प्रचण्डलाई एमालेकाे सुझाव- नेपाल सन्तुलित असंलग्न परराष्ट्र नीतिमा कटिबद्ध रहेको विश्वास दिलाउनू
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चीन भ्रमणका क्रममा यसअघिका सम्झौता कार्यान्वयनमा जोड दिन सुझाव दिएको छ ।
सुझाव संकलन गर्न सिंहदरबारमा छलफल गरेका प्रधानमन्त्री समक्ष एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल सदैव सन्तुलित असंलग्न परराष्ट्र नीतिमा कटिबद्ध रहेको विश्वास चीनलाई दिलाउँदै यसअघिको सहमति कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।
नेपालले चीनसँगको सम्बन्ध कम प्राथमिकतामा राखेको हो कि भन्ने भ्रम चीनलाई रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको भ्रमणले त्यो तोड्नुपर्ने बताए ।
उनले भने- नेपाल सदैव सन्तुलित असंलग्न परराष्ट्र नीतिमा छ । चीन असल छिमेकी हो । चीनसँगको सम्बन्धलाई हामीले उच्च महत्त्व दिन्छौं भन्ने कुरामा फोकस गर्नका लागि आग्रह गरेको छु । नयाँ नयाँ योजनाहरूका लिस्ट प्रस्तुत गर्नुभन्दा पनि २०१६ देखि २०१९ सम्म उच्च स्तरीय भ्रमणमा भएका समझदारीको कार्यान्वयनका लागि विश्वास जगाउन आग्रह गरेको छु ।