यातायात विभागले डेढ महिनापछि पायो महानिर्देशक – Nepal Press

यातायात विभागले डेढ महिनापछि पायो महानिर्देशक

काठमाडौं । यायायात व्यवस्था विभागले डेढ महिनापछि महानिर्देशक पाएको छ । आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मन्त्रीस्तरीय निर्णयमार्फत सहसचिव उद्धव रिजाललाई महानिर्देशकको जिम्मेवारी दिएका छन् । रिजालले महानिर्देशकको पत्र बुझिसकेको र सोमबार हाजिर हुने मन्त्रालयले जनाएको छ ।

तत्कालीन महानिर्देशक नारायण भट्टराईको गृहमन्त्रालयमा सरुवा भएपछि यातायात महानिर्देशकविहीन थियो ।

केहि दिनअघि मन्त्रिपरिषद् बैठकबाट ५८ जना सहसचिवको सरुवा हुदाँ रिजालको प्रदेश नीति तथा योजना आयोग मधेश प्रदेशबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएको थियो । यसअघि रिजाल हर्क साङपाङ नगर प्रमुख रहेको धरान उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिए ।

उपसचिवबाट सहसचिव भइसकेपछि उनको पहिलो पदस्थापन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशमा भएको थियो । तत्कालिन मुख्यमन्त्री राजेन्द्र राईको पालमा उक्त कार्यालयमा रिजालले सचिवको जिम्मेवारीमा रहेर सात महिना काम गरेका थिए । त्यसपछि धरान उपमहानगरपालिकामा आठ महिना प्रमुख प्रशासकीय अधिकृत र नीति तथा योजना आयोग मधेश प्रदेशमा सचिव भएर सात महिना जिम्मेवारी सम्हालिसकेका छन् ।

उपसचिव हुदाँ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको वैदेशिक रोजगार विभागको निर्देशक एवम सूचना अधिकारीको भूमिका पनि निर्वाह गरेका थिए । त्यसपछि रिजाल भक्तपुरको मध्यपुर थिमीको प्रमुख प्रशासकीय अधिकृत हुदाँ तत्कालीन नगरप्रमुख मदनसुन्दर श्रेष्ठसँग उनको विवाद नै परेको थियो । तत्कालिन नगरप्रमुखले प्रशासनिक कार्यमा बलमिच्याई गरेपछि रिजालले अटेर गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा नगरप्रमुख श्रेष्ठले पत्राचार गरेर नै फिर्ता गराउन आग्रह गर्नुपरेको थियो ।

यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक नारायण भट्टराईको गृह मन्त्रालय अन्तर्गत सरुवा भएपछि विभागमा महानिर्देशक पद रिक्त भएको थियो । भट्टराईभन्दा अघिका महानिर्देशक तुलसीनाथ गौतम २० दिनमा नै सरुवा भएका थिए ।

उनीभन्दा अघिका महानिर्देशक डा.टोकराज पाण्डे पनि पाँच महिनाको अवधिमा नै सरुवा भएका थिए भने उनीभन्दा अघिका महानिर्देशक सुरेश राउत दुई महिनामै सरुवा भएका थिए । त्यसअघिका महानिर्देशक नमराज घिमिरे भने र गोगनबहादुर हमाल भने १५-१५ महिना टिकेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर