फैलिँदो लोकप्रियतावाद र मूलधारको पत्रकारिता
सेतोपाटी अनलाइनको फेसबुक पेजमा गत मंगलबार साँझ (भदौ १९ गते) एउटा लिंक शेयर भयो । उक्त लिंक सेतोपाटीका प्रधान सम्पादक अमित ढकालले लेखेको ‘छोटे महाराज र बडे महाराजबीच च्यापिएको लोकतन्त्र’ शीर्षकको लेख थियो ।
त्यस लेखमा बालेन शाहले आफ्नी पत्नी सवार सरकारी गाडी प्रहरीले चेकिङमा रोकेपछि फेसबुकमा लेखेको स्टाटसको सन्दर्भमा उनलाई ‘छोटे महाराज’ भनेर आलोचनात्मक टिप्पणी गरिएको थियो । बुधबार साँझसम्म करिब २४ घण्टामा उक्त पेजमा ७७ कमेन्ट थिए । तीमध्ये ७२ कमेन्ट लेखक र मूलधारका सम्पादकहरुलाई गरिएका तथानाम गाली थिए ।
०००
भोलिपल्ट बिहान नेपाल एफएमको बिहान ६ बजेको नेपाल डायरीमा बालेन शाहबारे रुटिन अफ नेपाल बन्द पेजले दिएका सूचना र पछि पेज बन्द भएको बारेमा समाचार वाचन गरिएको थियो । एक मिनेटको अवधिमा बालेनको पक्ष र समाचारको विपक्षमा गालीगलौजसहितका १२ कमेन्ट पोष्ट भए ।
०००
भरतपुरमा रवि लामिछानेले सञ्चालन गरेको ‘ब्लू बस’ र ‘मोबाइल क्लिनिक’को वैधानिकता र स्रोतबारे प्रश्न उठाएर प्रकाशित समाचारहरुमा रास्वपामात्रै होइन देशभरको एउटा जमात नै मिडियाविरुद्ध खनियो । रविको ‘जयजयकार’मा सामाजिक सञ्जालमा जुलुसै निस्के ।
०००
यी सन्दर्भहरु यहाँ जोड्न खोज्नुको कारण सामाजिक सञ्जालमा बोलेर कहलिएका केही सेलिब्रेटीहरुले गरेका ‘स्टन्ट’बाजी र अराजक अभिव्यक्तिका पक्षमा यति ठूलो संख्यामा मान्छेहरु कुद्नुको पछाडि केले काम गरिरहेको छ भन्ने पृष्ठभूमि खोतल्न जरुरी ठानेर नै हो ।
सामाजिक सञ्जालहरुमा यसरी देखिएका आक्रोशभित्र मुख्यगरी स्वदेशमा सम्भावना नदेखेर विदेशिएका युवाको अन्धराष्ट्रवाद र भित्री रुपमा अरु धन्दा चलाउने र बाहिर अनेक ‘स्टन्ट’बाजी गरेर स्वघोषित असली समाजसेवी र राजनीतिज्ञ बनेका व्यक्तिहरुका अन्धभक्तहरु पोखिएका छन् । यो चिट्चिटाहट र हल्लाभित्रको मुख्य कारण राजनीतिमा फैलिएको लोकप्रियतावाद हो भनेर किटान गर्न सकिन्छ ।
अति आधारभूत विषयलाई मुद्दा बनाउने, त्यसलाई संसार परिर्वतन यसैबाट मात्रै सम्भव छ भन्ने तरिकाबाट प्रस्तुत गरेर सर्वसाधारणलाई कामकाजी सत्ताविरुद्ध प्रयोग गर्ने, अन्ततः व्यवस्था परिवर्तन र सत्ता प्राप्तिमा प्रयोग हुने ‘टुल’का रुपमा ‘पपुलारिज्म’को इतिहास भेन्टिन्छ ।
यसले नेपालको मूलधारको राजनीतिलाई मात्रै गाँजेको छैन, आमसञ्चार माध्यम यसको नमज्जाले शिकार भएका छन् । कसरी नेपाली मूलधारको पत्रकारिता लोकप्रियतावाद (हिरोइज्म, पपुलारिज्म जे भने पनि) को शिकार बन्दैछ भनेर प्रमाणित गर्न माथिका उदाहरणहरु काफी छन् ।
के हो लोकप्रयितावाद ?
लोकप्रियतावादलाई अहिले एउटा सिद्धान्त मान्न थालिएको छ । यसले अराजकतावादको जगको पनि काम गर्छ । सामान्य भाषामा भन्दा अति साधारण मानिने सरोकारहरुलाई अतिरञ्जनायुक्त लेप लगाएर उचालिन्छ । त्यो उत्तेजना र आवेगलाई क्यास गरेर विद्यमान व्यवस्थाले हामीलाई दुःख दिएको हो, त्यसलाई ध्वस्त बनाउनुपर्छ भन्ने भावनाको विकास गर्दै त्यसका विरुद्ध जनमतका रुपमा प्रयोग गर्ने शैली नै लोकप्रियतावाद हो ।
नेपालमा विभिन्न स्वरुप र अवस्थामा ‘पपुलिज्म’को प्रयोग हुँदै आए पनि यसको विकास भने अमेरिकामा भएको पाइन्छ । अमेरिकी लेखक माइकल केजिनका अनुसार लोकप्रियतावाद १९औं शताब्दीमा संयुक्त राज्य अमेरिकामा उदायो । विस्तारै यसले पश्चिम युरोपतिर सन् १९७० को दशकमा ठाउँ लियो । सन् २००८-०९ ताका देखिएको आर्थिक मन्दीपछि युरोप र अमेरिकामा दक्षिणपन्थी, वामपन्थी सबैखाले राजनीतिमा लोकप्रियतावाद हावी हुन थालेको पत्रकार तथा लेखक जोन बी जुडिसले ‘दि पपुलिष्ट एक्सप्लोजन’ पुस्तकमा उल्लेख गरेका छन् ।
अति आधारभूत विषयलाई मुद्दा बनाउने, त्यसलाई संसार परिर्वतन यसैबाट मात्रै सम्भव छ भन्ने तरिकाबाट प्रस्तुत गरेर सर्वसाधारणलाई कामकाजी सत्ताविरुद्ध प्रयोग गर्ने, अन्ततः व्यवस्था परिवर्तन र सत्ता प्राप्तिमा प्रयोग हुने ‘टुल’का रुपमा ‘पपुलारिज्म’को इतिहास भेन्टिन्छ । नेपालको राजनीतिमा अहिले मूलधार बाहिर यसको बृहत प्रयोग भइरहेको छ । र, यसका अगुवाका रुपमा बालेन र रविको छायाँभित्र ठूलो समूह सक्रिय छ ।
२०५१ सालमा एमाले सरकारले अगाडि सारेको लोककल्याणकारी कार्यक्रमसहितको बजेटलाई तत्कालीन विपक्षी नेपाली कांग्रेसले ‘पपुलिस्ट’ भनेर विरोध जनाएको थियो । त्यसपछि यो शब्दावलीको प्रयोगले व्यापकता पाएको हो । तर, उबेला कांग्रेसले भनेको ‘पपुलिस्ट’को शिकार अहिले गगन थापाहरुको आवरणमा कांग्रेस आफैं भइरहेको छ ।
प्रयोग र शैली
‘पपुलिस्ट’ अहिले सिने क्षेत्रमा ‘सेलिब्रटी’का रुपमा शानदार प्रयोग भइरहेको छ । लोकप्रियतावादीहरुलाई पूँजीवादीहरुले ‘क्यारिस्मेटिक’ लिडर भनेर पनि व्याख्या गर्न थालेका छन् । सारमा अहिले मान्छेलाई प्रोक्सी मुद्दाबाट दिग्भ्रमित बनाएर पछि लगाउने शैली नै लोकप्रियतावाद (पपुलारिज्म वा पपुलिस्ट वा हिरोइज्म) हो । ग्रीक दार्शनिक एरिस्टोटलले मान्छेलाई तीन तरिकाले पछि लगाउन सकिने तर्क गरेका छन् । पहिलो, तथ्यमा टेकेर विश्वसनीयता र नैतिकतालाई पत्याउने । दोस्रो, तर्कमार्फत आफ्ना कुरामा सहमत गराउने र तेस्रो, अरुको संवेदना र भावनामा खेलेर भड्काउने । सामाजिक सञ्जालहरुमा पहिलो र दोस्रो कुराका बारेमा छलफल नै हुन छाडेको छ । मानौं ती आउटडेटेड भइसके ।
२०५१ सालमा एमाले सरकारले अगाडि सारेको लोककल्याणकारी कार्यक्रमसहितको बजेटलाई तत्कालीन विपक्षी नेपाली कांग्रेसले ‘पपुलिस्ट’ भनेर विरोध जनाएको थियो । त्यसपछि यो शब्दावलीको प्रयोगले व्यापकता पाएको हो । तर, उबेला कांग्रेसले भनेको ‘पपुलिस्ट’को शिकार अहिले गगन थापाहरुको आवरणमा कांग्रेस आफैं भइरहेको छ ।
अहिले एरिस्टोटलको तेस्रो विधि अति लोकप्रिय छ । सामाजिक सञ्जालहरुमा अरुका भावना र संवेदनामा खेल्ने, न्यूनतम र अति आधारभूत विषयलाई भयावह बनाएर प्रस्तुत गर्ने तरिका खुब चलेको छ । त्यस्ता लेखाइमा कुनै नीति, नियम वा आचारसंहिताको अर्थ रहँदैन । प्रस्तोता वा लेखक नै सर्वेसर्वा कहलिन्छ, तिनै प्रस्तुतिहरुलाई विश्वास गर्ने र त्यसैका आधारमा धारणा निर्माण गरेर क्षणिक समर्थन लिने दिने शैलीमा सामाजिक सञ्जालका अधिकांश प्रयोगकर्ता अभ्यस्त बनिसकेका छन् । यो एउटा लत नै भएको छ अथवा भनौं, प्रयोगकर्ताहरु ‘पपुलारिज्म’को भोकले हैरान छन् ।
लोकप्रियतावादीहरुले नागरिकका संवेदना र भावनासँग खेल्न यही तेस्रो तरिका अपनाइरहेका छन् । उनीहरु तथ्य र तर्कलाई दबाउन, झूट सावित गर्न संवेदना, आवेगका भावनाको पोखरीमा चुर्लुम्म डुबाइदिन्छन् । त्यही पोखरी थियो रवि लामिछानेको ‘ब्ल्यू बस’ । त्यो नीलो पोखरीमा लाखौं नेपालीहरु डुबे, अझै डुबिरहेका छन् ।
धरानमा भड्काउन खोजिएको जातीय र धार्मिक द्वन्द्व पपुलिस्टहरुको तेस्रो सिद्धान्तमै आधारित थियो । उनीहरु मेरो देश, मेरो धर्म, मेरो जात, मेरो समुदाय भनेर नागरिकलाई उकासेर कामकाजी व्यवस्थाविरुद्ध जनमत तयार गर्छन् । धरानको प्रयास पनि यही थियो ।
‘प्रोक्सी इनेमी’ आफैं खडा गर्ने, त्रसित बनाउने अनि आफैंले खडा गरेको प्रोक्सी दुश्मनका विरुद्ध आफूबाहेक अरु लड्न सक्दैनन्, देश बनाउने र बचाउने त ममात्रै हो है भन्ने भाष्य खडा गर्छन् र आफैंलाई हिरो बनाउँछन् । रवि र बालेनको शैली अहिले यही सिद्धान्तमा आधारित छ । उनीहरु लोकप्रियतावादका उत्पादन नेपाली राजनीतिमा नयाँ ‘भेरियन्ट’ हुन् ।
पत्रकारितामा लोकप्रियतावाद
राजनीतिक फाइदाका लागि खडा गरिएका प्रोक्सी मुद्दाहरुको प्रचार सबैभन्दा पहिले लोकप्रियतावादीहरुले मिडियामा पु¥याउँछन् । पूर्वमा त्यसको चर्चा सुनेर पश्चिमका मानिसहरु त्यसको पछि लाग्छन् । यसरी नियोजित रुपमा ल्याइने यस्ता प्रोक्सी मुद्दाहरु ठाउँ र परिवेश विशेष र अनुकूल खडा गरिएका हुन्छन् । त्यस्ता प्रोक्सी मुद्दाहरुले मिडियामा ठाउँ पाउँछन् र चर्चा हुन्छ । यही चर्चाको पछि एउटा वर्ग कुदिहाल्छ । मूलधारको पत्रकारिता र मिडियामा यो फण्डा टिकिरहँदैन वा सेन्सर हुन्छ । तिनको वास्तविकता नबुझेसम्म मूलधारमा त्यस्ताको प्रचार भइरहन्छ । बुझ्न थालेपछि मूलधारले आलोचना गर्न थाल्छ ।
जब आफ्ना प्रोक्सी मुद्दाको आलोचना मूलधारमा हुन्छ, लोकप्रियतावादीहरु त्यसको प्रतिरक्षाका लागि वैकल्पिक माध्यम निर्माण गर्नमात्रै थाल्दैनन्, मूलधारको पत्रकारिताविरुद्ध आगो ओकल्न पछि पर्दैनन् । सर्वोच्चको आदेशले सत्ताच्युत हुँदा रवि लामिछानेको हल्ला र गालीलाई उदाहरणका रुपमा लिन सकिन्छ । अहिले सित्तैमा जति पनि प्रयोग हुने वैकल्पिक माध्यमका रुपमा युट्युब, फेसबुक, ट्विटर, टिकटक लोकप्रियतावादीका प्रचारका साधानका रुपमा प्रयोग भइरहेका छन् र मध्यम वर्गीय नेपाली समुदाय त्यसैका पछि कुदिरहेका छन् । त्यहाँका भाइरल म्यानहरुका बारेमा नेपालमा प्रत्येक घरघरसम्म चर्चा हुन्छ । त्यसो हुनुमा उनीहरुको योगदान, काम र विशेषताले होइन कि प्रोक्सी मुद्दा, लाइक, कमेन्ट र शेयरका आधारमा ।
मान्छेलाई प्रोक्सी मुद्दाबाट दिग्भ्रमित बनाएर पछि लगाउने शैली नै लोकप्रियतावाद (पपुलारिज्म वा पपुलिस्ट वा हिरोइज्म) हो । ग्रीक दार्शनिक एरिस्टोटलले मान्छेलाई तीन तरिकाले पछि लगाउन सकिने तर्क गरेका छन् । पहिलो, तथ्यमा टेकेर विश्वसनीयता र नैतिकतालाई पत्याउने । दोस्रो, तर्कमार्फत आफ्ना कुरामा सहमत गराउने र तेस्रो, अरुको संवेदना र भावनामा खेलेर भड्काउने ।
आजभोलि समाजमा चर्को स्वरमा कराउनु, अरुलाई चर्को स्वरमा गाली गर्नु, हुँदै नभएका विषय पस्कनु वा तोडमोड गरेर, अनर्थ लगाएर पेश गर्नु र त्यस्ता कन्टेन्टहरु युट्युब, फेसबुक, ट्विटर, टिकटकहरुमा हिट हुनु, ‘फिक्सनल स्टोरी टेलर’हरुको बिकाउ र फलो लोकप्रियतावादकै पककभाव हो । एकजना हल्लाबाजका लाखौं फलोअर्स हुने अनि मूलधारको मुद्दा बोकेको दशकौं पुरानो मिडियाप्रतिको अविश्वासलाई उदाहरणका रुपमा लिन सकिन्छ ।
सोसल मिडियाको फैलँदो प्रभाव र तथ्य तथा प्रमाणविनाकै हल्लाहरुले आधिकारिताको अनुमोदन पाउने माध्यम भएको, मेहनतपूर्वक लेखिएका कन्टेन्टहरुले मूलधारका मिडियामा प्रकाशन भए पनि पाठक नभएको निराशाले मूलधारलाई पनि पिरोलेको देखिन्छ । मेरा दुई जना साथीको मनस्थितिले मलाई नराम्ररी झस्काएको छ । एकजना साथी चलेको राष्ट्रिय दैनिकमा काठमाडौं बेस रिर्पोटर थिए । दैनिक बाइलाइनमा लेख्थे । उनले त्यो मिडिया चटक्कै छाडेर अहिले युट्युब च्यानल र एक अनलाइन चलाएका छन् । उनी अहिले युट्युबरका रुपमा चिनिन थाले ।
अर्का एक साथी जिल्लामै पत्रकारितामा हुँदाहुँदै बेलाबेला पुण्य गौतम शैली नगरी नटिकिने भयो, कसो गरौं भन्न थालेका छन् । यी उदाहरणले पनि के पुष्टि गर्छ भने अब लोकप्रियतावादले राजनीतिमाथि मात्रै होइन मूलधारको आलोचनात्मक चेतसहितको लेखन र पत्रकारितालाई नराम्ररी गाँज्न थालेको हो भन्ने देखाउँछ । यसको पछाडि मूलधारका मिडिया मालिकको श्रम शोषण पनि लोकप्रियतावाद फैलाउने मुख्य कारणमध्ये एक बनेको छ ।
प्रभाव र असर
लोकप्रियतावादले मूलधारको मिडिया र पत्रकारितालाई अविश्वासमात्रै गर्दैन, त्यसलाई निषेध गर्न विचार र दिशाहीन भीडलाई उक्साइरहन्छ । वाक स्वतन्त्रताको अत्यधिक दुरुपयोग पपुलारिज्मको अर्को विशेषता हो । नेपालको सन्दर्भमा अहिलेको लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना गर्न मूलधारका मिडियाहरुको ठूलो हिस्सा छ । उनीहरुको त्याग र बलिदानबाट आएको यो व्यवस्थामा यही व्यवस्थाले ल्याएको स्वतन्त्रताको उपयोग गरेर लोकप्रियतावादीहरु प्रहार गरिरहेका छन् । उनीहरुले मूलधारका आलोचनात्मक चेतबाहक मिडिया र समुदायमा विभाजन र प्रहार एकसाथ गर्दै आएका छन् । अन्ततः यसले नेपाली राजनीतिलाई नै दिशाहीन बनाउने बाटोमा पुर्याउँछ । यसका प्रमुख असरलाई यसरी उल्लेख गर्न सकिन्छ ।
१. मूलधारका मिडियामाथि चरम अविश्वास
लोकप्रियतावादीहरुले मूलधारका मिडियामा विश्वास गर्दैनन् । उनीहरु मिडियालाई प्रचारको साधनका रुपमा उपयोग गर्न खोज्छन् । आलोचना सुन्न सक्दैनन् । मूलधारबाट यो सम्भव नहुने भएपछि उनीहरु आफू पनि विश्वास गर्दैनन्, अरुलाई पनि ती मिडिया र पत्रकारितामाथि अनेक दुष्प्रचार गरेर नागरिकलाई हाम्रो हितमा छैनन् है भन्ने भ्रममा राख्न खोज्छन् ।
लोकप्रियतावादीहरु प्रत्यक्ष सञ्चारमा रुचि राख्छन् । उनीहरु तथ्य जाँच र वास्तविकताभन्दा तत्काल देखिएका ससाना विषयलाई प्रपोगाण्डाका रुपमा प्रचार गर्न रमाउँछन् । देश विकास र परिर्वतनका दीर्घकालीन विचार मुद्दा उनीहरुका रुचि होइनन् ।
मूलधारमा आएका तथ्यसहित, आलोचनायुक्त समाचारको उनीहरु निन्दा गर्छन् । ती समाचार सत्य नभएको भनेर लेबल गर्छन् र त्यसको प्रचार सोसल मिडियाबाट गर्छन् । अहिले बालेन वा रविको मूलधारमाथिको रवैया र टिप्पणी, उनीहरुको फेकबुक, ट्विटर र युट्युबप्रतिको मोह लोकप्रियतावादको मूल प्रभाव हो । अझ रविको नागरिकता र पीआरका विषयमा नेपाली मिडियामा आएका समाचारको विरुद्धमा दिएको १२ भाइको अभिव्यक्ति र उनको आक्रोशको सोसल मिडियामा भएको बिकाउले प्रस्ट गर्छ ।
२. प्रत्यक्ष सञ्चार
लोकप्रियतावादीहरु प्रत्यक्ष सञ्चारमा रुचि राख्छन् । उनीहरु तथ्य जाँच र वास्तविकताभन्दा तत्काल देखिएका ससाना विषयलाई प्रपोगाण्डाका रुपमा प्रचार गर्न रमाउँछन् । देश विकास र परिर्वतनका दीर्घकालीन विचार मुद्दा उनीहरुका रुचि होइनन् ।
तात्कालिक केही मुद्दाहरु उचालेर लोकप्रियता हासिल गर्ने र प्रत्यक्ष जनतामा जोडिएको नाटक गर्न उनीहरुलाई प्रत्यक्ष सञ्चार आवश्यक पर्छ । मूलधारका मिडिया उनीहरुका लागि सहज हुँदैन । उनीहरुलाई तथ्य पनि चाहिन्छ । अतः उनीहरु सोसल मिडिया वा केही बिकाउ अनलाइनहरुलाई उपयोग गरेर आफ्नो प्रभाव विस्तार गर्न चाहन्छन् । तथ्यहीन र दिग्भ्रमित कन्टेन्ट वितरण गर्नु उनीहरुको मक्सद हुने गर्छ ।
त्यसैले उनीहरु घुमाउरो शैलीको मूलधारलाई नमानेर सीधासीधी माध्यम रोज्छन् । अहिले सामाजिक सञ्जालहरु र स-साना अनलाइनहरु त्यसका लागि उपयोगी माध्यम बनिरहेका छन् ।
३. वस्तुनिष्ठ सञ्चारको क्षय
उनीहरु वस्तुनिष्ठ सञ्चार रुचाउँदैनन् । प्रचारबाजी, जयजयकार र हल्ला उनीहरुका लागि रुचिकर हुन्छन् । मूलधारमा हरेक वस्तुको तथ्य खोजिन्छ । हल्ला कम तर्क र तथ्य बढी हुने भएकाले उनीहरुले सोसल मिडिया र आफ्नो नियन्त्रणका सञ्चारमाध्यमहरुको उपयोग गरेर तथ्यहीन हल्ला समुदायमा प्रवाहित गरिरहेका हुन्छन् । जसले समाजलाई तथ्यभन्दा हल्लाको पछि कुदाउँछ । चर्चा र लाइक, भ्यूज, शेयर, कमेन्टका लागि पत्रकारहरु दौडिन थाल्छन् । यसले तथ्य, वस्तुनिष्ठता र वास्तविकतालाई ओझेलमा पार्छन् । क्रमशः पत्रकारितालाई हल्लाका पछि कुदिरहेको हुन्छ । यस कारण मूलधारको पत्रकारितामा लोकप्रियतावादको प्रभावले वस्तुनिष्ठ सञ्चारलाई क्षयीकरण गरिरहेको छ । वस्तुनिष्ठमा आएको क्षयीकरणले पाठक तथा स्रोताहरु मूलधारबाट क्रमशः सोसल मिडियातर्फ नै ढल्किसकेका छन् ।
४. सामाजिक विभाजन
लोकप्रियतावादको प्रभाव समाजमा यतिसम्म परेको छ कि गाली गरेर थर्काउने, कसैलाई र्याखर्याख्ती पार्ने र अफवाहयुक्त कन्टेन्ट प्रस्तुत गर्ने प्रस्तोता, युट्युबरहरु समाजले रुचाउन थालेको छ । तथ्ययुक्त समाचार लेख्ने पत्रकारलाई तिमीहरुले के गर्यौं ? फलानाले त्यसलाई एक न दुई बनायो, यसरी भन्यो आदि प्रश्नहरु हामी दैनिक सुनिरहेका छौं ।
रविविरुद्धको मुद्दामा भएको फैसला र बालेन शाहको फेसबुक स्टाटसमाथि सोसल मिडिया र गाउँ-टोलसम्मै पक्ष-विपक्षमा सिर्जना गरेको बहस, तिनका पक्षधर अन्धभक्तहरुकोे अराजकता हेर्दा लोकप्रियतावादले समाजलाई विभाजनमात्रै गरेको छैन, अराजकतावादको विजारोपण पनि गरिसकेको प्रमाणित गर्छ ।
एउटा गाउँमा घरेलु हिंसा पीडित महिलालाई भेट्न पुगेका एकजना पत्रकार साथीसहित म आफैंलाई ती पीडित महिलाले युट्युबर खोजिदिनु न मेरो कुरा राख्नुपर्यो भनेको कुराले समाजमा युट्युबर, फेसबुक, टिकटक लाइभ गरेर भाइरल भएकाहरुको खोजी हुन थालेको कुरालाई प्रमाणित गर्छ । बौद्धिक जमात यसको विपक्षमा भए पनि सानो संख्यामा रहेकाले बेला बेला उनीहरुलाई पनि सही त त्यही पो हो कि भन्ने भ्रम पर्न थालेको छ ।
लोकप्रियतावादले सञ्चारको शैली र माध्यमहरुको उपयोग गरेर समाजलाई विभाजनको दिशामा पुर्याएको छ । एउटा विषय मूलधारका मिडियामा फरक तरिकाले आउँछ । त्यसमा विश्वास गर्नेहरु अध्ययन गरेर धारणा बनाउँछन् । त्यो संख्या सानो छ । सामाजिक सञ्जालहरुमा अतिरञ्जित रुपमा तथ्य बंग्याएर, कराएर-चिच्याएर प्रस्तुत हुन्छ र त्यो लाखौंमा लोकप्रिय हुन्छ । लाखौं मान्छे तथ्यभन्दा हल्लाको विश्वास गरेर त्यसैको वकालतमा कुदेका हुन्छन् । यसले समाजलाई पक्ष र विपक्षमा विभाजन गरिरहेको छ । सानो उदाहरणका रुपमा रविविरुद्धको मुद्दामा भएको फैसला र बालेन शाहको फेसबुक स्टाटसमाथि सोसल मिडिया र गाउँ-टोलसम्मै पक्ष-विपक्षमा सिर्जना गरेको बहस, तिनका पक्षधर अन्धभक्तहरुकोे अराजकता हेर्दा लोकप्रियतावादले समाजलाई विभाजनमात्रै गरेको छैन, अराजकतावादको विजारोपण पनि गरिसकेको प्रमाणित गर्छ ।
अबको बाटो
लोकप्रियतावादले सामाजिक र राजनीतिक रुपमा विभाजन ल्याएर अराजकताको बिजारोपण गरिसकेको बेला बेलामा देखिएका उत्तेजनायुक्त प्रदर्शनहरुले संकेत गरिरहेका छन् । अहिलेको आधुनिक समयमा हरेक विचारको प्रवाह कि सञ्चारमाध्यम कि सोसल मिडियाबाट भइरहेको छ । लोकप्रियतावादले गाँजेको सोसल मिडिया तथ्यमा भन्दा बढी हल्लामा चलिरहेको छ ।
नेपाली समाजलाई मूलधारका सञ्चारमाध्यमभन्दा बढी सोलस मिडियाले निर्देशित गर्न थालेको छ । सत्य र तथ्य आउँदै गर्छ, अहिले चाहिँ फेसबुक र ट्विटर, युट्युबरकै कुरा मानौं भनेर हाम्रो बौद्धिक जमात पनि विचलित हुन थालेको छ । यस्तो अवस्थामा विचार निर्माण र सूचना प्रवाह गर्ने मूलधारका मिडियाहरु थप जिम्मेवार र पार्टीगत दलदलबाट माथि उठ्न सक्नुपर्छ । सामाजिक सञ्जालहरुलाई अराजकताको सीमा हेरेर सम्पादन र सेन्सरसहितको सञ्चालनको व्यवस्थापन गरिनुपर्छ । मूलधारका मिडियामा असल कन्टेन्ट उत्पादनमा लगानी, मिडिया उद्योगलाई सेवा पहिले व्यापार पछि भन्ने सिद्धान्तबाट सञ्चालन, श्रमजीवीको जीवनयापनको सुनिश्चिततामा ध्यान दिइनुपर्छ ।
वर्तमान राजनीतिक व्यवस्थाविरुद्ध सबैभन्दा बढी सोसल मिडियामा उठेका आवाजहरु राज्य सञ्चालक गैरजिम्मेवार बनेर नै हो । त्यसैले मिडियाले यो व्यवस्थाले होइन, सत्ताका नेतृत्वकर्ता केही व्यक्तिका कारण अव्यवस्था आएको हो भन्ने सन्देश प्रवाह गर्नुपर्छ । पत्रकारलाई मूलधारको मिडिया छाडेर युट्युबे र फेसबुके बन्न नदिन मिडिया मालिक जिम्मेवार बन्नुपर्छ । मर्यादित पत्रकारिता, मर्यादित सामाजिक सञ्जालको उपयोगले मात्रै सुसंस्कृत समाजको निर्माण गर्न सकिने भएकाले राज्यको ध्यान पनि यसतर्फ जान जरुरी भइसकेको छ ।