दोलखाको चरिकोटमा रास्वपाको बागमती प्रदेशस्तरीय प्रशिक्षण सुरु
दोलखा । राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आजबाट दोलखाको चरिकोटमा सुरु भएको छ ।
पार्टीको नीति, सिद्धान्त र रणनीतिबारे पार्टी सदस्यहरूलाई जानकारी दिने उद्देश्यले प्रशिक्षण कार्यक्रम गरिएको हो ।
कार्यक्रमको उद्घाटन पार्टीका उपसभापति डोलप्रसाद अर्यालले घण्टी बजाएर गरे । कार्यक्रममा १३ जिल्लाका नेताहरूलाई सम्बोधन गर्दै अर्यालले विभिन्न निर्देशनसमेत दिएका थिए ।
उनले सबै जिल्लामा आन्तरिक पर्यटनलाई बढाउन अनुरोधसमेत गरे । पार्टीभित्र अत्यन्तै व्यस्त नेतामध्ये पर्छन् अर्याल। दुई दिनअघि मात्रै उनी खुला सभालाई सम्बोधन गर्न ताप्लेजुङ पुगेका थिए । भोलि उनी लुम्बिनी प्रदेशको तिलोत्तमामा सम्बोधन गर्न जाने उनको सचिवालयले जनाएको छ ।
शुक्रबार सहमहामन्त्री एवं संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटी, अनुशासन आयोग प्रमुख डा. भरत देवकोटा, संगठन विभाग सचिव शंकर श्रेष्ठ, केन्द्रीय सदस्यहरू विष्णुकुमार श्रेष्ठ, विपिनकुमार कार्की, केन्द्रीय प्रशिक्षण विभाग सचिव कमल सवेदीले प्रशिक्षण दिनेछन् ।
शनिबार पार्टी सभापति रवि लामिछाने, महामन्त्री डा. मुकुल ढकाल, प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियार, सांसदहरू शिशिर खनाल, सुमना श्रेष्ठ, केन्द्रीय प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाहले प्रशिक्षण दिनेछन् ।