बेइजिङमा शंकर पोखरेलले सुनाए आगामी निर्वाचनमा एमालेको एकल बहुमत ल्याउने योजना
पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सिधा उडान गर्न आग्रह
बेइजिङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चिनियाँ नेताहरुलाई विश्व शान्ति स्थापनाको लागि दक्षिण एसियामा गरिबी निवारण कार्यक्रम र परियोजना सञ्चालन गर्न सुझाव दिएका छन् ।
बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय विदेश विभागमा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा उनले विश्व र दक्षिण एसियामा स्थायी शान्ति स्थापनामा चीनको भूमिका नेतृत्वदायी हुने उल्लेख गरे ।
चीनले गरिबी निवारणका लागि काम गर्नुपर्नेमा जोड दिए । चीनको सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र चिनियाँ निर्माण व्यवसायीहरुले बनाएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सीधा उडानका लागि आग्रह गरे ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले १० वटा औद्योगिक क्षेत्रहरु तोकेर देशलाई औद्योगीकरणमा लैजाने योजना बनाएको जानकारी दिँदै चिनियाँ उद्योगीहरुलाई नेपालमा लगानीका लागि आग्रह पनि गरे ।
चिनियाँ कम्युनष्टि पार्टीका महासचिव राष्ट्रपति सी जिनपिङको नेतृत्वमा नयाँ युगका लागि चिनियाँ विशेषतासहित समाजवाद स्थापनाका लागि सफलतापूर्वक रुपमा अघि बढेको देख्दा खुशी लागेको बताए ।
उनले भने, ‘महासचिव सीको नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवाद स्थापनामा चीन सफलतापूर्वक अघि बढेको देख्दा हामीलाई खुशी लागेको छ ।’
एमाले पनि मार्क्सवादको नयाँ सिर्जनात्मक अभ्यास गरिरहेको जानकारी दिँदै चिनियाँ कम्युनिष्ट पार्टीले गरेको अभ्यास र एमालेले गरेको अभ्यासको आदानप्रदानमा जोड दिए । ‘दुवै पार्टीले गरेको अनुभव र अभ्यासको आदानप्रदान जरुरी छ । त्यसले भबिष्यमा दुई पार्टीबीचको सम्बन्धले नयाँ उचाई प्राप्त गर्नेछ’, उनले थपे ।
एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउने लक्ष्यसहित मिसन ग्रासरुट अभियानपछि मिसन-२०८४ अभियान चलाइरहेको जानकारी समेत गराए। आगामी २०८४ सालमा नेकपा एमालेलाई बहुमतसहितको पार्टी निर्माणको योजनासहित काम गरिरहेको सुनाए ।
कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागका दक्षिण एसिया ब्यूरोका डाइरेक्टर जनरल पिङसिउपिनले एमालेसँग चिनियाँ कम्युनिष्ट पार्टीको गहिरो र घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै इमानदारिताको साथ गहिरो सम्बन्ध जारी राख्ने विश्वस व्यक्त गरे ।
महासचिव पोखरेलको उच्चस्तरीय भ्रमणलाई चिनियाँ कम्युनिष्ट पार्टीले उच्च महत्व दिएको समेत बताए । नेता सिउपिनले सबैभन्दा व्यवस्थित संगठन भएको पार्टीको रुपमा एमालेलाई पाएको समेत बताए । महासचिव पोखरेल नेतृत्वको उच्चस्तरीय भ्रमण दल बिहीबार साँझ छोङछिङबाट बेइजिङ आइपुगेको थियो ।
छोङछिङमा महासचिव पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य युआन जियाजुनलगायतका नेताहरुसँग भेट गरेका थिए। बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखलगायतका उच्च नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ ।