल्छ, बोल्ने सांसदहरु पनि धेरै हुनुहुन्छ, अधिवेशन सकाउने कुरा सरकारमा भर पर्छ, हामीलाई केही सूचना दिइएको छैन’, उनले भने, ‘सरकारले विषयगत समिति नबनाएर टार्न खोजेको छ, सदन अन्त्य गरेर यो रोक्न खोजिएको हुनसक्छ, अझै नबनाउने नियत हो । विषयगत समिति मिनी संसद हो यसबाट सरकार डराएको छ, ९ महिनासम्म रोकेर सरकारले आफ्ना गल्ती ढाक्ने प्रयास गरिरहेको छ ।’
सरकारले शुक्रबारपछि दोस्रो अधिवेशन अन्त्य गर्ने तयारी गरेपनि एमालेले विरोध गरेकाले नहुने भएको छ । प्रदेशसभा सचिव पुनले सदनको अन्त्य गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले नगरेकाले आज नहुने बताए ।
बिहीबारको बैठकमा सभामुख घर्तीले प्रदेश प्रमुखको कार्यालयबाट विधेयक प्रमाणीकरण भएको पत्र पढेर सुनाएका थिए । प्रदेश सभाको दोस्रो अधिवेशनमा पेस भएर छलफलपछि साउन १२ को बैठकबाट पारित भएको स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएको जानकारी गराएका थिए । त्यस्तै सभामुख घर्तीले विषयगत समितिका सदस्य सम्बन्धित दलहरुको सिफारिसमा हेरफेर गरिएको पनि सभालाई जानकारी गराएका छन् ।
बैठकमा शून्य समयमा एक दर्जन प्रदेश सभा सदस्यले समसामयिक विषयमा बोल्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेश सभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्ने सांसदले बाढीपहिरोले पुर्याएको क्षति, स्वास्थ्य क्षेत्रमा भएको विकृति, महँगी, चाडपर्व नजिकिँदै गर्दा सडक पूर्वाधार, मिटर ब्याजीको आतंक, व्यवसायीमा बढेको निराशा र नागरिकका जनजीविकाको विषयमा बोल्दै सरकारले प्राथमिकता नदिएको बताए । शुक्रबार दुई चरणमा हुने बैठकमा धेरै सांसदहरुले बोल्ने कार्यसूची रहेको छ ।