२२ अर्ब ऋणको बोझ बन्दैछ पोखरा विमानस्थल – Nepal Press

२२ अर्ब ऋणको बोझ बन्दैछ पोखरा विमानस्थल

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ८ महिना पुग्यो । तर, हालसम्म नियमित अन्तर्राष्ट्रिय उडानको टुंगो छैन । विमानस्थल सञ्चालनमा आएको ८ महिनाभन्दा बढी हुँदा हालसम्म २ पटक मात्रै अन्तर्राष्ट्रिय उडान भएको छ ।

पोखरामा आन्तरिक उडानका लागि पुरानै विमानस्थल थियो । अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै आन्तरिक उडानका लागि पनि नयाँ विमानस्थलबाट उडान हुन थाल्यो । पुरानो विमानस्थल अहिले प्रयोगविहीन जस्तो छ । मुस्ताङ जाने साना जहाज, अल्ट्रालाइट पुरानो विमानस्थलबाट उडान भर्छन् । त्यसबाहेक सबै उडान नयाँ विमानस्थलबाट हुन्छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान खासै हुन सकेको छैन ।

पछिल्लो पटक भएको अन्तर्राष्ट्रिय उडान शनिवार भएको छ । भुटानको पारो विमानस्थलबाट ३ जना यात्रु लिएर पोखरा विमानस्थल आएको जहाज त्यसको केही समयपछि ४२ अमेरिकी पर्यटक बोकेर सवा ८ मा भुटानको थिम्पु फर्कियो । जुन, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान बन्न पुग्यो ।

भुटानबाट चार्टर उडान भए पनि पोखरा विमानस्थललाई तिर्नुपर्ने रकम तिरेकाले पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएको विमानस्थल प्रमुख देवचन्द्रलाल कर्णले सुनाए । नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार अन्तर्राष्ट्रिय उडान गर्दा प्रतियात्रु ३ हजार रुपैयाँ र ग्राउन्ड ह्यान्डलिङको शुल्क ड्रुक एयरले तिरेको थियो । ४२ जना यात्रुको १ लाख २६ हजार ड्रुक एयरले विमानस्थललाई तिरेको थियो । जुन विमानस्थलको अन्तर्राष्ट्रिय उडानमा पहिलो आम्दानी हो । विमानस्थलले १ वर्षका लागि अन्तर्राष्ट्रिय उडानमा लाग्ने ल्यान्डिङ, पार्किङ लगायतमा शुल्क मिनाहा गरेका कारण अतिरिक्त आम्दानी भने हुने छैन ।

आन्तरिक उडानबाट भने आम्दानी भइरहेको विमानस्थलकी सूचना अधिकारी जोशना रेग्मीले बताइन् । ‘अन्तर्राष्ट्रिय उडानको यो पहिलो आम्दानी हो । आन्तरिक उडान त नियमित भइरहन्छ । आन्तरिक उडानबाट भने नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार आम्दानी हुन्छ,’ उनले भनिन् ।

अन्तर्राष्ट्रिय उडान नहुँदा पोखरा विमानस्थललाई झन्पछि झन् ऋणको बोझ थपिँदै गएको छ । सन् २०१६ मा विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकले २२ अर्ब ऋण उपलब्ध गराउने निर्णय भएको थियो । त्यसलगत्तै निर्माण सुरु भएको विमानस्थल गत पुस १७ बाट सञ्चालनमा आएको हो ।

पहिलो ७ वर्षसम्म ऋण तिर्न नपर्ने र त्यसपछि २० वर्षमा तिरिसक्नुपर्ने सम्झौता छ । सम्झौताअनुसार पहिलो किस्ताको रुपमा २०७९ चैत मा ५ करोड ३० लाख २८ हजार ४६५।५४ युआन ९करिब ८५ करोड रुपैयाँ० बुझाएको थियो । सम्झौताअनुसार असोज १ गते दोस्रो किस्ता बुझाउनुपर्ने हुन्छ ।

कूल ऋण रकममध्ये २५ प्रतिशतमा ब्याज मिनाहा भएको छ भने ७५ प्रतिशत ऋण रकमको चाहिँ ब्याजसहित तिर्नुपर्छ । वार्षिक करिब पौने २ अर्ब रुपैयाँ साँवा–ब्याज चीनको एक्जिम बैंकलाई बुझाउनुपर्नेछ । २०९२ सालसम्म विमानस्थलले हरेक ६ महिनामा किस्ता बुझानुपर्छ । सरकारले विमानस्थल निर्माणका लागि ३ हजार ८ सय ९९ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । त्यो जमिनको मुआब्जामा मात्र करिब ४ अर्ब ५० करोड रुपैयाँ खर्च भएको छ ।

गण्डकी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले विमानस्थल निर्माणको ऋणको भार बढ्दै गएकाले अन्तर्राष्ट्रिय उडान नियमित गर्नुको विकल्प नरहेको बताए ।

उनले भने, ‘यसमा प्रदेश सरकारको चासो छ । यो एयरपोर्ट सञ्चालन होस् भन्नेछ । नेपालीको टाउको लागेको ऋणको पोको २२ बाट २८÷२९ अर्ब पुगिसकेको छ । यसलाई कसरी सञ्चालन गरेर नेपालीको ऋणको बोझ कसरी घटाउन सकिन्छ सोच्नुपर्छ ।’

पोखरा महानगरका मेयर धनराज आचार्यले नेपाल सरकारले भारत र चीनसँग कूटनीतिक पहल गरिरहेको दाबी गरे । उनले पोखरामा पर्यटकीय गतिविधि बढाउन आफूहरु गम्भीर रहेकोसमेत उनले सुनाए ।

देशकै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत पुस १७ गते गरेका थिए । विभिन्न देशहरुसँग नियमित अन्तर्राष्ट्रिय उडानका लागि छलफल नजिक पुगेको दाबी गरेपनि अन्तिम टुंगोमा पुग्न सकेको छैन ।


प्रतिक्रिया

One thought on “२२ अर्ब ऋणको बोझ बन्दैछ पोखरा विमानस्थल

  1. नभए विमानस्थल भएन भन्ने भए ऋणको बोझ भन्ने । आन्तरिकका लागि पनि पोखरामा नयाँ विमानस्थल आवश्यक थियो । बनेकोमा गर्व गरौं । सञ्चालनको लागि त मिहेनत गर्नुपर्छ । शंकर पोखरेल सरकारमा नभए पनि चीन गएर चीनबाट सोझै पोखरा र लुम्बिनीमा विमान उडाउन अनुरोध गरे । सरकारका सबैले उडान गर्न पहल गर्ने, विज्ञापन गर्ने , मिहेनत गर्नेतिर लाग्नु छैन दिल्ली र पश्चिमाको पैसा खायो चीनको विरोध गर्न ऋणको बोझ भन्यो, लेख्यो दलाली गर्यो । अहिलेको सरकार त पोखरालाई असफल बनाउन लागेको छ किनभने दिल्लीलाई खुशी पार्नु छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *