एपीजी प्रतिवेदन – नेपाल उच्च जोखिममा – Nepal Press

एपीजी प्रतिवेदन – नेपाल उच्च जोखिममा

काठमाडौं । एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ’ (एपिजी) ले नेपालमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी ‘पारस्पारिक मूल्याङ्कन प्रतिवेदन’ (म्युचुअल इभालुएसन रिपोर्ट) सार्वजनिक गरेको छ ।

एपीजीले यो प्रतिवेदनमार्फत फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटीएफ) का ४० वटा सुधारका विषयमाथि नेपालको अवस्थाको समीक्षा गरेको छ भने सुधार गर्नुपर्ने विषयमा सुझाव पनि दिएको छ ।

नेपालमा गैरवित्तीय क्षेत्र नियमनको दायरामा आउन नसक्दा यो क्षेत्रमा सम्पत्ति शुद्धीकरणको बढी जोखिम देखिएको, आतंककारी क्रियाकलापमा भइरहेको वित्तीय लगानीलाई नेपालले ‘ट्रयाकिङ’ गर्न नसकेको, उच्च जोखिमका बाबजुद सम्पत्ति शुद्धीकरणसँग जोडिएका मामिला अनुसन्धान र जाँचबुझमा नेपाल कमजोर देखिएको, कानूनी सुधारको गुञ्जायस देखिए पनि कार्यान्वयनमा चुकेको लगायतका विषय एपिजीले औंल्याएको छ ।

नेपालले सन् २०२० मा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय जोखिम मूल्याङ्कन गरेको थियो । उक्त मूल्याङ्कनबाट नेपालका नियामक लगायत सम्बन्धित निकाय र निजी क्षेत्र सम्पत्ति शुद्धीकरणका चुनौतीबारे केही हदसम्म जानकार देखिए पनि आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानीको चुनौतीका विषयमा कम मात्रै जानकार देखिएको एपीजीले भनेको छ ।

नेपालमा भ्रष्टाचार, कर छली र मानव बेचबिखन सबैभन्दा बढी एमएलसीको जोखिममा रहेको छ । लागुऔषध ओसारपसार, सुन र नगदको तस्करी, र वातावरणीय अपराधजस्ता विषय नेपालमा विद्यमान रहेको प्रतिवेदनमा भनिएको छ । बैंकिङ, सहकारी, बहुमूल्य धातु र ढुङ्गाका व्यापारीहरू, क्यासिनो, र रेमिटेन्स प्रदायकह कम्पनीहरु बढी जोखिमको क्षेत्र रहेको एपिजिले औल्याएको छ ।

नेपालले हालसम्म कुनै पनि अन्तर्राष्ट्रिय आतंकवादको सामना नगरेपनि नेपालको असुरक्षित सिमानाका कारण यसको सम्भवना पनि रहेको औंल्याएको छ ।

नेपालमा सम्पत्ति शुद्धीकरणको उच्च जोखिम रहेपनि त्यसको अनुसन्धान, जाँचबुझ तथा मुद्दा अभियोजन निकै कम मात्र भएको एपिजी प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ, ‘नेपालमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित ५८ वटा मुद्दामा अनुसन्धान गरेकोमा ४५ मुद्दाको अभियोजन र ३२ वटा प्राकृतिक व्यक्तिलाई दोषी ठहर गरेको छ । अभियोजन भएका बहुसङ्ख्यक मुद्दाहरु बैंकिङ कसूरसँग सम्बन्धित छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर